News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउडमा दाउद इब्राहिम, छोटा राजन, माया डोलस र मान्या सुर्वेसँग जोडिएका कथामा धेरै फिल्म र वेब सिरिज बनेका छन् ।
- राम गोपाल वर्माले ‘डी कम्पनी’मा दाउद इब्राहिमको सुरुवाती जीवन र डी कम्पनीको उदय देखाएको बताएका छन् ।
- फिल्म पत्रकार र ट्रेन्ड विश्लेषकले ग्याङस्टर–ग्ल्यामर फर्मुला पुरानो भइसकेको र अब दर्शकलाई नयाँ कथा चाहिने बताएका छन् ।
बलिउड र अन्डरवर्ल्डबीचको सम्बन्ध एकदमै रहस्यमयी छ । कतिपय बलिउड सेलिब्रेटीलाई अन्डरवर्ल्डले हरपल थर्कमान बनाइरहेको छ भने कतिपय सेलिब्रेटीको अन्डरवर्ल्डसँग हिमचिम रहेको खबर बेलाबखत आइरहन्छ । एकातिर बलिउड र अन्डरवर्ल्डबीच कडा दुश्मनी रहेको बताइन्छ भने अर्कोतिर कतिपय सिनेमामा अन्डरवर्ल्डकै लगानी रहने गरेको हल्ला पनि हुने गरेको छ ।
त्यसो त, बलिउडले धेरै पटक अन्डरवर्ल्डको कथालाई ग्ल्यामराइज्ड गरेर सिनेमा बजारमा बिक्री गरिसकेको छ भने कतिपय डनको हिरोइजम पनि पेस गरिसकेको छ । यसै सन्दर्भमा बीबीसीमा प्रकाशित यस्तै आलेखको यहाँ भावानुवाद गरिएको छ ।
९० को दशकको कुरा गर्ने हो भने बलिउड सिनेमामा यस्ता कथाहरू देखाइए, जसको पृष्ठभूमि अन्डरवर्ल्ड डन वा उनीहरूले गरेका हमलासँग जोडिएको हुन्थ्यो ।
बलिउडमा अक्सर त्यस्तो ‘आतंक’ देखाइन्थ्यो, जुन वास्तविक जीवनमा डनहरूले दुनियाँलाई देखाउँथे । अन्डरवर्ल्डसँग जोडिएका ठूला डनहरूको कथालाई सिल्भर स्क्रिनमा दर्शकले निकै चाखपूर्वक हेरे ।
अन्डरवर्ल्ड डन दाउद इब्राहिम, ग्याङस्टर छोटा राजन, माया डोलस र मान्या सुर्वेलाई दर्शकले पर्दामा देखिसकेका छन् ।
दाउद इब्राहिमलाई हेर्ने फ्यान्टेसी जति गहिरो छ, त्यति सायद अरू कुनै चरित्रमा छैन । ८० र ९० को दशकमा मुम्बई अनि यसको बन्दरगाहमा अन्डरवर्ल्डको एक किसिमको शासन नै थियो । मुम्बईबाट अन्डरवर्ल्डलाई लखेट्ने सिलसिला सन् १९९३ मा भएको शृङ्खलाबद्ध बम विस्फोटपछि सुरु भएको हो ।
बलिउडमा सोझै वा घुमाउरो तरिकाले निर्देशक अनुराग कश्यपदेखि राम गोपाल वर्मासम्मले दाउद इब्राहिमको चरित्रलाई देखाउने प्रयास गरेका छन् ।
दाउदको चरित्रमा बनेका फिल्म
दाउदको चरित्रमा आधारित फिल्ममध्ये अनुराग कश्यपको ‘ब्ल्याक फ्राइडे’ एक हो । त्यसैगरी, राम गोपाल वर्माको ‘कम्पनी’ र निखिल आडवाणीको ‘डी डे’ पनि यसै विषयसँग जोडिएका फिल्म हुन् ।
मिलन लुथरियाले ‘वान्स अपन अ टाइम इन मुम्बई’मा अन्डरवर्ल्ड डन दाउदको उदयलाई देखाएका छन् । यस फिल्मका साथै ‘हसिना पारकर’ र वेब सिरिज ‘एक थी बेगम’मा पनि दाउदको कथा समेटिएको छ ।
सन् २००२ मा आएको फिल्म ‘कम्पनी’को कथा दाउद इब्राहिमको जीवनमा आधारित थियो । फिल्ममा मुख्य कलाकार अजय देवगन थिए, जसले पर्दामा दाउदसँग मिल्दोजुल्दो चरित्र निभाएका थिए । यही फिल्मबाट विवेक ओबरायले आफ्नो करियर सुरु गरे ।
सन् २०२१ मा फेरि चल्तापुर्जा निर्देशक एवं निर्माता राम गोपाल वर्माले ‘डी कम्पनी’ लिएर आए ।

दाउदको सुरुवाती जीवनको कथा : ‘डी कम्पनी’
आफ्नो फिल्म ‘डी कम्पनी’का सन्दर्भमा कुराकानी गर्दै राम गोपाल वर्माले बीबीसीसँग भनेका छन्, ‘यस फिल्ममा मैले फेरि मुम्बईका ग्याङस्टर दाउद इब्राहिमलाई देखाएको छु ।’
उनी अगाडि थप्छन्, ‘सन् २००२ मा प्रदर्शनमा आएको मेरो फिल्म दाउद इब्राहिम र छोटा राजनको लडाइँमा आधारित थियो । यद्यपि, यस पटक मैले दाउदको सुरुवाती जीवनलाई कोट्याउने प्रयास गरेको छु । फिल्ममा देखाइनेछ कि कसरी दाउद मुम्बईको डन बने र कसरी सुरु भयो उनको डी कम्पनी ?’
बलिउडमा दाउदको जीवनलाई यसरी देखाउनुको औचित्य के हो ?
यस प्रश्नमा राम गोपाल वर्मा भन्छन्, ‘अपराध यस्तो चिज हो, जसले मान्छेलाई सधैँ आकर्षित गरिरहन्छ । तपाईं या त अखबार पढ्नुहोस् वा टिभीमा हेर्नुहोस्, मान्छेलाई अपराधका कुराले बढी तानिरहेका हुन्छन् । जस्तो, कुनै ग्याङ फाइट होस् वा मर्डर मिस्ट्री ।’
उनी फेरि भन्छन्, ‘आजको दुनियाँमा ‘गडफादर’भन्दा बढी लोकप्रिय फिल्म कुनै छैन । दर्शकलाई पट्यारलाग्दो कथा मन पर्दैन । उनीहरूलाई डार्क वा फ्यान्टेसी फिल्म नै मन पर्छ ।’
ग्याङस्टरलाई हिरो जसरी देखाउने उद्देश्य होइन
बलिउडमा अपराधको दुनियाँ र त्यससँग जोडिएका ग्याङस्टरको जीवनलाई अत्यन्तै चमकदार तरिकाले किन देखाइन्छ ?

यसमा राम गोपाल वर्माको जवाफ यस्तो छ, ‘यदि कुनै फिल्ममा हिरोले वाइनको गिलास लिएको वा मारपिट गरेको देखिन्छ भने त्यसलाई गम्भीरतापूर्वक लिन जरुरी छैन । त्यो केवल फिल्ममा मात्र हो । त्यो मनोरञ्जनका लागि मात्र हो ।’
उनी भन्छन्, ‘यदि तपाईं यथार्थपरक सिनेमा हेर्न चाहनुहुन्छ भने त्यसमा तपाईंले पात्रको नकारात्मक पक्ष देख्नुपर्ने हुन्छ । मेरा फिल्ममा पात्रहरू ‘ग्रे’ छन् । चाहे त्यो ‘सत्या’ होस् वा ‘डी कम्पनी’ ।’
राम गोपाल वर्माको तर्क के हो भने उनले आफ्ना फिल्ममार्फत कुनै ग्याङस्टर वा अपराधीलाई नायकका रूपमा उभ्याउने उद्देश्य राखेका छैनन् ।
उनी यस कुरालाई यसरी स्पष्ट पार्छन्, ‘निर्देशकको उद्देश्य कुनै अपराधीलाई हिरो बनाउनु हुनुहुँदैन । उनीहरूले त केवल वास्तविक ग्याङस्टरलाई देखाइरहेका हुन्छन् । मैले आफ्ना सबै फिल्ममा यसै गरेको छु ।’
दाउदलाई पर्दामा कस्तो देख्न चाहन्छन् दर्शक ?
ग्याङस्टर फिल्ममा दाउदको भूमिका चर्चामा आउँदा वरिष्ठ फिल्म पत्रकार अजय ब्रह्मात्मज भन्छन्, ‘ग्याङस्टर दाउदको नामसँगै एउटा रहस्य जोडिएको छ ।’
उनी भन्छन्, ‘दाउदको तस्बिर वा भिडियो धेरैले देखेका छैनन् । उनको एउटा तस्बिर सार्वजनिक भएको छ, जुन धेरै पुरानो हो । कुनै पार्टीका बेला खिचिएको तस्बिर पनि सार्वजनिक भएको छ । त्यसबाहेक अरू खासै केही छैन । त्यसैले मानिसहरूमा दाउद कस्ता छन् भन्ने एक किसिमको रहस्य र जिज्ञासा छ ।’
उनका अनुसार दाउदको आपराधिक गतिविधिकै कारण मानिसहरूको मनमा उनीबारे जिज्ञासा छ । यही कारण पर्दामा उनको कथा बारम्बार बिक्छ ।
अजयको भनाइ के छ भने राम गोपाल वर्माले अपराध र अन्डरवर्ल्डको दुनियाँलाई कर्पोरेट दुनियाँजस्तै गरी प्रस्तुत गरिरहेका छन्, जसले मानिसमा एक किसिमको आकर्षण पैदा गरेको छ ।

पुरानो भयो ग्याङस्टर ग्ल्यामर फर्मुला
फिल्मी कारोबारमा चासो राख्ने केही विशेषज्ञको ठोकुवा छ, अब यस्ता कथाले बक्स अफिसमा कमाल देखाउन सक्दैनन् । फिल्म ट्रेन्ड विश्लेषक अमोद मेहरा भन्छन्, ‘यस्ता सिनेमामा अब नयाँपन बाँकी छैन । दाउद वा अन्य ग्याङस्टरका बारेमा अब कुनै नयाँ रहस्य बाँकी छैन । उदेकलाग्दो कुरा त के भने, हामीसँग राम्रा लेखकको कमी छ र त्यसभन्दा पनि बढी आइडियाको कमी छ ।’
सुरुवाती चरणमा अन्डरवर्ल्ड डनको कथाले काम गर्यो । तर, अब दर्शकलाई नयाँ कुरा चाहिन्छ । निर्देशक एवं निर्माताहरूले गर्ने गल्ती के हो भने पहिले जुन कथा चल्यो, त्यसैलाई दोहोर्याउँछन् । एउटै कथा पटकपटक देखाउँदा दर्शकलाई पट्यारलाग्दो हुन्छ ।
यसका साथै चर्चित स्टारहरू पनि फिल्ममा कुख्यात ग्याङस्टर र अपराधीको भूमिकामा देखिन बढी रुचाउँछन् । चाहे शाहरुख खानको कुरा गरौँ वा अरू कसैको ।
अमोद मेहरा भन्छन्, ‘यदि तपाईं दुर्गन्धित ढल देखाउनुहुन्छ भने कसले हेर्छ ? त्यसैले ग्याङस्टरसँग जोडिएका फिल्ममा पनि ग्ल्यामर देखाउनुपर्छ, जबकि वास्तविकतामा यस्तो हुँदैन ।’
उनी के पनि भन्छन् भने अब ग्याङस्टर र ग्ल्यामरको ककटेलले पनि दर्शकलाई पहिलेझैँ लोभ्याउन सक्ने छैन ।
प्रतिक्रिया 4