Comments Add Comment

प्रधानमन्त्रीको प्रतिप्रश्न : सरकारको काममा चाहिँ नियत किन हेरिन्छ ?

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममा नियत हेर्ने गरिएको गुनासो गरेका छन् ।

कोही वाइ बर्थ डेमोक्र्याट हुने तर आफूहरुले पाइलैपिच्छे आफू लोकतान्त्रिक भएको सर्टिफिकेट नवीकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने हुन नसक्ने उनले बताए । शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालै मात्र केही सम्पादकहरुसँग भएको छलफललाई सम्झिए ।

केही सम्पादकहरुले मलाई प्रश्न गर्नुभयो, हामी त चौथो अङ्ग हौं– क्रिटिकल हुन्छौं । सरकारको खबरदारी गर्छौं । हाम्रो खबरमा ‘नियत’ किन हेरिन्छ ?’ उनलेअघि भने, ‘हेरिन्न । त्यत्तिकै नियतमा किन शंका गर्ने ? चौथो अंग क्रिटिकल हुन पाउँछ, तथ्य आधारित सक्दो क्रिटिकल होओस् ।’

मेरा पनि केही सरोकारवालाहरुसँग यस्तै प्रश्न छन् । मेरो नेतृत्वमा रहेको सरकारले सुरु गरेको काम र गर्न लागेको राष्ट्रिय अभियानमा चाहिँ ‘नियत’ किन हेरिन्छ ?’

वैचारिक पूर्वाग्रहका कारणले सरकारको काममा नियत हेरिएको त होइन भन्ने उनको प्रश्न छ । लोकतन्त्र दलको नाम नभई व्यवहार र आचरण भएको भन्दै उनले भने, अमूक झण्डा र नाम भएकाले कोही ‘सर्टिफाइड/क्लासिफाइड’ लोकतान्त्रिक हुने, कसैले ‘वाइ बर्थ डेमोक्र्याट, अझ यसो भनौं– ‘गर्भे लोकतान्त्रिक’को दर्ज्यानी पाउने, कसैले भने पाइलैपिच्छे आफू लोकतान्त्रिक भएको सर्टिफिकेट नवीकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने जस्तो कुरा हुँदैन । लोकतन्त्रमा दोहोरो मापदण्ड मान्य हुँदैन ।’

कतिपयले आफ्नो सरकारलाई अझै एक किसिमको ‘अनवान्टेड गेष्ट’ जस्तो ठानेको उनको दाबी छ । सरकार कसैको दया मायामा नभई निरन्तरको लोकतान्त्रिक निष्ठा, अनवरत र कठोर संघर्ष, अनि जनताको लोकप्रिय मत, विश्वास र जनादेश हासिल गरी स्थापित भएको उनले बताए ।

उनले सरकारको आलोचना गर्ने शैली बदलिएको पनि सुनाए । पहिले गफ गरेर हुन्छ काम गरेको देखिनु पर्यो नि भन्नेहरुले अहिले ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ भन्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, यस्ता तर्क सुन्दा बेलाबेला विस्मित हुने गर्छु । भनौ कि जस्तो पनि लाग्छ, ठिकै छ अंकमा होइन अनुभूति नै सही । इन्डेक्स होइन, इम्प्रेशनकै कुरा गरौं, के छ इम्प्रेसन ? ’

आफ्नो सरकार बनेको दुई वर्षमा तराईमा शितलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनु नपरेको भन्दै उनले भने, यो अंक मात्रै होइन अनुभूति हो । भर्रखरै राष्ट्रिय सभाको निर्वाचनले पनि जनताको अनुभूति बताएको छ भन्ने लाग्छ ।’

प्रधानमन्त्रीले घोषणाअनुसार काम नभएको, जनताको विश्वास जित्न नसकेको टिप्पणीको प्रतिवाद गरे । सरकारका कामहरुको फेयरिस्त प्रस्तुत गर्दै उनले अंक र आकडामा मात्रै नभई जनताको मन जित्न सफल रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment