+
+
Shares

जलविद्युतमा लगानी : साँवा जोगाउनै मुस्किल

विज्ञ भन्छन्- खराब कम्पनीका कारण बदनाम भयो

रोयल आचार्य रोयल आचार्य
२०७६ माघ २० गते ११:३३

२० माघ, काठमाडौं । जलविद्युत् कम्पनीको सेयर खरिद गर्न कुनै बेला दिनभर लाइन लाग्नुपर्थ्यो । कति कित्ता पर्ने अत्तोपत्तो थिएन, तर पनि सेयर किन्न चाहने सर्वसाधारणहरुको बैंकमा घुइँचो नै लाग्थ्यो । नलागोस् पनि कसरी त्यसबेला जलविद्युत् कम्पनीमा निकै आकर्षण थियो । एक जलविद्युत् कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो ।

अहिले सेयर भर्न लाइन लाग्ने युगको अन्त्य भइसकेको छ । त्योसँगै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर धेरै हुन्छ भन्ने अहिले एकादेशको कथा जस्तै भएको छ । जलविद्युत् कम्पनीहरुको किनेको सेयर मूल्य बढेर धेरै नाफा कमाउनु त परै जाओस् साँवा जोगाउन पनि मुस्किल छ । पछिल्ला केही समय यता सेयर बजार सुधार हुने क्रममा छ, तर जलविद्यत् कम्पनीहरुको सेयर मूल्य हेर्ने हो भने पुरै बजारप्रति नै निराश हुने स्थिति बनाउँछ ।

प्रतिकित्ता १ सय रुपैयाँमा गोलाप्रथाबाट पाएको परेको कतिपय जलविद्युत् कम्पनीको सेयर अहिले ५० प्रतिशतसम्म तल झरेको छ । नाफा कमाउने आश होइन साँवामात्रै जोगिए पनि हुने थियो भनेर लगानीकर्ताहरुले अपेक्षा गर्नुपर्ने अवस्था छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका दुई दर्जन जलविद्युत् कम्पनीहरुमध्ये डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य आईपीओको भन्दा कम अर्थात एक सयभन्दा तल झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो साताको अन्तिम कारोबार हेर्ने हो भने कुनै बेला २८ सय प्रतिकित्ता सेयर मूल्य पुगेको चिलिमे हाइड्रोपावर अहिले पनि धेरै मूल्य भएको कम्पनीमा पर्छ, तर यसको मूल्य घटेर प्रतिकित्ता ४२३ रुपैयाँमा आइपुगेको छ ।

अर्को राम्रै कम्पनी मानिएको बुटवल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रहेको छ । अपर तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ छ भने सानिमा माई हाइड्रो पावरको प्रतिकित्ता २०० रुपैयाँ छ । यीनै सबैभन्दा धेरै राम्रो सेयर मूल्य भएका जलविद्युत् कम्पनीहरु । अन्यको हालत त दर्दनाक छ ।

निजी क्षेत्रले बनाएका साना जलविद्युत आयोजनाहरु भूकम्प पछाडि समस्यामा छन् । खोलामा पानीको सतह घटेको र आयोजना रुग्ण अवस्थामा पुगेको भन्दै उनीहरुले आफूहरु वित्तिय जोखिममा परेको बताउने गरेका छन् । ऊर्जा मन्त्रालय भने निर्माणको क्रममा हाइड्रो इन्जिनियरिङको पक्षमा बेवास्ता गर्दा यस्तो अवस्था आएको बताउँछ ।

क्र.सं. एक सयभन्दा कम मूल्य भएकाहरु कम्पनी दुई सयभन्दा कम मूल्य भएका कम्पनीहरु
१. दिव्येश्वरी हाइड्रोपावर कम्पनी- रु. ५१ युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड- रु. १०४
२. नेशनल हाइड्रोपावर कम्पनी- रु. ५३ सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड- रु. १०६
३. आाखुखोला जलविद्युत्- रु. ५५ हिमालयन ऊर्जा विकास कम्पनी- रु. १०६
४. खानीखोला हाइड्रोपावर- रु. ५६ ङादी ग्रुप पावर लिमिटेड- रु. ११८
५. युनियन हाइड्रोपावर- रु. ५८ अपी पावर कम्पनी- रु. ११९
६. जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी- रु. ६३ नेपाल हाइड्रो डेभलपर्स लिमिटेड- रु. १२३
७. युनिभर्सल पावर कम्पनी- रु. ७३ पााचथर पावर कम्पनी- रु. १२३
८. रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी- रु. ७९ अरुण काबेली पावर कम्पनी- रु. १२५
९. पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड- रु. ८६ हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट- रु. १३७
१०. छ्याङ्गदी हाइड्रोपावर- रु. ८८ राधी विद्युत् कम्पनी- रु. १४६
११. कालिका पावर कम्पनी- रु. ८८ हिमालयन पावर पार्टनर लिमिटेड- रु. १५०
१२. बरुण हाइड्रोपावर- रु. ९४ रसुवागढी हाइड्रोपावर- रु. १६४
१३. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट- रु. ९६ साञ्जेन जलविद्युत्- रु. १५७

के भन्छन् जलविद्युत क्षेत्रका जानकार ?

सेयर बजारसम्बन्धी जानकारहरु जलविद्युत् क्षेत्र लगानीका लागि राम्रो भए पनि केही खराब कम्पनीका कारण बदनाम भएको बताउँछन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेल शुरुमा थोरै लागत लाग्ने देखाउने र पछि लागत खर्च धेरै बढ्दा जलविद्युत् क्षेत्रको सेयर मूल्यको यो हालत पुगेको बताउँछन् । तर ढिलै भए पनि सुधार हुने उनको अपेक्षा छ ।

पूर्बबैंकर अनलराज भट्टराई ब्याजदर बढेका कारण पनि जलविद्युत् क्षेत्रमा असर परेको बताउँछन् । विद्युत्को बिक्री मूल्य निश्चित हुने, तर ब्याजदर भने बढिरहने भएका कारण मुनाफा कम हुने भएकाले त्यसको असर सेयर बजारमा देखिएको उनले बताए ।

बैंकको ब्याजदरले प्रभाव पारेको छ : अनलराज भट्टराई, पूर्बबैंकर

हाइड्रोपावर भनेको लामो अवधिका लागि गरिने लगानीको क्षेत्र हो । हाइड्रोपावरमा रिटर्न आउन समय लाग्छ । आयोजना बनाउने समय, निर्माण सम्पन्न भएपछि सञ्चालनको लागि पनि समय लाग्छ । यसकारण तत्कालै प्रतिफल आउने क्षेत्र यो होइन ।

यो कुरा नबुझेर हतारिएका कारण पनि त्यसको नकारात्मक असर परेको छ । प्रतिफल आउन ढिला भयो, अर्को क्षेत्रमा लगानी गर्छु भनेर १ सय रुपैयाँको शेयर ७० रुपैयाँमै बिक्री गरिएको पनि हुनसक्छ । होल्ड गर्न नसकेका कारण यस्तो भएको हो ।

अर्को मुख्य कुरा विद्युतको बिक्री मूल्य फिक्स्ड हुन्छ । नेपाल विद्युत् प्राधिकरण पावर पर्चेज सम्झौता गर्दा नै फिक्स रेट तोकेको हुन्छ । आयोजनामा ऋण ल्याएर लगानी गरिएको हुन्छ ।

ऋणको ब्याजदर त बढ्छ । ब्याज बढ्दाखेरि मुनाफा घट्ने भयो । सञ्चालन खर्च घटाएर केही नाफा बढाउन सक्लान् । नत्र ब्याजदर बढ्यो भनेर बिक्री मूल्य त बढ्दैन ।

सेलिङ प्राइस कन्स्ट्यान्ट हुने र ब्याजदर बढ्ने भएकाले आयोजनाले राम्रो प्रतिफल दिन सकेनन् । यसबाट रेस्क्यू गर्नका लागि यो क्षेत्रमा जाने कर्जाको ब्याजदरमा सहुलियत दिनुपर्छ ।

अहिले हामीले २० अर्बको विजुली आयात गरिररहेका छौं । ६ महिनाको तथ्यांक हेर्ने हो भने सय अर्बको त हामी खाना पकाउने ग्यास तथा इन्धन १ सय अर्ब बराबरको आयात गरेका छौं ।

हामीले यहाँ विद्युत् उत्पादन राम्रो गर्न सक्ने हो भने यो आयात गर्ने ठूलो रकम हामीले जोगाउन सक्छौं । यसले हाम्रो विदेशी मुद्राको संचिति बढाउँछ । यसकारण यो क्षेत्रमा जाने कर्जामा सहुलियत दिनु पर्छ ।

अहिले भइरहेकै अवस्था रहने हो भने जलविद्युत्मा गरेको लगानी बालुवामा पानी झैं हुने सम्भावना छ जुन हुन दिनु भएन । यो क्षेत्र भनेको निरुत्साहित हुन दिन नहुने क्षेत्र हो । २००७ देखि हाम्रो देशमा जलविद्युत्मा लगानी हुन शुरु भएको हो । त्यसबेला ब्याजदर ६ प्रतिशत थियो ।

अहिले दोब्बरभन्दा पनि बढेर १३/१४ प्रतिशत पुगेको छ । ब्याज बढ्ने, बिक्री हुने वस्तुको मूल्य नबढ्ने । यो हाम्रो मुलुकका लागि महत्वपूर्ण क्षेत्र हो । हामीले २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्यौं भने देश नै ट्याक्स फ्री मुलुक बन्न सक्छ । अरु देशले जमिनबाट तेल निकालेजस्तो हामी बगेको पानीबाट विद्युत् निकाल्न सक्छौं । यसकारण पनि हामीले यो क्षेत्रलाई ध्यान दिएर मुलुक समृद्ध बनाउनु पर्छ ।

खराब कम्पनीका कारण वितृष्णा पैदा भयो : अम्बिका पौडेल, पूर्व अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

जलविद्युत्को सेयरमा गरिएको लगानी बालुवामा पानी होइन । केही खराब कम्पनीका कारण यो क्षेत्र नै नराम्रो जस्तो देखियो । सबै नराम्रा कम्पनी छैनन्, केही नराम्रा कम्पनीहरु आए जसका कारण समग्र जलविद्यत् क्षेत्रमा नै वितृष्णा पैदा भएको छ ।

हिँजो चिमिले हाइड्रोपावरको सेयर प्रतिकित्ता २ हजार ८ सयसम्म पुगेको थियो । हिजो २८ सय रुपैयाँमा सेयर किनबेच भएको थियो चिलिमेले पि्रमियममा सेयर निश्कासन गरेको थियो । आजका मितिमा केही जलविद्युत् आयोजनाहरु धेरै राम्रा छन् ।

लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन सक्ने कम्पनीहरु पनि छन् । एकदमै धेरै लागतका आयोजनाहरुको सेयर मूल्य ठीकै छन् । माथिल्लो तामाकोशी आयोजनाकै उदाहरण हेर्न सकिन्छ । अहिले पनि सय रुपैयाँ तल झरेको छैन । १५/१६ करोडका आयोजनाहरुको हालत खराब छ । मुख्य वितृष्णा आउनुको कारण केही खराब कम्पनीहरु हुन् ।

जसले शुरुमा आयोजनाको लागत थोरै भनेपछि धेरै भयो । शुरुमा थोरै भनिएको लागत खर्चपछि धेरै बढ्दै जाँदा खर्च रिकभर हुन सकेन । जसका कारण ती कम्पनीहरु खराब देखिए, तिनै कम्पनीहरुका कारण जलविद्युत् सेक्टरमा नै वितृष्णा देखिएको हो ।

हाइड्रोपावर क्षेत्रलाई नराम्रो भन्न मिल्दैन । लगानीका लागि यो राम्रै क्षेत्र हो । भोलिका दिनमा नेपालमा अवश्यक पनि सुधार हुन्छ । अहिले जुन अवस्था यो लामो समयका लागि होइन । लगानीकर्ताको सोच यो क्षेत्रमा सकारात्मक हुँदै जानेछ ।

यो सत्य कुरा हो, भोलिका दिनमा राम्रा कम्पनीहरु सेयर मूल्य राम्रो हुन्छ । समग्र क्षेत्र नै खराब होइन, यसकारण पछि राम्रा कम्पनीहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ । साधारण उदाहरणको रुपमा हामीले बीमालाई हेर्न सक्छौं । हिँजो अधिकांशको सेयर मूल्य दुई/अढाई सय थियो, अहिले अधिकांशको ५ सय माथि छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?