
चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन छ । भट्टराईको निधनपछि बोर्डमा को आउने हो भन्ने विषयमा चलचित्र क्षेत्रमा चासो र चर्चा छ ।
अध्यक्षमा हाल अभिनेता भुवन केसी र निर्देशक दयाराम दाहालको नाम चर्चामा छ । केही समय अघिसम्म नायक राजेश हमालको समेत नाम बोर्ड अध्यक्षका लागि चर्चामा रहेपनि अध्यक्षमा आफूलाई इच्छा नभएको भन्दै हमाल पन्छिसकेका छन् । राजेश पछि हट्नेबित्तिकै भुवन केसी र दयाराम दाहालमध्ये एक जना अध्यक्ष हुने चर्चा छ ।
आइतबार ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा आफ्नो कथा सुनाउन आएका राजेशल विकास बोर्ड अध्यक्षका विषयमा प्रश्न सामना गर्नुपर्यो । त्यस क्रममा उनले आफूलाई रुचि नभएको भन्दै पन्छिन खोजे । हमालले निवर्तमान अध्यक्ष केशव भट्टराईसँग काम गरेको कोही व्यक्तिलाई अध्यक्ष बनाउँदा उपयुक्त हुने बताए ।
‘चलचित्र विकास बोर्डमा त्यो व्यक्ति जानुपर्छ जसले चलचित्र क्षेत्रलाई बुझेको होस् । अझ मेरो विचारमा केशवजीसँग नजिक भएर काम गरेको व्यक्ति बोर्डमा आउनुभयो भने उहाँले केशवजीको भिजन, योजनाहरुलाई नजिकबाट नियाल्नुभएको हुन्छ । त्यसैले उहाँसँग सदस्य भएर काम गरेको व्यक्ति आउनुभयो भने राम्रो लाग्छ’ उनले भने ।
राजेशले घुमाउरो पारामा विकास बोर्डमा दायाराम दाहाल आउनुपर्छ भन्ने आशय व्यक्त गरेका छन् । दयाराम अहिलेको लागि बिकास बोर्ड सदस्य हुन् । राजेशले नाम नलिए पनि दयारामलाई नै विकास बोर्ड अध्यक्षको लागि सिफारिस गरेका त होइनन् भन्ने प्रश्न सुरु भएको छ ।
प्रतिक्रिया 4