Comments Add Comment

लताकपडामा पुरुष भन्दा महिला ४ गुणा बढी खर्चालु

सामान्यतया हामी गास, बास र कपासलाई अनिवार्य आवश्यकताको रुपमा मान्ने गर्छाैं । तर, यही आवश्यकतालाई महत्वाकांक्षाले घेरेपछि भने समाज बिस्तारै रवाफिलो बन्न थाल्छ । अनि हामीहरु देखाउनकै लागि भएपनि महंगा कपडाहरु लगाउन थाल्छौं ।

पछिल्लो समय काठमाडौं र उपत्यका बाहिरका समेत ठूला ठूला बजारहरुमा नयाँ फेसनको कपडामा लाखौं खर्च गर्नेहरुको जमात बढ्न थालेको छ । विभिन्न स्थानका टेलरिङ सेन्टरका सञ्चालकहरुका अनुसार कुनैपनि कार्यक्रम वा सम्मेलनमा जाँदा सबैभन्दा पहिले कपडाको चर्चा गर्ने परिपाटीका कारण पनि महंगा कपडाहरु किन्ने होड बढ्न थालेको हो । अहिले तीब्र रुपमा महिलाहरुको कपडा सिलाउने टेलरहरु बढ्न थालेको देखिन्छ ।

अहिले काठमाडौंमा दुईतीन हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मको कपडा सिलाउने टेलरिङ सेन्टरहरु रहेका छन् । पछिल्लो समय यस्ता ब्राण्डेड र फेसन अनुसारको कपडा किन्नेहरुको संख्या झनै बढ्न थालेपछि यो क्षेत्रमा धेरैको आकर्षण बढ्न थालेको टेलर सञ्चालकहरुको छाता संगठन नेपाल कपडा व्यापारी तथा टेलरिङ्ग संघले जनाएको छ ।

संघका अनुसार फेसन र कपडाको सौखिनहरुमा पुरुषभन्दा महिलाहरु तीनचार गुणा बढी हुने गर्छन् । विशेषगरी कूल महिला सेवाग्राहीहरु मध्ये २० देखि ३० प्रतिशत महिलाहरुले वर्षेनी महंगा कपडाहरु लगाउने गर्छन् । यसमध्ये उच्च आर्थिक स्थिति भएकाहरुले नियमित रुपमा ४० हजारभन्दा धेरै पर्ने लेहेंगा लयायतका कपडाहरु खरिद गर्ने गरेको संघले जनाएको छ । मध्यम वर्गीय महिलाहरुले पनि यस्तो महंगा कपडाहरु किन्ने गर्छन् । तर, उनीहरु नियमितभन्दा पनि विशेष समारोहको अवसरमा यस्ता कपडाहरु खरिद गर्ने गरेको संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार अहिले बजारमा आएका धेरै महंगा कपडाको ब्राण्डहरुमा सिफोन, जर्जेट, रसिद आदि रहेका छन् । यस्ता कपडाहरु उच्च पदस्थ व्यक्तिको परिवार र धेरै फेसनेवल मानिसहरुले लगाउने गर्छन् ।

अहिले बजारमा रहेका मध्ये रेमण्ड, डिग्जाम, जग्जियो गुलामी, इटालियन जस्ता महंगो ब्राण्डका सुटका पनि धेरै बिक्री हुने गर्छ । त्यस्तै, टेरियोल ब्राण्डको कपडा उच्च पदस्थ व्यक्तिहरुले धेरै मनपराउने गरेका छन् । त्यो भन्दा अलिक सस्तो पर्ने टिआरएएल ब्राण्डको कपडाहरु मध्यम वर्गीय व्यक्तिहरुले लगाउने गर्छन् ।

त्यस्तै, अहिले उच्च पदस्थ व्यक्तिहरुले धेरै अल्लोको कोट लगाउने गरेका छन् । यसको बजार मूल्य अहिले १० हजारको हाराहारीमा छ । विशेषगरी पूर्वमा संखुवासभा, भोजपुर, पाँचथर आदि जिल्लाबाट पाइने अल्लोलाई प्रशोधन गरेर यस्तो कपडा बनाइन्छ ।

महिलाहरुको फेसन सर्पको काँचुलीजस्तो फेरिरहने

जसरी सर्पले समय समयमा आफ्नो काँचुली फेर्छ । त्यसैगरी नेपालमा पनि महिलाहरुको फेसनले छिटो छिटो परिवर्तन भोग्ने गरेको संघले जनाएको छ । सामान्यतया पुरुषहरुले वर्षको २ पटक नयाँ कपडा सिलाउने गर्छन् । संघ अन्तर्गत्का टेलरहरुमा आउने ग्राहकको आधारमा कुरा गर्दा महिलाहरुले भने एक वर्षमा ८ पटकसम्म नयाँ कपडा किन्ने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार अहिले सामान्यतया १५ हजार रुपैयाँदेखि ५० हजारसम्मको एउटै कपडा बजारमा पाइन्छ । सुट सेटको मूल्य त त्योभन्दा पनि धेरैको छ । ‘कपडामा आकर्षण धेरै छ । त्यसमा पनि महिलाहरुमा झनै धेरै रहेको देखिन्छ ।’ श्रेष्ठ भन्छन् ‘फेसनको हिसाबले पनि पुरुषहरु सामान्यतया फेसन रहित सामान्य कपडा लगाउन इच्छा राख्छन् । तर, महिलाहरुको फेसन भने दुईदेखि तीन महिनाको बीचमा परिवर्तन हुने गरेको छ ।’

भारतीय टेलिसिरियल हेरेर नयाँ फेसनको सुरुवात

उनका अनुसार भारतीय टेलिसिरियल वा फिल्मबाट नेपालमा धेरै कपडाको फेसनहरु परिवर्तन हुनेगर्छ । कतिपयले त मोबाइलमा फोटो ल्याएर वा कतिपयले ब्राण्डको नामबाट पनि नयाँ फेसनको कपडा सिलाउन दिनेगरेको संघ बताउँछ । नेपालमा कपडाको धेरै प्रभाव भारतबाट नै पर्ने गरेको उनको बुझाई छ । यसबाहेक विदेशबाट आयात हुने तयारी पोषाकको कारण पनि नयाँ फेसन स्थापित हुने उनीहरुको बुझाई छ ।

तयारी कपडाको आयात बढ्दै

नेपालमा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा भारतबाट मात्रै ४ अर्ब ६ करोड रुपैयाँको तयारी पोषाक आयात भयो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको यही समयमा नेपालमा ३ अर्ब ८६ करोड रुपैयाँको तयारी पोषाक आयात भएको थियो ।

यही समयमा चीनबाट ४४ करोड ७८ लाखको तयारी पोषाक आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष यही समयमा चीनबाट ५६ करोड रुपैयाँको तयारी पोषाक आयात भएको थियो ।

माथि उल्लेख गरिएको तथ्यांक औपचारिक तबरवाट नेपाल भित्रिएको तयारी कपडाको तथ्यांक हो । यसबाहेक पनि धेरै कपडाहरु अनौपचारिक तवरबाट पनि भित्र आउने गरेको छ । त्यो सहित तथ्यांक जोड्दा यसको तथ्यांक झनै भयावह हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment