Comments Add Comment

दिवाकर र दीपिकाको माया–पिरती

करिब चार वर्ष लामो प्रेम सम्बन्धलाई यसै वर्ष विवाहको रुप दिने एउटा सेलिब्रेटी जोडी हो अभिनेत्री  प्रसाईं तथा निर्देशक । अभिनेत्री प्रसाईंले अभिनय गरेका दुई चलचित्रहरु ऐश्वर्या तथा छक्का पञ्जा-३ व्यवसायिक रुपमा सफल भए दीवाकर भट्टराईले निर्देशन गरेको पाँच वटा चलचित्रहरु (जीवनसाथी, स्टुपिड मन, ड्रिम्स , ऐश्वर्य तथा क्याप्टेन) पनि व्यवसायिक रुपमा सफल मानिए ।

चलचित्र ‘ऐश्वर्य’ को अडिसनको क्रममा निर्देशक भट्टराई तथा अभिनेत्री प्रसाईंको भेट भएको थियो । त्यही भेटपछि अंकुराएको प्रेमलाई उनीहरुले यसै वर्षको वैशाखमा  विवाहको रुप दिएका हुन् । चार वर्ष लामो प्रेम सम्बन्ध तथा दश महिनाको वैवाहिक जीवन बिताइसकेको यो रोमान्टिक जोडीले अनलाइनखबरका लागि अरुणा भट्टराईसँग भ्यालेन्टाइन विशेष कुराकानी गरेका छन् ।

वैवाहिक जीवन कस्तो चल्दैछ ?

दिवाकर भट्टराई : वैवाहिक जीवन असाध्यै राम्ररी चलिरहेको छ । विवाहअघि अर्कै खालको जीवनशैलीमा रमाइरहेको थिएँ । विवाहपछि सन्तुष्टीले भरिएको जीवन बाँचिरहेको अनुभव गरेको छु । विवाहपछि करिब एक वर्षसम्म काम नै नगरी बस्ने हाम्रो सल्लाह थियो, त्यही सल्लाह अनुसार यो अवधिमा हामीले एक-अर्कालाई मात्र समय दियौं, एक-अर्काको परिवारलाई मात्र समय दियौं । त्यसैले पनि हामी यो अवधिमा अत्यन्त रमायौं । खुशी भयौं ।

दीपिका प्रसाईं : हिजोसम्म कसैकी छोरीमात्र थिएँ । विवाहपछि विभिन्न भूमिका निर्वाह गर्नु पर्नेरहेछ । जिम्मेवारी बढ्दो रहेछ । अलि-अलि दबाब पनि बढ्दो रहेछ । यी सबै परिवर्तन बाहेक सबैभन्दा रमाइलो कुरा के भएको छ भने हामी विवाहभन्दा पहिला जति रोमान्टिक थियौं, आज पनि उत्तिकै रोमान्टिक छौं । क्लोज फ्रेन्ड जस्तो भएका छौं ।

विवाहको दिन एक-अर्कालाई दुलाहा-दुलहीको भेषमा देख्दा कस्तो अनुभव गर्नुभयो ?

दिवाकार : चलचित्रमा निर्देशकको रुपमा धेरैवटा विवाह गराइसकेकोले होला आफ्नो विवाहमा त मैले आफूलाई चलचित्रको हिरोको पो कल्पना गरेछु । चारैतिर क्यामरा, सबैको ध्यान र नजर म माथि नै थियो । दीपिका दुलहीको पहिरनमा सजिएर आउँदा त मैले कुनै हिरोइन नै मसँग विवाह गर्न आइरहेकी हुन् कि जस्तो अनुभव गरेँ ।

दीपिका : पहिलादेखि नै चिनिरहेको व्यक्तिसँग विवाह गर्दा पनि दुलहीको पहिरनमा सजिएर उहाँको नजिक पुग्दा म त हतोत्साहित भएकी थिएँ । एकातिर लाज लागिरहेको थियो भने अर्कोतिर केही डराएकी पनि थिएँ । सायद यो अनुभव सबैले गरेको हुनुपर्छ ।

छोरीबाट बुहारी, भाउजु बन्दाको अनुभव कस्तो रह्यो ?

दीपिका :  मैले जस्तो सोचेकी थिएँ, नयाँ भूमिकामा त्योभन्दा बढी नै रमाएकी छु । सबैभन्दा ठूलो कुरा मैले श्रीमान्को घरमा बुहारीभन्दा पनि छोरीको दर्जा पाएकी छु । एउटी छोरीलाई त्योभन्दा ठूलो कुरा के हुन सक्छ र ? यो दश महिनाको अवधिमै मलाई उहाँको घरमा एउटा महत्वपूर्ण सदस्यको रुपमा लिइएको छ । घरायसी निर्णयहरु गर्दा मैले पो सुझाव दिनु पर्ने दायित्व पाएकी छु । जसका कारण म सोचेभन्दा खुशी छु ।

दिवाकार : हाम्रो घरमा उनले बुहारीको जस्तो अनुभव नै गर्नु परेको छैन । मेरो बुबा-आमाले नै उनलाई छोरीको जस्तो व्यवहार गर्नुहुन्छ । आजको मितिमा उनी हाम्रो घर-परिवारका विविध कामहरुको निर्णय गर्ने व्यक्तिको रुपमा पो परिचित भएकी छिन् ।

एक-अर्कालाई प्रेमी-प्रेमिकाबाट श्रीमान्-श्रीमतीको रुपमा पाउँदा कस्तो महसुस गर्नुभयो ?

दीपिका : त्यो त प्रेमिका भएको क्षण नै महत्वपूर्ण जस्तो लाग्यो । त्यो बेला दिनमा एक घण्टा भेट हुँदा पनि कति धेरै कुराकानी हुन्थ्यो । हरेक मिनेट महत्वपूर्ण हुन्थ्यो । विवाहपछि चाहिँ म पूर्ण रुपमा उहाँको भएकीले पनि मलाई त्यस्तो लागेको हुनसक्छ । विवाहपछि तिमी त मेरै हौ नि भन्ने सोच्नुभयो ।

सधैं सँगै हुँदा मायाको महत्व कम भएको जस्तो लागेको पनि हुनसक्छ । प्रेमिका हुँदा त इम्प्रेसनका लागि पनि एक कल गर्ने बित्तिकै दौडेर आइपुग्नु हुन्थ्यो । अहिले चाहिँ तीन-चार पटक फोन गरेपछि मात्र आउनुहुन्छ । तर, घुमफिर, खानपिन, रमाइलो गर्ने अवसरमा भने उहाँले मलाई सधैं उत्तिकै साथ दिइरहनु भएको छ ।

दिवाकार :  दिपिकाको कुरा सही हो । हामी प्रेमी-प्रेमिका मात्रै छँदा म उनलाई मात्र ध्यान दिन्थेँ, अहिले हामीले हामी दुबैलाई ध्यान दिनुपर्छ । पहिला तिमी र म भन्ने हुन्थ्यो, अहिले हामी भन्छौं । हरेक प्रेमी-प्रेमिका श्रीमान्-श्रीमती बनेपछि थप जिम्मेवारी बन्छन् । हामी पनि जिम्मेवार बनेका छौं । प्रेमसम्बन्धमा छँदा एक घण्टा नै अति नै महत्वपूर्ण लाग्थ्यो, विवाहपछि अधिकांश समय सँगै भएकाले पनि त्यो बेलाको जस्तो आत्मीयता छैन कि भन्ने लाग्नसक्छ । वास्तवमा माया भन्ने कुरा कहिलै घट्दैन । चाहे त्यो प्रेमी-प्रेमिकाको रुपमा होस् अथवा श्रीमान्-श्रीमतीको रुपमा ।

दीपिका :  एउटी केटीले चाहिँ श्रीमती भइसक्दा पनि प्रेमिकाले पाए जस्तो व्यवहार खोज्ने रहिछन् । हाम्रो प्रसंगमा त्यही भएको हो ।

दिवाकार : विवाहपछि केटीहरुले आज (वर्तमान) को बारेमा मात्र सोच्छन् भने केटाहरुले भोलि होइन, पर्सीसम्मको सोच्ने गर्छन् । त्यसैले गर्दा प्रेमिकाबाट श्रीमती बनेका केटीहरुले प्रेमीबाट श्रीमान् बनेका केटाहरुको माया कम भएको हो कि भन्ने सोच्न सक्छन् । वास्तवमा माया घटेको हुँदैन ।

कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?

दीपिका : आजसम्म परेको छैन । मलाई रिसाउनै आउँदैन । कहिलेकाहीँ रिसाएँ भने उहाँ चुप लागेर बस्नु हुन्छ कि त हाँस्नु हुन्छ । उहाँ हाँसेको देखेर रिसाएकी म दुई मिनेटपछि नै उहाँसँगै हाँस्न थाल्छु । त्यसैले पनि हामीबीचमा त्यस्तो ठाकठुक हुने अवस्था नै आउँदैन ।

दिवाकार : त्यस्तो दिनभरी नबोल्ने गरी झगडा परेको छैन ।

कहिलेकाहीँ रिस त उठ्छ होला नि ?

दीपिका  : उहाँ ढिला घर आउँदा रिसाउँछु । अहिले त त्यो बानी सुधार्नु भएको छ । बाहिरको काम सकिने बित्तिकै घर आइसक्नुहुन्छ । म कसैलाई पनि लामो समयसम्म कुरेर बस्न सक्दिन । उहाँले पनि मलाई कुराउनु भयो भने मात्र म रिसाउँछु ।

विवाहपछि एक-अर्काबाट के-के कुरा सिक्नुभयो ?

दिवाकार :  विवाहपछि हामीले जे-जे गरेका छौं, योजना बनाएर नै गरेका छौं । विवाहपछिको यो दश महिना हामीले बिल्कुलै व्यक्तिगत जीवन बितायौं । पछिल्लो एक वर्ष नै हामीले चलचित्रमा काम गरेनौं । पारिवारिक भेटघाट, जमघट, घुमफिरमै व्यस्त भयौं । एक वर्ष अघिसम्म म काम भनेपछि हुरुक्क हुने मान्छे थिएँ ।

विवाह गरेको एक वर्ष श्रीमती र परिवारलाई नै समय दिनुपर्छ भनेर कुनै पनि काममा हात हालिन । म परिवारको जेठो छोरा भए पनि विवाहअघि म चलचित्रकै काममा यति व्यस्त हुन्थेँ, तीन-चार महिनासम्म गाउँ (सिन्धुली) मा बुबा-आमालाई फोन समेत गर्न भ्याउँदिन थिएँ । तर म गलत रहेछु ।

विवाहपछि दीपिकाले नै मलाई ‘फेमिली फस्र्ट’ भन्ने कुरा बुझाइन्, सिकाइन् । आफ्नो परिवार, जीवनभन्दा ठूलो करियर होइन भन्ने कुरा मैले विवाहपछि नै सिकेँ । यदि तपाईंले परिवारलाई नै खुशी बनाउन सक्नु भएन भने धन-सम्पत्ति कमाएर मात्र के गर्ने भन्ने कुरा पनि मैले दिपिकाबाटै सिकेँ । मलाई लाग्छ, हरेक व्यक्ति आफ्नो परिवारप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । त्यसका लागि उसँग राम्रो जीवनसाथी हुनैपर्छ ।

दीपिका : दिवाकरले मेरो अलिक बढी नै प्रशंसा गरेको जस्तो लाग्यो । मेरो धारणा चाहिँ के हो भने आफू मात्र बनेर हुँदैन, दुई जनामात्र सफल भएर हुँदैन । तपाईं तथा हामीसँग जोडिएका व्यक्तिहरु पनि उत्तिकै सफल हुनुपर्छ ।

विवाह गर्नुभन्दा अघि श्रीमान्-श्रीमतीको बारेमा जे कल्पना गर्नु भएको थियो, विवाहपछि त्यो पाउनु भयो ?

दिवाकर : मलाई चाहिँ विवाहपछि दीपिकाले मेरो परिवारमा कसरी समाहित गर्छिन् भन्ने कुराको ठूलो डर थियो । उनको र मेरो पारिवारिक तथा भौगोलिक पृष्ठभूमि पृथक (म सिन्धुलीको उनी धनगढीको) भएकोले पनि मलाई उनी परिवारसँग मिल्ने हुन् कि होइनन् भन्ने लागेको थियो । मेरो परिवारलाई नै उनले स्वीकार्ने कुरामा पनि शंका थियो ।

मलाई कोदाको रोटी, ढिंडो मनपर्ने, उनलाई पाउरोटी, अण्डा आदि मनपर्ने । तर, विवाहपछि मैले सोच्दै नसोचेको भयो । उनी त परिवार भनेपछि हुरुक्कै हुने स्वभावकी रहिनछन् । आज अवस्था कस्तो छ भने घरमा कुनै समस्या अथवा कुनै कुराको निर्णय गर्नु पर्‍यो भने मेरो बुबा-आमाले मसँग होइन, दीपिकासँग पो सल्लाह लिनुहुन्छ ।

दीपिका : उहाँ र मेरो रोजाई फरक छ । उहाँले मिठो मानेर खानेकुरा मलाई मन नपर्न सक्छ । तर त्यसैमा त प्रेम छ नि । आकर्षण पनि त्यही नै हुन्छ । किनभने हामीलाई थाहा छ, दुई विपरित ध्रुवबीच नै आकर्षण हुन्छ ।

विवाहपछि रमाइला क्षणहरु कसरी बिताउनुभयो ?

दिवाकर : हामीले यो अवधिमा धेरैभन्दा धेरै पारिवारिक जमघटहरु गर्‍यौं । दुबै परिवारमा हुने विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा सहभागिता जनायौं । त्यसबाहेक दीपिका र मैले मात्र शान्त रेष्टुराँहरुमा डिनर गर्‍र्यौं । घुम्न गयौं । घरमै बसेर रमाइलो गर्‍यौं ।

दीपिका : हामी एक-अर्कामै रमायौं । रमाइलो गर्नका लागि हामीलाई ठूलो भीडको आवश्यकता नै परेन । पारिवारिक माहौलमै हामी रमाइलो गरिरहन्छौं ।

विवाहपछि कस्ता कुरा बढी गर्नुहुन्छ ?

दीपिकाः भविष्यका योजनाहरुका बारेमा कुरा गर्छौं । बच्चा जन्माउने बारेमा पनि सल्लाह गर्छौं । फिल्म करियरको बारेमा पनि छलफल हुन्छ । साथै हाम्रो परिवारलाई पनि सँग-सँगै कसरी अगाडि बढाउने भन्ने बारेमा कुराकानी गर्छौं ।

बच्चाको बारेमा चाहिँ कस्तो निर्णय लिनुभएको छ त ?

दीपिका : कुराकानी त गरेका छौं । तर, तीन-चार वर्षपछिका लागि । मलाई पहिलो सन्तानको रुपमा छोरी जन्माउने मन छ । जेठी छोरी अनि कान्छो छोरा जन्मियो भने म झन् खुशी हुनेछु ।

दिवाकार : मलाई चाहिँ पहिलो सन्तान छोरा नै होस् जस्तो लागेको छ । किनभने छोरा जन्मिएपछि दोस्रो सन्तान जे जन्मिए पनि फरक पर्दैन । पहिलो सन्तानमै छोरी जन्मिइन् भने दोस्रो सन्तान छोरा नै जन्माउनु पर्ने बाध्यता आइपर्छ । माफ गर्नु होला, म यो विषयमा अलिक रुढीवादी परेँ ।

घरको काम कसले बढी गर्छ ?

दीपिका : मभन्दा त उहाँले नै घरको काम बढी गर्नुहुन्छ । भान्साको काममा त उहाँ अति नै रमाउनु हुन्छ । उहाँले पकाएको चिकेन र मटनको मासु असाध्यै स्वादिलो हुन्छ ।

दिवाकार  : म भान्साप्रेमी व्यक्ति हुँ भन्दा फरक पर्दैन । मलाई घरको काम गरिरहन मनपर्छ । खाना बनाउन त प्रायः मै अघि सर्छु । घरको त कुरै छाडौं, ससुरालीमा गएर पनि मैले आफैंले पकाएको छु ।

एक-अर्काका मनपर्ने-मन नपर्ने बानीहरु के-के छन् ?

दिवाकार : दीपिकाले मलाई अति नै माया गर्छिन, परिवारप्रति जिम्मेवार छिन्, जीवनलाई बुझेकी छिन् । उनका राम्रा बानी त कति हो कति । एउटा बानी चाहिँ मलाई ठिकै लाग्छ, आवश्यकता भन्दा बढी सरसफाईमा ध्यान दिन्छिन् । आफू परियो महाको अल्छि ।

दीपिका : पटक्कै रिसाउनु हुन्न, अभिभावकजस्तो सल्लाह दिनुहुन्छ । आत्मविश्वास क्षमता धेरै छ । हरेक कुरालाई सम्झाउन सक्ने क्षमता छ । तर, सरसफाइको मामलामा भने अलिक बढी नै अल्छि हुनुहुन्छ । जाडोमा नुहाउनका लागि धेरै नै कराउनुपर्छ ।

एक-अर्कामा कसले कसलाई बढी माया गर्छ ?

दीपिका : मैले । विवाहअघि उहाँले बढी गर्नु हुन्थ्यो होला । विवाहपछि त मैले नै उहाँलाई धेरै माया गरेकी छु ।

दिवाकार : मेरो पनि माया त घटेको छैन । अर्को कुरा मलाई माया देखाउने आउँदैन । म उनलाई मायाभन्दा पनि ख्याल धेरै गर्छु ।

भ्यालेन्टाइन डे मनाउने जोडीलाई के सुझाव दिनु हुन्छ ?

दिवाकार : भ्यालेन्टाइन डे भनेको माया गर्ने जोडीहरुको दिन हो जस्तो लाग्छ । यदि एक-आपसमा प्रेम भयो भने यो दिनको महत्व बेग्लै हुन्छ । त्यसैले सबै मायालु जोडीहरुलाई प्रेमलाई अनुभव गर्नुहोस्, यो दिनलाई राम्ररी सेलिब्रेट गर्नुहोस् भन्न चाहन्छु ।

दीपिका :  प्रेमलाई फाइदाको रुपमा हेर्नु हुँदैन । प्रेमलाई स्वार्थ र आवश्यकता पूर्तिको माध्यमको रुपमा मात्र लिनु हुँदैन । जसले चोखो मनदेखि प्रेम गर्छ । उनीहरुका लागि आजको दिनले विशेष अर्थ राख्छ । म सबै प्रेमी-प्रेमिकाहरुलाई यो दिनको शुभकामना दिन चाहन्छु ।

वैवाहिक जीवन सफल बनाउने सूत्र के होला ?

दिवाकर : पहिलो कुरा त समझदारी नै हो । त्यसपछि विश्वास अनि स्वतन्त्रताको कुरा पनि आउँछ ।

दीपिका : वैवाहिक जीवनलाई विश्वासले नै जोडेको हुन्छ । आफ्नो धरातल नबिर्सिकन एक-अर्कालाई विश्वास गरेर अघि बढ्यो भने वैवाहिक जीवन दीर्घायु हुन्छ । अर्को कुरा श्रीमान् अथवा श्रीमतीले पाएको स्वतन्त्रतालाई दुरुपयोग गर्नु हुँदैन, विश्वासलाई तोड्नु हुँदैन ।

नयाँ चलचित्रको योजना के हुँदैछ ?

दिवाकारः हामी आफ्नै ब्यानरबाट नयाँ चलचित्र निर्माण गर्दैछौं-‘तिमीसँगै हुने मन छ ।’ यो चलचित्रलाई मैले नै निर्देशन गर्नेछु भने दीपिका मुख्य अभिनेत्रीको रुपमा प्रस्तुत हुनेछिन् ।

दीपिकाः म पनि यो हाम्रो नयाँ चलचित्रका लागि निकै उत्साहित छु । यो चलचित्रमा मैले आफ्ना अघिल्ला दुई चलचित्रको तुलनामा बिल्कुलै पृथक भूमिका निर्वाह गर्दैछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment