Comments Add Comment

उहिलेको कुरा : यस्तो थियो हाम्रो प्रेम–कथा

विवाह अघिको प्रेम र विवाह पछिको प्रेम आफैंमा दुई किसिमका धारणाहरु हुन् । एकले अर्कालाई प्रेम गरेर गरिने विवाह र विवाह पछि हुने प्रेममध्ये मेरो जीवन विवाह पछिको प्रेममा रुमलियो । पहिलो विवाह मेरो नाममात्रैको विवाह भयो ।

सानै उमेरमा आमाको निधन भएपछि बुबाले अर्की आमा ल्याउनुभयो । धेरैले सौतेनी आमा र झड्केलो छोराको सम्बन्धको बारेमा अनेकानेक टीकाटिप्पणीहरु गर्छन् । तर, मलाई कहिलै पनि त्यस्ता नकारात्मक टिप्पणीहरुमा भनिएजस्तो महसुस भएन ।

मेरी कान्छीआमा र मेरो उमेरबीच केवल ४ वर्षको मात्रै अन्तर थियो । दोस्री आमाबाटपनि माया त पाइरहेकै थिएँ । झड्केलो छोरालाई पछि विवाह गर्न गाह्रो हुन्छ भनेर घरकाले ११ वर्षको उमेरमा नै विवाह गरिदिए ।

विवाहको केही समयमा नै पहिली श्रीमतीको बाबुलाई पक्षघात भयो भनेर उनी माइत बस्न थालिन् । उनी लामो समयसम्म पनि घर नआएपछि मलाई अर्काे बिहे गर्नुपर्ने बाध्यता आइपर्‍यो । त्यहीँबाट सुरु भयो मेरो विवाह पछिको प्रेम जीवनको रोचक कथा ।

पुष्पलालको कमजोरीले दोस्रो बिहे

त्यतिबेलासम्म म कम्युनिष्ट पार्टीको सदस्य भइसकेको थिएँ । कम्युनिष्ट पार्टीको सदस्यलाई जवान श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्ने अनुमती थिएन । भलै मुलुकमा त्यससम्बन्धी कानुन बनेको नभएपनि । मैले पार्टीको अभिभावकको रुपमा पुष्पलाललाई यस बारे सोधेँ । जिम्मेवार कार्यकर्ताको रुपले मैले उनीसँग सोधेर मात्रै विवाह गर्ने निर्णय गरेको हुँ ।

पुष्पलालले विवाहको लागि मलाई स्वीकृति दिए । तर, त्यो उनको कमजोरी थियो भन्नेमा म अझै पनि स्पष्ट छु । एउटा कार्यकर्ता भएको आधारमा मेरो मात्रै कुरा सुनेर उनले दोस्रो विवाहको जिम्मेवारी दिए ।

सुशीलासँगको विवाह अघिको भेट

सुशीलासँगको विवाहको कुरा पनि रोचक छ । सुशीलाको सानिमाको घर हामीहरुको जजमानको घर थियो । पुजाआजामा जाँदा देखभेट हुन्थ्यो । कुराकानी राम्रै हुन्थ्यो । विवाहको प्रस्तावसम्म गर्न सकेको थिएन । उनीपनि मलाई देख्न उत्सुक, म पनि । त्यसलाई हामीले प्रेम भनेनौं । यो जवानीको एउटा उत्तेजना थियो । यही कुरा चल्दै गयो । अन्त्यमा हामीबीच विवाह नै हुनेभयो ।

विवाह पछि हामीले केही प्रतिज्ञाहरु गर्‍यौं । सबैभन्दा पहिले हामीले कसैले कसैलाई नढाँट्ने बाचा गर्‍यौं । दोस्रोमा दुबैले सुख दुखमा जस्तोसुकै समस्या भएपनि साथ दिने सम्झौता गर्‍यौं । यसले हाम्रो विवाह पछि बिस्तारै मायाको मुना पलाउन थाल्यो ।

प्रेम गर्ने हो या प्रेम हुने भन्ने दुई किसिमको हुन्छ । अरुको लागि गरेको प्रेम अल्पकालीन खालको हुन्छ । जबर्जस्ती गरेको प्रेम अल्पकालीन हुन्छ । आफैंमा भएको प्रेम दीर्घकालीन हुन्छ । हाम्रो समयमा मागी, प्रेम र भागी विवाहको प्रचलन थियो । अहिलेपनि त्यही तीन विवाह पद्धति नै चलिरहेको छ । मेरो बिचारमा मागी विवाहको तुलनामा भागी र प्रेम विवाहहरु कमजोर हुनुको कारण पनि त्यही हो । प्रेम विवाहमा धेरैले प्रेम देखाउनको लागि गर्छन् । मानिसलाई तत्काल परिणाम चाहिन्छ । तर, मागी विवाहमा विवाह पछिको प्रेम हुन्छ । त्यसमा दीर्घकालीन प्रेमको विजारोपण हुन्छ ।

प्रेमकाबीच शंका र बेमेल

हाम्रो बीचमा प्रगाढ रुपमा प्रेम त थियो नै । त्यत्तिकै शंका र बेमेल पनि कहिलेकाहीँ एकअर्काको मनमा आउने गर्दथ्यो । दुबै जवान थियौं । एउटाले अर्काेलाई हेर्दा पनि शंका गर्न मन लागि हाल्थ्यो । हामी त्यत्तिकुरालाई लिएर पनि सामान्य मनमुटाव गरिरन्थ्यौं । यो नै प्रेमलाई प्रगाढ बनाउने बाटो थियो ।

जतिबेला हामीले एक अर्कालाई केही पनि कुरा नढाँट्ने प्रतिबद्धता व्यक्त गर्‍यौं । त्यो बेलामा एक अर्काप्रतिको शंकाले पनि चरम बिन्दु टेकेको थियो । तर, बिस्तारै त्यो शंका विश्वासमा परिणत हुन थाल्यो । दुबैले मिलेर एकले अर्कालाई बुझ्ने प्रयासमा लाग्न थालियो । एक पटक त हामीहरु यही शंकाका कारणले पनि बोलचाल समेत गर्न छाड्यौं । पछि छोराछोरीले मिलाए ।

हाम्रो अर्काे प्रतिबद्धता थियो सुख दुखसँगै बिताउने । लिम्पियाधुरामा जनगणना गर्न जाँदाको कुरा हो । साउन महिनाको २५ गते मैले श्रीमतीलाई पनि लिएर गएँ । त्यो बर्खे भेलमा कैयौं नदीहरुको भेलसँग जोगिँदै हामीहरुले काम फत्ते गरेर फर्कियौं । पछि जेल पर्दा त दुख बाँड्न सकिएन । तर, अरु समयमा हामीले दुबैको दुखलाई एकअर्काले बुझ्ने प्रयास गर्ने गरेका छौं ।

मेरो बिचारमा एकले अर्कालाई ढाँट्यो भने सच्चा श्रीमान् श्रीमती कोही पनि हुन सक्दैनन् । मैले पनि उमेरमा केही उट्पट्याङ काम गरेको कुरा निडर भएर श्रीमतीलाई सुनाएँ । त्यसले समस्याभन्दा पनि हाम्रो सम्बन्धलाई झनै प्रगाढ बनाउन मद्दत पुर्‍यायो ।

कस्तो गर्ने प्रेम ?

प्रेमको सवालमा दुईवटा धार हुन्छ । एउटा हुन्छ अध्यात्मिक प्रेम अर्काे गैर अध्यात्मिक प्रेम हुन्छ । अध्यात्मिक प्रेममा मायापि्रती र जिन्दगीको कुरा जोडिएको हुन्छ भने गैर आध्यात्मिक प्रेममा क्षणिक सुख र लालसा भेटिन्छ । त्यसैले प्रेम वास्तवमै राम्रो र शुद्ध हृदयले गर्ने हो भने यसमा फल प्राप्ति ढिलो हुन्छ । तर, यो दीर्घकालीन हुन्छ भन्ने मेरो बुझाई हो ।

आजका बुहारीसँगको प्रेम

प्रेमी र प्रेमीकाबीचको प्रेमले मात्रै पनि समाजमा सहज जीवनशैली अपनाउन सकिँदैन । अहिलेका पढेका मानिसहरुलाई घरधन्दामा मात्रै सीमित गराउनु पनि जायज होइन र त्यो सम्भव पनि छैन । त्यसैले पनि यसको सकारात्मक व्यवस्थापन पनि प्रेम जीवन लामो समयसम्म टिकाईराख्ने एउटा कारण बन्न सक्छ ।

कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment