
१९ माघ, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चार माध्यमले आफूहरुलाई यो गुट, त्यो गुटको भनेर अपमान गरेको गुनासो गरेका छन् ।
आइतबार नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले पार्टीको कोही पनि नेता व्यक्तिका पिछलग्गु नभएको बताए । फरक विचार आउनु र त्यसमा छलफल स्वाभाविक भएको भन्दै उनले त्यसकै आधारमा भाग लगाउनु अनुचित भएको धारणा राखे ।
‘केही सञ्चार माध्यमहरुले हामीलाई यताको भाग र उताको भाग भनेर अत्यन्त अपमान गरेका छन्’ उनले भने, ‘हामी यसको गोठभित्र, त्यसको कटेरोभित्र, त्यसको झुण्डभित्र परेका मान्छे होइनौं । हरेक इन्डिपेन्डेन्ट नेताहरु हौं ।’
उनले अघि भने, ‘हामी पार्टीका कार्यकर्ता हौं र पार्टीभन्दा बाहेक व्यक्तिका पिछलग्गु होइनौं । हामीलाई त्यस ढंगले चित्रण गर्नु अत्यन्तै गलत कुरा हो ।’
उनले के भने ?
देशको अपेक्षाअनुसार पार्टी एकजुट भएर अगाडि बढेको छ । तर दुःखको कुरा, केही सञ्चार माध्यमहरुले हामीलाई यताको भाग, उताको भाग भनेर अत्यन्त अपमान गरेका छन् । हामी यसको गोठभित्र, त्यसको कटेरोभित्र, त्यसको झुण्डभित्र परेका मान्छे होइनौं । हामी हरेक इन्डिपेन्डेन्ट नेताहरु हौं ।
तर हामीलाई आआफ्ना स्वार्थमा यता र उता भनेर अखबारवाजी … विभिन्न मान्छेका टाउका राखेर यताका भागमा यति टाउका, उताका भागमा यति टाउका अंशबण्डा जस्तो गरे । हामी देश निर्माणका लागि हिँडेको एउटा पार्टीका हौं । एउटा नेतृत्वको झुण्ड हो, यताको भाग र उताको भाग होइन ।
मान्छेको भागमा एकएक वटा टाउको छ, मस्तिस्क छ, अलिअलि विचारहरु आउँछन्, फरक पर्छ । छलफल हुन्छ, छलफलबाट निष्कर्ष निस्कने बेग्लै कुरा हो । तर छलफल हुने वित्तिकै, विचार आउने वित्तिकै मान्छे भाग लगाउने, भागलगाएर अपमानित गर्ने, फलानो मान्छे इन्डिपेन्डेन्ट होइन, फलानाको भागको हो भन्नु अनुचित हो । हामी पार्टीका कार्यकर्ता हौं र पार्टीभन्दा बाहेक व्यक्तिका पिछलग्गु होइनौं । हामीलाई त्यस ढंगले चित्रण गर्नु अत्यन्तै गलत हो । त्यो हामीले बुझेका छौं, हाम्रो केन्द्रीय कमिटीले बुझेको छ, देशले बुझेको छ । त्यसैकारण आज नेकपा, नेकपा छ, यस रुपमा छ र नेकपा एकतावद्ध छ र एकतावद्ध रहन्छ । कसैले तलमाथि पार्न सक्दैन ।
यो एकता एकछिन दुईछिन, एकदुइदिनका लागि भन्छन् नि, त्यस्तो होइन । खास उद्देश्यप्रति समर्पित भएर पार्टी एकता गरेका हौं र यो एकता अगाडि बढेको छ ।
भाषण छापेर दिनुको कारण
नेकपा बैठकको उद्घाटन समारोहमा दुई घन्टा सम्बोधन गरेर हिँडेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एकै पटक आइतबार समापन समारोहमा पुगेका थिए ।
उद्घाटन समारोहमा सरकारको कामकारबाहीको बचाउ गरेका उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यती समूहबारे स्पष्टीकरण दिएका थिए । समापन समारोहमा एमसीसीबारे निकट भविश्यमा टुंगो लगाउँछौं भनेका प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको दोहोर्याए ।
सरकारको कामबारे आफूले दिएको जानकारी छापेर पुस्तककै रुपमा सबै नेताहरुलाई दिइएको भन्दै उनले भने, ‘किन छापेर दिएको हुँ भने के भएको छ थाहै पाइन भन्ने स्थिति नहोस् । अब भन्न सक्नुहुन्छ, यो यो काम भएको छ ।’
उनले केन्द्रसँगै प्रदेश र स्थानीय तहका सरकारहरुले पार्टीको निर्देश अनुसार काम गर्ने, तर पार्टीले पनि सरकारको काममा सहयोग गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो आचरण शुद्ध बनाउनुपर्ने र जनतालाई मन पर्ने व्यवहार मात्र गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीका कोही पनि नेता वा जनप्रतिनिधि भ्रष्टाचारमा नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको हैसियतमा मैले भन्नुपर्ने हुन्छ, कोही फेला पर्यो भने छोडिन्न । कारबाहीको शिकार हुन्छ ।’ भ्रष्टाचारमा कोही नपरोस् भन्नका लागि पार्टीले नितिगत रेखदेख र सहयोग गर्ने उनले बताए ।
प्रतिक्रिया 4