Comments Add Comment

ग्यास तथा पेट्रोलियम पाइपलाइनको अध्ययन गर्न बनाइयो ४ समिति

५ फागुन, काठमाडौं । पेट्रोलियम तथा प्राकृतिक ग्यास पाइपलाइनका विभिन्न परियोजना अगाडि बढाउन नेपाल आयल निगमले चार वटा प्राविधिक समिति गठन गरेको छ ।

भारतीय आयल निगमले बनाउने प्राविधिक टोलीसँगै रहेर काम गर्नेगरी उक्त चार समिति गठन गरिएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन बिस्तार, सिलुगडी-चारआली पेट्रोलियम पाइपलाइन, अमलेखगञ्ज डिपो स्तरोन्नति तथा रुपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनबारे अध्ययन गर्न निगमले समिति बनाएको हो ।

केही आयोजनाको सम्भाव्यता तथा केहीको विस्तृत इन्जिनियरिङ अध्ययन पुरा गरेर निर्माण चरणमा जानका लागि नेपाल-भारतबीच संयुक्त प्राविधिक टोली बनाउन भएको सहमति बमोजिम नेपालतर्फको टोली गठन गरेको निगमका प्रमुख कार्यकारी पौडेलले बताए ।

सिलुगडी चारआली परियोजनाको सम्भाव्यता अध्ययनका लागि निगमका आपूर्ति तथा वितरण विभाग प्रमुख निर्देशक वीरेन्द्र गोईत, अमलेखगन्ज लोथर पेट्रोलियम पाईपलाईन विस्तृत ईन्जिनियरिङ अध्ययनका लागि निगमका परियोजना ईन्जिनियरिङ तथा सूचना प्रविधि विभाग प्रमुख निर्देशक पूर्णप्रसाद रिजाल, अमलेखगञ्ज डिपोको दोस्रो चरणको स्तारोन्नति तथा विस्तार परियोजनाको लागि निगमका एलपीजी विभाग प्रमुख निर्देशक दिपक बराल तथा रुपन्देहीसम्म प्राकृतिक ग्यास परियोजनाका लागि निगमको गुणस्तर तथा अनुगमन विभाग प्रमुख एवम् निर्देशक करुणा क्षेत्रीको नेतृत्वमा समिति गठन गरिएको निगमले जनाएको छ ।

नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालका विभिन्न परियोजना अगाडि बढाउन नेपाल र भारतबीच संयुक्त प्राविधिक टोली बनाउन भएको सहमति बमोजिम प्राविधिक टोली गठन गरिएको निगमले जनाएको छ ।

‘निगमले बनाएको टोलीमा थप चार देखी पाँच जनासम्म प्रविधिकहरु थप हुने तथा नेपाली टोलीमा रहेर सहकार्य गर्नेगरी भारतीय आयल निगमले पनि टोली बनाउने छ,’ निगमका प्रमुख कार्याकारी निर्देशक पौडेलले भने ।

प्राविधिक समितिको पहिलो बैठक यसैहप्ता काठमाडौंमा बस्ने र उक्त मितिले ४५ दिन भित्र परियोजनाको अध्ययन रिपोर्ट एनओसी र आईओसीलाई बुझाउने गरी काम थाल्ने निगमले जनाएको छ ।

गत पुष २७ र २८ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको पहिलो नेपाल भारत वाणिज्य सचिवस्तरीय पेट्रोल तथा ग्यास जोईन्ट वर्किङ ग्रुपको बैठकमा संयुक्त प्राविधिक समिति बनाउने सहमति भएको थियो ।

प्राविधिक समितिको प्रतिवेदन तयार भएपछि मात्रै कुन परियोजना कसरी अघि बढाउने भन्नेबारे निर्णय लिने निगमको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment