Comments Add Comment

राप्ती र नारायणीमा ३ गोही मृत फेला, मानिसले नै मारेको आशंका

नदीहरुमा गोही छोड्दै गए पनि संख्या बढेन

फाइल फोटो

४ फागुन, चितवन । राप्ती र नारायणी नदीमा गत वर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भंगालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो ।

ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अंग पठाइएको छ । उनले भने, ‘मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।’

ती तीनै वटा गोही गत साल नदीमा छाडिएका हुन् । यसअघि यसै वर्ष दुईवटा गोही मरेको अवस्थामा भेटिएका थिए ।

मानिसले मारेको आशंका

संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र सेटेलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशंका समेत गरिएको जनाइएको छ ।

राप्तीमा चारवटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजबाट थालिने निकुञ्जले जनाएको छ ।

ती दुई नदीमा भाले गोही नभएपछि बबहीबाट एउटा भाले गोही ल्याइएको थियो । अनुगमनका क्रममा बबहीबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उनले जानकारी दिए । यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ ।

निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर १२ वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो । तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो । अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए । निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ । नारायणीको भेलौजीमा एउटा डल्फीनसमेत भेटिएको थियो ।

गोहीको संख्या बढेन

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ वटा गोही छाडिसकिएको छ । तीमध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । यस वर्ष यसै महिनाबाट प्रजनन् केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि संख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment