 
																						१५ माघ, काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दिन अहमदको हत्या भएको छ । तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् ।
पेशाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अहमद ७ पटक नेपाल आएको राहदानीमा भएको रेकर्डले देखाउँछ । क्यासिनो खेलेर रमाइलो गर्ने सौखकै कारण नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अहमद र दुला मियाले सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेका थिए । हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिँदा रातको साढे ९ बजिसकेकाले ट्याक्सी लिएर उनीहरु सिधै होटलतिर लागे ।
भोलिपल्ट दिउँसो २ः४५ तिर दुवैसँगै खाना खान ओर्लिए । होटलको क्लोज सर्किट (सीसी) क्यामरामा अपरान्ह ३ः४० बजे दुई जना बरण्डामा बसेर घाम ताप्दै गफिएको देखिन्छ ।
तर तेस्रो दिन अपरान्हसम्म पनि कोठाबाट कोही ननिस्किएपछि होटल कर्मचारीले हेर्न पुगे ।
त्यसक्रममा अहमदको मृत शरीर रगताम्ये अवस्थामा भेटियो । ‘प्रायः होटलमा पनि नखाने र दिउँसो बाहिर पनि ननिस्किने भएकाले पहिले वास्ता गरेनौं’, होटलका कर्मचारीले भनेका छन्, ‘त्यसैले भोलिपल्ट मात्र घटनाबारे थाहा भयो ।’
महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवर भन्छन्, ‘हामीलाई घटना भएको एक दिनपछि सवा ४ मात्र खबर आयो । त्यसैले अनुसन्धान थाल्न ढिलाइ भयो ।’
प्रहरीले थाहा पाउनु अगावै मिया सीमापारि !
अनुसन्धानमा संलग्न अधिकृतकाअनुसार होटलमा अहमदकै नामबाट कोठा बुक गरिएको थियो । त्यसैले प्रहरीलाई होटलमा रहेका अर्का व्यक्तिको परिचय पत्ता लगाउन सुरुमा गाह्रो भएको थियो । अध्यागमन विभागबाट प्रहरीले मियाबारे जानकारी संकलन त गर्यो तर निकै ढिला भइसकेको थियो ।
होटलको सीसी क्यामरामा ७ माघको दिन साँझ सवा ५ बजे मिया बाहिर निस्किएको देखिएको थियो ।

परिचय खुलेपछि सबै प्रहरी कार्यालयलाई खबर गरेर खोजी गर्ने क्रममा मियाले ८ गते ३ बजे रक्सौल नाका पार गरेको देखियो । ‘समयमा सूचना प्राप्त गर्न नसक्दा उनी भागे’, प्रहरी नायब उपरीक्षक (डीएसपी) कुँवरले अनलाइनखबरसँग भने ।
होटलको कोठाबाट निस्किँदा उनी टाइ, कोट, पेन्ट लगाएर ठाँटिएर हिँडेको देखिन्छ । ‘घटनास्थल हेर्दा विस्कीको बोतलले पहिले टाउकोमा हानेको जस्तो देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसपछि घाँटीमा त्यसैले हानिएको छ ।’
हत्यापछि उनलाई खाटमा सुताएर सिरक ओढाएको अवस्थामा शव भेटिएको अधिकृतहरु बताउँछन् । मियाले भने आफूमा लागेको रगतलाई पखालेर निस्किएको पाइएको छ । ‘होटलको पछाडि पट्टी भ¥याङ रहेछ, त्यहाँबाट उनी हिँडेर गएछन्’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘होटलवालाले पत्तै पाएन ।’
उनले आफ्नो साथमा भएको सबै सामान लगेका छन् भने आफ्नो परिचय खुल्ने कुनै जानकारी बाँकी राखेका छैनन् । उनीहरु बसेको होटलको कोठामा दोस्रो दिन सवा १२ बजे नयाँ मान्छे आएको देखिने अनुसन्धान अधिकृत बताउँछन् ।
दिउँसो डेढ बजे अहमद उनलाई छाड्न बाहिर आएका छन् । यद्यपि उनी को हुन् भन्ने खुलिसकेको छैन ।
बंगलादेशी दूतावासको चासो
घटनापछि नेपालस्थित बंगलादेशी दूतावासले पनि प्रकरणमा चासो दिएको छ । दूतावासका अधिकारीले गम्भीरतापूर्वक अनुसन्धान गरेर आरोपी पत्ता लगाइदिन नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
बंगादेशमा हत्यामा संलग्नलाई फाँसीको सजाय छ । त्यसैले मिया भारतमै लुकेर बस्न सक्ने आशंका गरिएको छ ।
अहमद र मिया यसअघि मल्ल होटल, होटल र्याडिसन, होटल सोल्टी लगायतको क्यासिनोमा नियमित आवतजावत गरिरहेको पनि भेटिएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4