Comments Add Comment

नदी उत्खननमा प्रयोग भएका २३ सवारी साधन प्रहरी नियन्त्रणमा

२५ माघ, चितवन । प्रहरीले चितवनमा जथाभावी नदीजन्य सामग्री उत्खननमा प्रयोग भएका डोजरसहित टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा बग्ने खगेरी खोलाबाट ३ वटा डोजर, १० वटा टिपर र १० ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सबै सवारी साधानलाई जिल्ला प्रहरी प्रहरी कार्यालय चितवन परिसरमा राखिएको छ ।

एसपी नान्तीराज गुरूङ चितवन जिल्ला प्रहरी प्रमुख बनेर आए लगत्तै अवैध उत्खननमा र ढुवानीमा प्रयोग हुने सवारी साधानलाई नियन्त्रण लिइएको हो । एसपी गुरूङका अनुसार तोकिएको परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी भएको सूचनाका आधारमा उक्त सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

सो खोलाको ठेक्का बोलपत्र मार्फत इच्छाकामना गाउँपालिकाले लगाएको थियो । धादिङको जोगीमारा कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले खोलाबाट ३५ हजार घनमिटर भन्दा बढी ग्राभेलका सामग्री निकाल्न स्वीकृति दिएको थियो । तर, उक्त कन्स्ट्रक्सनले सोभन्दा बढी परिमाणमा गिट्टी बालुवा निकालि सकेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दैनिक १० भन्दा बढी टिपर र १० भन्दा बढी ट्याक्टरले ग्राभेल उठाउँदा तोकिएको भन्दा बढी नदीजन्य सामग्री उत्खनन् भएको देखिएकोले पक्राउ गरिएको बताए । उनले यसबारेमा जिल्ला समन्वय समितिले छानविन गर्ने बताए । जोगीमाराले ठेक्का लिए पेटी ठेक्कामा अरुले काम गर्दै आएका थिए ।

खगेरी खोलामा ठेक्का लगाउने बिषयमा भरतपुर महानगरपालिका र इच्छाकामनाका बीचमा विवाद हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment