Comments Add Comment

‘सीतालाई रक्सी खुवाउने’ संवादले विवादमा हिमेश पन्त, दिए यस्तो स्पष्टीकरण

काठमाडौं । लोकप्रियताको उकालो चढिरहेको रियालिटी शो कमेडी च्याम्पियनका उपाधि दावेदारका रुपमा हेरिएका मध्ये एक हुन् हिमेश पन्त । तर, दुई हप्ता अगाडिको एउटा प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा उनी विवादमा तानिएका छन् ।

गत माघ १३ गते प्रशारित १६ औं एपिसोडमा हिमेशले ‘अन्धविश्वासी वैज्ञानिक’को रुपमा प्रस्तुति दिएका थिए । उक्त स्ट्यान्डअप कमेडीमा उनले बोलेको एउटा डाइलगले सीता माताको अपमान गरेको भनेर आपत्ति जनाइएको हो ।

हिमेशले वैज्ञानिकहरुले पनि धर्ममा विश्वास राख्ने कुरालाई लिएर यसरी व्यंग्य गरेका थिए ।

‘म खत्रै वैज्ञानिक हुँ, पढेको पढ्यै गर्छु । अघि भर्खर ४ अध्याय स्वस्थानी पढेर आएको हुँ । स्वस्थानीमा लेखेको रहेछ भगवान गणेश मुसामाथि चढे । एक त मोटो गणेश त्यसमाथि हात्तीको टाउको छ । मुसामाथि किन अत्याचार गर्ने ? मेरो बाउ शिव भएको भए म भन्दिन्थेँ, बुवा म पनि अब साँढे चढ्छु । मुसामाथि चढ्ने होइन नि यार । बरु बिरालोमाथि चढ्दा हुन्छ । जैले बाटो काटेको काट्यै गर्छ ।’

तर, विवाद आएको संवाद चाहिँ यो हो :

‘भगवान राम साइन्टिस्टको पनि बाउ हो के । सीतालाई आगोमा हालेर जूठो कि चोखो पत्ता लगाइदे । तर, किन यत्रो तमासा ? टन्न रक्सी खुवाइदिएको भए साँचो बोलिहाल्थिन् नि । ’

फेसबुक ग्रुपहरुमा हिमेशको यो संवादलाई लिएर निकै टिका–टिप्पणी भइरहेका छन् ।

धेरैले चाहिँ हिमेशले हिन्दू धर्मकी एक देवीको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । केहीले यसलाई सामान्य व्यंग्यका रुपमा लिनुपर्ने भन्दै उनको बचाउ पनि गरेका छन् । अनि, त्योभन्दा अगाडिको एपीसोडमा ‘भिटेन’ अवतारमा प्रस्तुत हुँदा हिमेशले घाँटीमा झुण्ड्याएको क्रसजस्तो मालाबारे पनि प्रश्न उठाइयो ।

कमेडी च्याम्पियन अहिले टप ६ मा पुगेको छ । दर्शकले दिएको भोटका आधारमा नै विजेता छनोट हुने यसको पनि फम्र्याट हो । यस्तोमा प्रतियोगीहरुको साना–साना गल्ति पनि कहिलेकाहीँ उनीहरुका लागि महंगो पर्न जान्छ ।

यही महसुस गरेर हिमेशले विवादित विषयमा फेसबुकमा प्रष्टिकरण लेखेका छन् । उनले आफू जन्मैदेखि हिन्दू भएको भन्दै धार्मिक वैज्ञानिकको भूमिका निर्वाह गर्ने क्रममा ‘हल्का कमेडी’ गरेको बताएका छन् । तर, उनले केही प्रश्न पनि उब्जाएका छन् ।

‘मैले त धर्मको नाममा हल्का कमेडी गरेँ होला, माफी चाहन्छु तर ती मान्छेहरुको के जस्ले धर्मको नाममा विजनेस गर्दैछन् ?’ उनले भनेका छन् । साथै मन्दिरमा गएर ढुंगामाथि दुध चढाउनेहरुलाई मन्दिर बाहिर गरिब, असहायले पानी पिउन पाउँदैनन् ।

‘सीतालाई रक्सी पिलाउने’ संवादको विषयमा उनले भनेका छन्, ‘त्यो मेरो कलब्याक लाइन थियो, मतलब कमेडीमा कलब्याक भनिन्छ । कमेडी गर्नुअगाडि मैले धर्मको अध्ययन गरेकै हो । मलाई जज गर्नु अगाडि तपाईं पनि कमेडीको अध्ययन गर्नुस ।’

तर, हिमेशको यस्तो प्रष्टिकरणले आलोचकहरु थप भड्किएको देखिन्छ । उनले आफ्नो कमजोरी स्वीकार गर्नुभन्दा पनि अझै घमण्ड देखाएको उनीहरुको टिप्पणी छ ।

भर्खर कमेडीमा चिनिन खोजिरहेको युवा कलाकारलाई यस्ताखाले विवादले फाइदा गर्नेछैन । कमेडी च्याम्पियनमा अगाडि बढ्न जनताको भोट नै आवश्यक हुने भएकलो उनले सतर्कता अपनाउनुपर्ने देखिन्छ । हिमेश साइन्सका विद्यार्थी हुन् ।

त्यसो त धार्मिक विषयहरुलाई व्यंग्यको विषयवस्तु बनाउने चलन नयाँ होइन । प्रख्यात व्यंग्यकवी शैलेन्द्र सिम्खडाले भगवानहरुमाथि थुप्रै जोक बनाएका छन् । अहिलेसम्म त्यसमा कुनै विवाद उब्जेको छैन, किनकी भगवानलाई हास्यव्यंग्यको विषय बनाउँदा उनले आफूलाई एउटा सीमाभित्र कसिलोगरी बाँधेका छन् ।

हिमेश पन्तको स्टाटसः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment