+
+
Shares

अब कुनै आयोजनाको प्रगति शू्न्यमा रहन सक्दैन : मन्त्री नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १९:२०

२७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौं संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरुको प्रगति शून्यमा बस्न नसक्ने बताएका छन् ।

आज सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी वाषिर्क समीक्षा एवम् प्रगति गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गोष्ठीमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्ष्यित गर्दै मन्त्री नेम्वाङले भने, ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भीर बनाएको हुन सक्छ । हुनु पर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ ।’

राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनले उल्लेख गरे । मन्त्री नेम्वाङले रणनीतिक सडकहरुको मर्मत सम्भार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गरे ।

‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासँग जोडिएका हु्न्छन् । जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो, क्षेत्र हो । काम हेर्दा खेरी सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ,’ उनले भने

उनले मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भीर रुपमा नियालिरहेकाले सडकको निर्माण, मर्मत संभारसँग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गरे ।

उनले सडक मर्मत संभार माध्यमिक काम हुन नसक्ने उल्लेख गरे ।  ‘केहि अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजिवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रहृयो । त्यसो भएका हुनले यो क्षेत्र प्राथमिकतामा रहनु पर्छ । नयाँ बाटो निर्माण, कालो पत्रे त्यो संगसंगै मर्मतमा ध्यान दिनु जरुरी छ,’उनले भने ।

मन्त्री नेम्वाङले अहिलेसम्मको भौतिक प्रगति तथा पूँजीगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भीर हुन निर्देशन दिए ।  ‘हामी गम्भिर बन्न जरुरी छ । हामी जबाफदेही बन्न जरुरी छ । देशको अधिकांश भौतिक निर्माणका जिम्मेवारी हामीले लिएका छौं। हाम्रो कामबाट मुलुक परिवर्तित हुने भएकाले हामी सबै जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

उनले जिम्मेवार तहमा रहेकाले आत्मसमीक्षा गर्नु पर्ने उल्लेखे गर्दै भने,’मैले ध्यान दिएन भने कसले दिन्छ, मैले गरिन भने कसले गर्छ ? मुलुक निर्माण गर्ने महत्वपूर्ण ठाउँमा हामी छौ । त्यो जिम्मेवारी राज्यले दिएको छ । अधिकार दिएको छ, सुविधा दिएको छ,बजेट दिएको छ, हामीले मात्रै कार्यान्वयन गर्ने हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?