Comments Add Comment

सबै ठूला पार्टीले एक समय हतियार उठाएकै हुन् : प्रचण्ड

२ फागुन, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि नेपालका सबै प्रमुख पार्टीले एक समय हतियार उठाएको बताएका छन् ।

प्रथम शहीद लखन थापाको स्मृति दिवसमा शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले २००७ सालमा, कम्युनिस्टहरुले झापा विद्रोहमा हतियार उठाएको भन्दै २०५२ सालमा आफूहरुले सुरु गरेको सशस्त्र युद्ध त्यसकै पछिल्लो कडी भएको टिप्पणी गरे ।

‘एउटा विचित्रको कुरा के छ भने नेपालमा जति पनि प्रमुख पार्टीहरु छन् उनीहरुले एउटा कालखण्डमा हतियार उठाएकै छन्, नेपाली कांग्रेसले २००७ सालमा हतियार उठाएकै हो, २०२८ सालमा कोअर्डिनेशन केन्द्रको नाममा झापामा क्रान्तिकारी युवाहरुले सशस्त्र बिद्रोह गरेकै हो’ उनले भने ‘त्यही क्रमको पछिल्लो कडीको रुपमा २०५२ सालमा माओवादीको जनयुद्ध उद्घोष भयो, त्यही बिद्रोहको परिणाम आज हामी संघिय लोकतान्त्रिक गणतन्त्रमा छौं ।’

देशमा विकासले चाहे जस्तो गति लिन नसके पनि क्रमश आर्थिक समृद्धितर्फ अघि बढिरहेको उनले बताए ।

‘२००७ सालमा राणा शासन गएर लोकतन्त्र आयो भन्या जस्तो होइन, हामी एकात्मक सासनबाट संघात्मक शासनमा अघि बढेका छौ, पुरानो बाटो भन्दा नयाँ बाटो हिँड्दा केही असहज महसुस हुनु स्वाभाविक हो,’ उनले भने ।

प्रचण्डले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने बताएका छन् ।

‘लखन थापाका सहयोगी जय सिंह चुमीलाई पनि शहिद घोषणा गराउन सकिन्छ, मेरो तर्फबाट यो पहल हुन्छ’ उनले भने । फागुन २ गतेलाई प्रथम शहिद स्मृति दिवस घोषणा गर्न सकिने उनले आश्वासन दिए ।

राणा शासनको दमनविरुद्ध बिद्रोह गरेको भन्दै विं.स. १९३३ साल फागुन २ गते लखन थापा, जय सिंह चुमीसहित पाँच जनालाई जंगबहादुर राणाको आदेशमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

लखन गाउँपालिका–७ बुंकोटको काउले भंगारमा स्थानीयको आयोजनामा लखन थापा मगर तथा उनका सहयोगी जय सिंह चुमी राना मगरको १४३ औ स्मृति दिवस मनाइएको छ ।

जनयुद्धको अन्तिम तयारी गरिरहेका बेला लखन थापा बिद्रोहको बारेमा लेखेको स्मरण गर्दै प्रचण्डले भने, ‘राजतन्त्र र राज्यबाट भएको दमन, विभेद र अपमान बिरुद्ध जनयुद्धको तयारी गोरखामा गरिरहेको थिए, त्यो बेला निरकुंश जहानियाँ शासनविरुद्ध लखन थापाको विद्रोह मैले पढे, आज त्यही ठाउँमा आएर उहाँकै स्मृती सभामा भाग लिन पाउँदा खुशी लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment