Comments Add Comment

पशुपतिमा हाइटेक जोगी : वाइफाई नचल्दा बोर भो !

इन्टरनेट भएपछि नारदजीको के काम ?

८ फागुन, काठमाडौं । शिवरात्री मनाउन भारतबाट आएका साधक मार्कण्डेयप्रसाद सहनीलाई पशुपति क्षेत्रमा वाइफाई नहुँदा चिन्ता लागेको छ । नेट चलेको भए मोबाइलमा भुलिन सजिलो हुने उनको भनाइ छ ।

शिवरात्रीका लागि यी बाबाजी अयोध्यादेखि पशुपतिनाथ आएका हुन् । हामीले पशुपतिमा भेटेर उनीसँग एकैछिन कुराकानी गर्‍यौं । बाबाजीले प्रविधिको बारेमा हिन्दी भाषामा धाराप्रवाह कुरा सुरु गरे ।

प्रविधिभित्र नै असल तत्व र खराब तत्व रहेको भन्दै आफूले असल तत्वलाई आत्मसाथ गर्दै खराब तत्वलाई बेवास्ता गर्ने गरेको बाबाजीले सुनाए । उनले ह्वाट्सएप र युट्युब चलाउने गरेको सुनाए ।

‘आजको युगमा धेरै ज्ञान हासिल गर्नका लागि यो माध्यम अपनाउनु सामान्य हो । मैले चर्चित गुरुहरुको उपदेश यही मोबाइलबाट सुन्ने गरेको छु,’ जियो मोबाइल देखाउँदै बाबाजी भन्छन् ‘अहिले किन हो कुन्नि, चलेको छैन । नत्र यहाँ पनि मेरो दिन यसैमा बित्ने थियो होला ।’

भस्मेश्वर घाटबाट मृगस्थली जाने बाटैमा भकाभक रुख काटिरहेका एक साधुलाई रुख नकाट्न आदेश दिने आँट त्यहाँ कसैको पनि थिएन । त्यहाँ रहेका तीन साधुमध्ये एकले आफू वाराणसीबाट आएको र आफ्नो नाम हरिदास रहेको सुनाए ।

बाबा हरिदासचाहिँ ह्वाट्सएपका क्रेजी रहेछन् । उनी पनि पछिल्लो तीन दिनदेखि ह्वाट्सएप चलाउन नपाएर एक्लो बनेका छन् । उनलाई फेसबुक चलाउन भने आउँदैन ।

ह्वाट्स एपमा आफ्नो र सबै साधुहरुको तस्वीर पठाइदिन अनलाइनखबरकर्मीलाई आग्रह गर्दै काटेको रुख बोकेर आफ्नो बन्दोबस्तीतिर लागे हरिदासजी ।

इन्टरनेट भएपछि नारदजीको के काम ?

यो भौतिक दुनियाँलाई जित्ने प्रयासमा लागेका र आफूलाई परब्रह्म परमात्माको साथमा लैजानका लागि प्रयासरत साधुहरु आधुनिक दुनियाँलाई भौतिक संसारमा नै भुलाउने प्रविधिहरुसँग कत्तिको जानकार होलान् ? यो प्रश्नको खोजी गर्न हामी शिवरात्रि मनाउन भारतबाट पशुपति आएका साधुहरुलाई भेट्न पुगेका थियौं ।

कुनै जमानाको जस्तो महिनौं लगाएर आफ्नो सन्देश पठाउने दिनहरु अब सकिएका छन् । एक ऋषिको कुरा अर्काे ऋषिसम्म पुर्‍याउने महर्षि नारदको आवश्यकता अब रहेन । ती सबै काम एउटै मोबाइलको डिभाइसले गर्न थालेको छ ।

प्रविधिको क्रान्तिको प्रभाव यतिसम्म अघि बढिसक्यो कि साधुहरुले समेत अब ह्वाट्सएपमा आफ्नो फोटो माग्न थालेका छन् हिजोआज साधुसन्तहरुलाई ज्ञानको सञ्चार गर्नको लागि महर्षि नारदको आवश्यकता छैन । प्रविधिको विकाससँगै यसले सबै तह र तप्काका मानिसहरुलाई यसले समेट्ने गरेको छ । यसैको कसीमा परेका छन् साधु एवं सन्यासीहरु ।

पशुपतिमा आएका धेरै साधुको साथमा मोबाइल पाउन सकिन्छ । भारतमा जियो मोबाइलले सस्तोमा युट्युब र ह्वाट्स एप चल्ने मोबाइल दिने गरेकोले धेरैले त्यस्तै मोबाइलहरु बोक्ने गरेका छन् । धेरै चाहिँ ह्वाट्सएपका प्रयोगकर्ताहरु समेत भेटिए ।

अर्काेतिर दिव्य स्वरुप ब्रह्मचारी जस्ता साधुहरुको संख्या पनि धेरै छ । भारतको फतेहपुरबाट आएका उनको साथमा सामान्य किसिमको मोबाइल छ । उनी सुनाउँछन् स्क्रिनटच मोबाइल चलाउन पनि मन त लागेको छ । तर, अरुसँग मागेर चलाउन मन छैन । उनी आफूलाई लाल (रातो) र हरा (हरियो) थिच्न बाहेक अरु कुरा नआउने बताए ।

नेपाल सरकारले शिवरात्रिलाई पनि भ्रमण वर्षको प्रचारसँग जोड्ने बनाइरहेको छ । तर, पशुपतिमा आएका बाबाजीहरुका लागि फोटो र भिडियो पठाउन वा अपलोड गर्न सक्ने गरी वाईफाई सेवा सुलभ गरिदिएको भए भ्रमण वर्षको प्रचार अझ द्रुत गतिमा हुन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment