+
+
Shares

२ दिन फोहोर नउठ्दा दुर्गन्धित पोखरा, विहीबारको भेलले सडकभरि छरपस्ट

पोखराका न्युरोड, महेन्द्रपुल, पृथ्वीचोक, सभागृह, लेकसाइडलगायतका सडक विहीबार जलमग्न बने । सडकमा भेलमात्रै बगेन, फोहोरका पोकाहरुसमेत बगे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ११:०२
पोखराका सडकमा छरपस्ट फोहोर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा बिहीबार साँझ परेको मुसलधारे पानीले सडकहरू जलमग्न भएका छन् र साना सवारी साधनहरू रोकिएका छन्।
  • पोखरामा फोहोर व्यवस्थापन नहुँदा सडकमा फोहोर छरपस्ट बनेको छ र दुर्गन्ध फैलिएको छ।
  • पोखरा महानगरले फोहोर प्रशोधन केन्द्र निर्माण परियोजना स्थगित गरेको छ र नयाँ स्थायी ल्याण्डफिल स्थलको खोजी गरिरहेको छ।

८ जेठ, पोखरा । जब ठूलो पानी पर्छ, पोखराको सडकमा भल होइन, बाढी नै बग्छ । ओरालो भूभाग रहेको पोखराको सडक छेउको नालीले थेग्नै नसक्ने गरी बग्ने भलबाढीले सडक जलमग्न हुन्छ । सवारी आउजाउ गर्नसमेत गाह्रो हुन्छ । साना सवारी साधन त रोकिएकै ठाउँमा ढल्छन्, बग्छन् ।

पोखरामा बिहीबार साँझपख पनि मुसलधारे पानी पर्‍यो र पोखराको सडकमा भेलबाढी नै बग्यो । पोखराका न्युरोड, महेन्द्रपुल, पृथ्वीचोक, सभागृह, लेकसाइडलगायतका सडक विहीबार जलमग्न बने । सडकमा भेलमात्रै बगेन, फोहोरका पोकाहरुसमेत बगे ।

जब झरी बस्यो, पोखराका सडकैभरि फोहोर छरपस्ट बने । शुक्रबार बिहान पनि पोखराका सडकमा छरपस्ट फोहोर देखिए । शुक्रबार बिहान केही ठाउँबाट सफा गर्ने काम भए पनि केही ठाउँमा बिहान अबेरसम्म पनि फोहर छरपष्ट थियो । झरी पर्दा जलमग्न हुने र फोहोर छरिएर दुर्गन्ध फैलिने पोखराको यो नियति नै बनिसकेको छ ।

पोखरामा फोहोरको दिगो व्यवस्थापन नहुँदा बेला–बेला सडकमै थुप्रिने गरेको छ । सोही फोहोर सडकैभरि छरिएको दृष्यले पर्यटकीय नगरी पोखरालाई गिज्याउने गरेको छ ।

पोखरा–२१ सम्म भन्ने ठाउँमा पछिल्लो पटक फोहोर व्यवस्थापन गरिएकोमा फेरि किन यो अवस्था आयो त ? पोखरा महानगरपालिकाका फोहोरमैला शाखाका प्रमुख प्रभात लामिछाने भनछन्, ‘पोखरा–२१ मा २ दिन फोहोर फाल्ने स्थिति बनेन, नागरिकले सडकमै फोहोर फालिदिए र छरपस्ट बने ।’

फोहोरको स्थायी व्यवस्थापनमा समस्या

पोखरा–३२ लामेआहालमा स्थायी व्यवस्थापन हुँदै आएकोमा त्यो ठाउँ भरिएपछि महानगरलाई अन्य ठाउँको खोजी गर्नुपर्ने स्थिति सिर्जना भयो ।

महानगरले विभिन्न ठाउँमा फोहोर लैजाने जमर्को गरे पनि स्थानीयको विरोधका कारण पुसदेखि फागुनसम्म पोखराका विभिन्न ठाउँमा फोहोर गाड्नुपर्ने अवस्थामा महानगर आइपुगेको थियो । कहिले पोखरा–१४ मा त कहिले पृथ्वीचोक शान्तिवन बाटिकाभित्रै फोहोर गाडिएको थियो । कहिले पोखराको दोबिल्ला वारी र पारी गरेर पनि फोहोर गाड्ने र व्यवस्थापन गर्ने काम भएको थियो ।

फागुनमा भने पोखरा–२१ को सम्म भन्ने ठाउँमा व्यक्तिको जग्गामा फोहोर व्यवस्थापन गर्ने सहमति महानगरले गरेको थियो । स्थानीयको विरोधका बाबजुद पनि खोंच परेको निजी जग्गामा फोहोर फाल्न थालिएको हो । भिरालो जमिनमा तलबाट तारजालीको बाँध पनि लगाउँदै जाने र माथिबाट फोहोर पनि फाल्ने काम हुँदै आएको थियो ।

तर दुई दिनअघि दोबिल्लावासीले दुर्गन्ध फैलिएकाले पहिले बाँध लगाउने काम सक्न भन्दै फोहोर नल्याउन भने । फोहोर व्यवस्थापन गर्ने जग्गामा स्काभेटर लगाउने र ग्याभिन पनि भर्ने काम भइरहेको थियो ।

‘काम गर्दागर्दै सोही ठाउँमा स्काभेटर नै फस्यो । बल्ल–बल्ल निकाल्ने काम त भयो तर स्काभेटर स्टार्ट नै भएन र काम पनि रोकियो,’ फोहोरमैला शाखाका हर्क गायकले भने, ‘आज अर्को स्काभेटर खोजेर भए पनि काम गर्छौं र फोहोर उठाउने काम पनि आजैबाट हुन्छ ।’

अहिले पोखराका विभिन्न सडकमा बिहीबारको भेलले छरपस्ट बनाएर फोहोर उठाउने काम भइरहेको गायकले जानकारी दिए ।

पोखरा महानगरले अहिले व्यवस्थापन गरिरहेको जग्गामा पनि ५/६ महिनामा फोहोर भरिने अवस्था छ तर पोखरा महानगरले भने फोहोरको स्थायी व्यवस्थापनको टुंगो लगाउन सकेको छैन ।

फोहोर प्रशोधन केन्द्र पनि अलपत्र

पोखरा–३३ मा स्थायी फोहोर प्रशोधन केन्द्र बनाउने निर्णय गरेर पोखरा महानगरले जग्गा रोक्कासमेत राखेको थियो । तर, विभिन्न स्वार्थ समूहको चलखेलसमेत भएको भन्दै स्थानीयले विरोध गरे पनि रोक्का राखिएको जग्गाको विवादसमेत हुन पुग्यो ।

पोखरा–३३ मा ७० रोपनी जग्गामा ८० करोड रुपैयाँ लगानी गरेर प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौतासमेत भएको थियो । मंसिर २ गते पोखरा महानगर र टेरासोल्भ रिनुएवल प्रालिबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सम्झौता भएको थियो । तर, अहिले स्थानीयको विरोध, आन्दोलन र भ्रष्टाचारको आरोपसमेत लागेपछि परियोजना नै स्थगित हुन पुगेको छ ।

प्रशोधन केन्द्र बनाउन महानगरले १७ जना जग्गा धनीहरूको ९६ रोपनी जग्गा २०८० को सुरुदेखि नै रोक्का राखिएको थियो ।

स्थानीयको जग्गा रोक्का गर्दै बैना दिनका लागि पोखरा महानगरको खाताबाट ५५ लाख रुपैयाँ वडाध्यक्ष रामचन्द्रको खातामा पठाएको पाइएको थियो । सरकारी पैसा व्यक्तिको खाता पठाएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष र मेयर आचार्यसहितले हिसाब मिलान गराएका थिए । तर, त्यो पैसाबाट स्थानीयले भने बैना पाइसकेका थिए ।

अब त्यो बैना फिर्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ । महानगरले अर्को ठाउँमा स्थायी ल्याण्डफिलको लागि पोखरा–३२ मै बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?