+
+
Shares
अडियो प्रकरणको भित्रीकथा :

१६ महिनाअघिको अडियो, जसले मन्त्री बास्कोटालाई राजीनामा गरायो

अडियो ‘लिक’ गर्ने विजय मिश्र भन्छन्– राज्यको ढुकुटी बचाएँ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १८:१९

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया सुरु गरेसँगै निवर्तमान सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा विवादमा तानिएका थिए । तर, यही विवादले मन्त्री पद जाला भन्ने न उनले सोचेका थिए, न अरुले ।

बरु जसले जे भने पनि सरकारले सेक्युरिटी प्रेस जोसँग किन्न चाहेको छ, त्यहीँबाट लिन्छ भन्ने धेरैको अनुमान थियो । त्यसो पनि भएन ।

बुधबार साँझ सार्वजनिक भएको २ मिनेट ३० सेकेण्डको एउटा अडियो सम्वादले मन्त्री बास्कोटाको पद नै गएको छ ।

अडियोको वृतान्त

यो अडियो सञ्चार मन्त्री बास्कोटा र स्वीस कम्पनीका एजेन्ट विजय मिश्रको हो ।

अडियोमा मिश्र भन्छन्, १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ । त्यसमा उनीहरु, स्वीस एम्बेसीले आउने हो, तपाईहरुले बोलाएर आउने होइन । सकेसम्म एमओयू गर्ने हो कि भन्ने उ गर्नु भएको छ । उसले तपाईहरुको कार्यक्रमबारे उमेश दाइले चाहिँ छुट्टै छलफल गर्न चाहेको छ । तपाईले टाइम मिलाइदिनुपर्‍यो । अनि उसका लागि आउट अफ ट्राक जाने कि तपाईले भने अनुसार नै जाने, ल भन्नुस् ।

यसअघि अँ–अँ मात्र भनेका सञ्चारमन्त्री बास्कोटा बोल्छन्, अब क्यापासिटीको कुरा ….

विजय– कुरा चाहिँ मैले राखेको छु उनीहरुलाई ।

बास्कोटा सोध्छन्– उनीहरुले नर्मलमा ५० भन्या ? उनीहरुलाई कति निकाल्छन् ?

विजय– यसमा टोटल पर्सेन्टेजमा आउने हो ।

बास्कोटा– कति निस्कन्छ, त्यो हेरौं न ।

विजय– त्यहाँ केही न केही त भइराखेको छ, त्यही बेसमा जाने हो हामी त । मेनिस उनीहरुकै ल्याउने भएपछि अर्कोले पनि उनीहरुको भन्दा अलि बढी हालेको होला । यसमा केही छैन, बेसचाहिँ तपाईहरुकै उसमा जाने हो हामी ।

बास्कोटा– अब सकेसम्म २५/२७ अर्बमा सक्न पाए हुन्थ्यो भन्ने लागेको छ । मान्नुस्, २५ निस्कियो भने कति आउँछ ?

मिश्र– ७० जत्ति आउँछ कि । आउट अफ ट्र्याकमा जाँदा ६० देखि ७० को हाराहारीमा …।

बास्कोटा– तपाईलाई के गर्छन् ?

मिश्र– टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा हामीले ७० प्रतिशत तपाईहरुलाई दिने, ३० प्रतिशत हामीले राख्ने हो । यसमा एकदम ट्रान्सपरेन्ट हुन्छ ।

बास्कोटा– कति हुन्छ ?

मिश्र– तपाईहरुलाई ५४/५५ आउने हो । १५/१६ हामीलाई । हामीले पनि त हैन… ।

त्यसपछि बास्कोटाले मु… कर्मचारी भन्दै अश्लील बोल्छन्, र उनीहरुसँग कुरा नगर्न मिश्रलाई आग्रह गर्छन् । प्रस्ताव बनाउनेतर्फ संकेत गर्दै उनले ३५ अर्बको प्रस्ताव बनाउनेलाई २७ मा झार्न सकिन्छ भने २८ बनाउँ भन्छन् ।

करिब २ मिनेट ३० को यो अडियोका आधारमा धेरै कुरा अनुमान गर्न गाह्रो हुन्छ । तर, स्वीस कम्पनीका एजेन्टले आफ्नो कम्पनीबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गरेमा ५४/५५ करोड कमिसन दिने प्रस्ताव राखेको र बास्कोटाले स्वीकार गरेको बुझिन्छ ।

मिश्रका अनुसार यो कुराकानी सञ्चार तथा प्रविधि मन्त्रालयमा नै भएको हो, त्यो पनि करिव १६ महिना पहिले ।

मिश्र स्वीस कम्पनी ‘केबीए नोटा सिस’का एजेन्ट हुन् र आफ्नो कम्पनीको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गराउन चाहन्थे । त्यसबेला नै उनले बास्कोटासँग भएको कुराकानीको अडियो रेकर्ड गरेका रहेछन् ।

यो १६ महिनाको अवधिमा धेरै कुरा फेरियो । यहीवीचमा बास्कोटाले फ्रान्स र जर्मनमध्ये एक कम्पनीबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराए । र, मन्त्रिपरिषदले सार्वजनिक खरिद ऐनअनुसार उपयुक्त प्रस्ताव छान्ने जिम्मा बास्कोटालाई नै दिने निर्णय गर्‍यो ।

तर, बास्कोटाले निर्णय गर्न नपाउँदै ५/६ अर्बको चलखेल भएको भन्दै संसदको सार्वजनिक लेखा समितिमा उजुरी पर्‍यो । र, तिनै मिश्रलाई विज्ञका रुपमा समितिमा उपस्थित गराइयो ।

तर, बुधबार घटनामा एकाएक नयाँ ‘ट्वीस्ट’ अर्थात् नाटकीय मोड आयो ।

लेखा समितिले विहीबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाउन दिने तयारी गरेको सूचना पाएपछि मिश्रले बुधबार साँझ नै १६ महिना पुरानो अडियो ‘लिक’ गरिदिए ।

कमिसनको डिल गरेको अडियो सञ्चारकर्मीहरुको हातमा पुगेपछि मन्त्री बास्कोटा अप्ठ्यारोमा परे । र, बिहीबार बिहानसम्म कञ्चनपुरबाट नखाएको विष लाग्दैन भन्ने प्रतिक्रिया दिएका मन्त्री बास्कोटा एक दिन पनि टिक्न सकेनन् । उनले काठमाडौं आइनपुग्दै राजीनामा दिनुपर्‍यो ।

बास्कोटा विमान चढेर काठमाडौं नआइपुग्दै उनले राजीनामा दिएको अनौपचारिक घोषणा सभामुख अग्नि सापकोटाले संसदमा गरिदिए ।

र, सभामुखको घोषणापछि बल्ल बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका मन्त्री बास्कोटाले ट्विटरमार्फत राजीनामा दिएको घोषणा गरे ।

के भन्छन् त मिश्र ?

अडियोमा मन्त्रीसँग सम्वाद गर्नेमध्येमा मिश्रले बास्कोटासँग कमिसनको कुराकानी भएको स्वीकार गरेका छन् । अहिले राज्यलाई ५ अर्ब ७८ करोड घाटा हुने गरी फ्रान्सेली कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ प्रेसको जिम्मेवारी दिने तयारी गरेपछि राज्यलाई क्षति हुनबाट बचाउन अडियो सार्वजनिक गरेको उनको तर्क छ ।

आफ्नो स्वीस कम्पनीको सेक्युरिटी प्रिन्टिङ प्रेस भिडाउन नपाएको झाेंकमा तपाईले अडियो सार्वजनिक गरेको हो भन्ने प्रश्नमा मिश्र भन्छन्, ‘अहिले त्यो कम्पनी रेसबाट आउट भइसक्यो । मैले पनि कम्पनी छाडिसकेँ ।’

मिश्र अगाडि भन्छन्, ‘बिहीबार लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि बढाउन निर्देशन दिन्छ भन्ने थाहा पाएपछि जनतालाई मन्त्रीको नियतबारे थाहा हुनुपर्छ भनेर बुधबार अडियो बाहिर ल्याएको हुँ ।’

हिजो आफूसँग २७ अर्बको परियोजना २८ अर्बको बनाएर ल्याउनुस् भनेका मन्त्रीले फ्रान्सको कम्पनीसँग पनि त्यहीखालको डिल गरेको जनताबाट नछिपोस् भनेर अडियो सार्वजनिक गरेको मिश्रको दाबी छ ।

‘जीटूजीमा भ्रष्टाचार हुँदैन भन्ने तर्क गरिन्छ, तर त्यसो होइन भन्ने बुझ्न पनि यो अडियो काफी छ’ उनको तर्क छ, ‘यसमा मन्त्रीलाई मात्रै दोष दिन्न, सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशक विकल पौडेलको यसमा ठूलो चलखेल छ ।’

पौडेलले बास्कोटालाई ‘मिसगाइड’ गर्ने गरेको मिश्रको दाबी छ । प्रेस खरिदका लागि टेन्डर होस् भने आशय राखे पनि मन्त्रीले प्रक्रियामा जान नचाहेको र अनियमितता हुन लागेकाले आफूले राज्यको ढुकुटी बचाएको मिश्रले जिकिर गरे ।

तपाईले यो अडियो सुनाउन प्रधानमन्त्रीलाई पनि भेट्नुभएको हो त ? भन्ने प्रश्नमा मिश्रले अनलाइनखबरसँग भने, ‘भेटियो होला, एउटा नेपालीले आफ्नो प्रधानमन्त्रीलाई भेट्नु कुरा ठूलो कुरा भयो र ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?