
१० फागुन, झापा । पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा प्रहरीले निगरानी बढाएपछि फ्ल्याट नै भाडामा लिएर यौन धन्दा सञ्चालन गर्न थालिएको छ ।
मेचीनगर नगरपालिका–७, प्यारीभिट्टामा चार तले घर भाडामा लिएर यौनजन्य गतिविधि चलाउने गरेको भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार यसमा संलग्न तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर–६ का ४८ वर्षीय सूर्य भनिने श्यामप्रसाद शिवकोटी, ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मोरङ घर भइ मेचीनगर बस्दै आएका ४४ वर्षीय तुलसी कट्टेल छन् ।
कोइरालाका अनुसार यौनजन्य गतिविधिविरुद्ध निगरानी बढाउने क्रममा इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको टोलीले २० र २१ वर्षकी दुई जना महिलालाई शंकास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछका क्रममा उनीहरुले आफ्नो घर भक्तपुर र मोरङ भएको बताएका थिए ।
उनीहरुमार्फत प्रहरी यौनधन्दा सञ्चालन भइरहेको फ्ल्याटसम्म पुगेको जनाइएको छ । यो समूहले युवतीहरुलाई अन्य विभिन्न होटलमा पनि पठाउने गरेको पाइएको कोइराला बताउँछन् ।
युवतीहरुमाथि शारीरिक र मानसिक यातना पनि दिइने गरिएको प्रहरी दाबी छ ।
पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार जिल्ला अदालत, झापाबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4