Comments Add Comment

यहाँ फोहोर फाल्नेको भिडियो युट्युबमा राखिने छ !

२१ माघ, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपामा घुम्न जानुभयो भने अचेल फोहोरबाट निस्कने दुर्गन्धको समस्या खासै भोग्नुपर्दैन । दुई महिनाअघिसम्म यस्तो अवस्था थिएन ।

बौद्ध स्तुपा नजिकै फोहोरको थुप्रो हटिसकेको छ । आजभोलि तपाईंलाई यहाँ मास्कको खासै आवश्यकता पर्दैन ।

घरमा रहेको फोहोर सडकमा फाल्न ल्याउनेहरुले किन अचेल ल्याउन छाडे त ? यसको एउटै कारण हो- बौद्धस्तुपा नजिकै फोहोर थुपारिने ठाउँमा राखिएको साइन बोर्ड !

के जादु छ त यो बोर्डमा ? जसले बर्षौंदेखि सडकमा फोहोर थुपार्दै आएका बौद्धबासीको मन बदलिदियो ।

फोहोर थुपार्न रोक्नका टाँगिएको सेतो साइनबोर्डमा लेखिएको छ, ‘तपाईं सीसीटीभी क्यामेराको निगरानीमा हुनुहुन्छ । यहाँ फोहोर फाल्नेको भिडियो युट्युबमा राखिने छ । सबैलाई चेतना भया !’

बोर्डमा लेखिएको अक्षर यति हो ।

तर, यसको प्रभावले आजभोलि बौद्धमा पुग्ने जो कोहीले फोहोरको दुर्गन्ध भोग्नुपर्दैन ।

अचेल जुनसुकै घटना पनि सामाजिक सञ्जाल, फेसबुक, युटुबमा भाइरल हुन्छ । बौद्धका स्थानीय व्यापारीले पनि यही तरिका अपनाए ।

के यो साइनबोर्डपछि फोहोर फाल्न रोकियो त ? हामी बोर्ड राखिएको ठाउँमा पुग्दा साँच्चै काम गरेको रहेछ यो सूचनाले । स्थानीय धमेन श्रेष्ठले भने, ‘यहाँ यो बोर्ड राख्न थालेदेखि आजसम्म फाहोर थुप्रेको छैन । बरु यही सिको अरुले पनि गर्न थालेका छन ।’

श्रेष्ठ भन्छन्, ‘यहाँ अहिले फोहोरको गाडी आएपछि मात्रै घरघरबाट फोहोर ल्याउछन् । पहिले जति नै प्रयास गरे पनि समस्या समाधान हुन सकेको थिएन । यो एउटाले बोर्डले गर्दा यो समस्या हटयो ।’

बौद्धमा कपडा व्यापार गरिरहेकी रमा केसी पनि श्रेष्ठको भनाइमा सहमति जनाउँदै बोर्ड राखेदेखि सडकमा फोहोर थुपार्न बन्द भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘पहिले यहाँ बसिसक्नु हुँदैनथ्यो । अहिले यो बोर्ड राखेपछि कसैले फोहोर थुपारेका छैनन् ।’

केसीका अनुसार बाटो कालोपत्रे भएपछि पनि मान्छेहरुले फोहोर फाल्न छाडेका थिएनन् । बोर्ड राखेको दुई महिना भयो, अहिले फोहोर फाल्न बन्द छ ।’

चोकचोकमा फोहोर फालेको ठाउँमा कतिपयले ‘फोहोर फालेमा ५ देखि १५ हजार जरिमाना गरिनेछ’ भनेर लेखिएको ठाउँमा समेत फोहोरको थुप्रो देखिन्छ । केही सिप लागेन भने भगवानको मूर्तिसम्म ल्याएर राख्ने गरिन्छ । तर, फोहोर हटेको पाइन्न । तर, सीसी क्यामेरा र युट्युबले गरेन त कमाल !

हैरान छ गोकर्णेश्वर नगरपालिका

सडकमा फोहोर थुप्रिने सडकमध्ये गोकर्णेश्वर नगरपालिका पनि पर्छ । जोरपाटी चोकमा फोहोरको थुप्रो कमी हुँदैन । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले फोहोरको समस्या हटाउन ब्यानरहरु टाँसिए पनि अहिलेसम्म कारबाही गर्न नसकिएको बताए ।

‘फोहोर फालेमा भनेर ५ हजार देखि १५ हजारसम्म जरिवाना हुन्छ भनेर ब्यानर टाँग्यौं, फोहोर फाल्ने ५ जनालाई प्रहरीमा पनि बुझायौं’ मेयर भन्छन्, ‘पछि आफैंले छुटाउनुपर्‍यो । तर, फोहोर फाल्ने क्रम रोकिएन ।’

‘मान्छेलाई सम्झाउन नसकिने रहेछ’

काठमाडौं महानगरपालिकाका अधिकाँश चोकहरुमा फोहोरको थुप्रो समयमा नउठदा दुर्गन्ध त फैलिन्छ नै, एकपटक फोहोर उठाएपछि त्यहाँ भोलिपल्ट उस्तै फोहोर थुप्रिन्छ ।

महानगरपालिकाले कतिपय ठाउँमा फोहोर फाल्न मनाही छ भनेर ब्यानार टाँगेको पनि देखिन्छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, फोहोर फालेको ठाउँमा सर्वसाधारणको गुनासो आउँछ, त्यहाँ बोर्ड लगेर टास्छौं । तर, मान्छेहरु जहाँ सजिलो छ, त्यहीँ लगेर फोहोर फाल्छन् । मान्छेलाई सम्झाउन नसकिने रहेछ । जति नै ब्यानर टाँगेपछि काम छैन रहेछ ।’

जथाभावी फोहोर फालेकोमा महानगरपालिकाले वर्षमा झण्डै ४० जनालाई कारवाही गरेको प्रवक्ता डंगोलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment