Comments Add Comment

नेकपा बैठकको समीक्षा : ओली र प्रचण्ड दुवैको जित

२० माघ, नेकपा । पक्ष-विपक्ष सबैलाई ‘वीन-वीन’को अनुभूति गराउँदै सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पाँच दिन लामो बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रि सबै विषयमा केन्द्रीय सदस्यहरु पक्ष विपक्षमा उभिए, तर निर्णय गर्दा सबैको चित्त बुझाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सफल भए ।

नेकपा बैठकमा सबैभन्दा बहस भएको विषय अमेरिकाको एमसीसी र इण्डो प्यासिफिक रणनीति थिए । एमसीसी जस्ताको तस्तै पारित नगरियोस् भन्ने पक्षलाई सन्तुष्ट बनाउन ३ सदस्यीय सुझाव संकलन कार्यदल गठन गर्ने मध्यमार्गी समाधान अध्यक्षद्वयले निकाले ।

इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले पारेको भन्दै ओली पक्षले आपत्ति जनाएको थियो । उनीहरुलाई पनि सम्बोधन गर्दै प्रचण्डले सो शब्द हटाउने र अबदेखि कूटनीतिक भाषाको प्रयोग गर्ने बताए ।

सरकारविरुद्ध केन्द्रीय कमिटी बैठकमा निकै ठूलो मत प्रकट हुने र प्रधानमन्त्री अप्ठेरोमा पर्ने अनुमान थियो । तर, सरकारका सन्दर्भमा पनि मध्यमार्गी निर्णय आयो । तीनै तहका सरकारका कामलाई थप प्रभावकारी बनाउने र सरकार पार्टीको निर्देशनमा चल्नुपर्ने कुरालाई स्वयं प्रधानमन्त्रीले बैठकमा स्वीकारेपछि सो विषय पनि थप विवादमा परेन ।

सरकारका प्रवक्ता समेत रहेका नेकपा नेता गोकुल बास्कोटाले बैठक अपेक्षितरुपमै सम्पन्न भएको र यसले धेरै अन्यौल र भ्रमहरु समाप्त पारेको बताए । उनले सार्वजनिकरुपमा उठेका बहसहरुलाई नेकपा बैठकले निरुपण गरेको बताए ।

बास्कोटाले भने, पार्टी जीवन थप गतिशील र व्यवस्थित गर्ने, एकता प्रक्रिया टुंग्याउयन, सरकारले गरेका कामको अपनत्व लिदै अझै प्रभावकारी बनाउन तीन तहका सरकारलाई सघाउने निर्णय बैठकले गरेको छ । देश र जनताको पक्षमा अझ प्रभावकारी काम गर्न तीनै तहका सरकारलाई पार्टीले दिशा निर्देश गरेको छ ।

टर्‍यो गणितीय समूहबन्दीको डर

पक्ष र विपक्षमा मतदान नभए पनि समूहबन्दी प्रकट भएर संख्याका आधारमा निर्णय प्रभावित हुने अनुमानलाई पनि दुवै अध्यक्षले चलाखीपूर्वक पन्छाएको नेकपाका नेताहरु बताउँछन् ।

समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले जे-जे कुरा राखे पनि टोली नेताले सबैका भनाइ समेटेर बैठकमा पेश गरेकाले पक्ष-विपक्ष भएन ।

बैठक समापन गर्दै ओलीले कतिपय मिडियाले नेकपा केन्द्रीय सदस्यहरुलाई समूहबन्दी गरेर विभाजित देखाउन खोजे पनि पार्टीमा त्यस्तो अवस्था नरहेको बताउनुले पनि यसलाई संकेत गर्छ ।

विधानमै नेकपामा यसपटकको महाधिवेशन समेत सहमतिका आधारमा गर्ने भनिएकाले कुनै कमिटीमा मतदान नहुने हुँदा मुद्दाका आधारमा समूहबन्दी जिवित भए पनि मतदानमा पुग्ने अवस्था छैन ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएका लगभग सबै प्रश्न, माग र सुझावहरुलाई दुई अध्यक्ष र सचिवालय बैठकले कुनै न कुनै रुपमा सम्बोधन गरेकाले बैठक सफलतामा टुंगिएको टिप्पणी केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख बिष्णु रिजालको छ ।

पार्टी र सरकारलाई प्रभावकारी बनाउन बैठकले दिशा निर्देशन गरेको उनले बताए । अर्का केन्द्रीय सदस्य युवराज चौलागाईले पनि बैठकले पार्टीको निर्देशनमा सरकारले काम गर्नुपर्छ भन्ने कुरालाई स्थापित गरेको बताए । उनले समग्रमा बैठक सफलतापूर्वक सकिएको टिप्पणी गरे ।

पार्टी एकीकरणको डेढ वर्षसम्म नेकपामा केन्द्रीय कमिटीको बैठक यसरी बसेको थिएन । पहिलो बैठक सपथग्रहण र निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि औपचारिक मात्र थियो । यसबीचमा पार्टीमा बैठक नहुँदा धेरै असन्तुष्टिहरु रहेकामा यो बैठकबाट सदस्यहरुका आवाज नेतृत्वले सहजरुपमा स्वीकार गरेको नेताहरु बताउँछन् ।

नेकपा बैठकमा उठेको अर्को माग पार्टीका नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन हुनुपर्ने थियो । केन्द्रीय कमिटी बैठकमा सम्पत्ति छानविन आयोग गठनको माग भए पनि अनुशासन आयोगलेनै सो काम गर्ने जानकारी अध्यक्ष प्रचण्डले दिएका छन् ।

केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले अनुशासन आयोगलेनै सम्पत्ति छानविन तथा अनुशासन पालना गराउने बताए । सम्पत्ति छानविनको काम अनुशासन आयोगले सबैभन्दा पहिले सचिवालय सदस्यहरुबाटै गर्ने केन्द्रीय सदस्य ठाकुर गैरेले प्रचण्डलाई उधृत गर्दै बताए ।

केन्द्रीय सचिवालयको संख्या ९ बाट बढाउनुपर्ने प्रस्ताव भने बैठकबाट स्वीकृत भएन । यसबारेमा सचिवालयलेनै निर्णय गर्ने गैरेले बताए ।

नेकपा बैठकमा समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यहरुले उठाएका सम्पत्ति छानबिनको मागदेखि दुई अध्यक्षको फोटो पार्टी कार्यक्रममा नराख्नेसम्मका सुझाव स्वीकृत भएका छन् । एक व्यक्ति एक पद लागु गर्नुपर्नेदेखि महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चता गर्नेसम्मका सुझाव अध्यक्ष प्रचण्डले लागु हुने जवाफ दिएका छन् ।

केन्द्रीय कमिटी बैठक हलमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको फोटो टाँगेर माक्र्स लेनिन र मनमोहन अधिकारीकोको फोटो नराखिएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका थिए ।

समूहगत छलफलमा समेत सो विषय उठेपछि प्रचण्डले जवाफ दिने क्रममा फोटो नराखिने बताए । अब नेकपाका बैठक र कार्यक्रममा पुष्पलाल,मदन भण्डारी र माक्र्स लेनिनको फोटो रहनेछन् ।

त्यस्तै पार्टी एकताका बाँकी सबै काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका प्रचण्डका प्रचण्डले बताए । अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने समेत उनले बताए ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कुटनीतिक मर्यादा अनुकुलका शब्दहरुमात्र राखिने बताएका छन् ।

नयाँ नक्सा सार्वजनिक गर

नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्न समेत सरकारलाई भनेको छ ।

केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्था मन्त्री समेत रहेकी नेकपा केन्द्रीय सदस्य पद्मा अर्यालले यसबारेमा काम भइरहेको जानकारी गराएकी छन् ।

भारतले नेपाली भूमि समेत समेटेर बनाएको नक्सा अश्वीकार गर्ने सरकारको निर्णयलाई बैठकले स्वागत गरेको र नेपालको पनि राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर लिम्पिाधुरा,लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्न नकपाले भनेको छ ।

त्यस्तै नेपाल ट्रष्टको गोकर्ण लगायतका जग्गा यति होल्डिङ्सलाई लिजमा दिएको सन्दर्भमा प्रश्न उठेपछि बैठकले ट्रष्टको देशभरको जग्गाको यथार्थ जानकारी मागिएको हो । यतीलाई दिइएको कुरामात्र बाहिर आएपनि अरुले पनि धेरै सम्पत्ति लिजमा लिएको हुनाले यथार्थ विवरण मागिएको केन्द्रीय सदस्य विशाल भट्टराईले बताए ।

ट्रष्टको सम्पत्ति क-कसलाई कुन सरकारको पालामा कसरी लिजमा दिइएको हो सबै विवरण स्वेतपत्र मार्फत सार्वजनिक गर्न ट्रष्टका अध्यक्षसमेत रहेका नेता ईश्वर पोखरेललाई निर्देशन दिएको जानकारी बैठकमा अध्यक्ष प्रचण्डले गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment