Comments Add Comment

अमेरिकी राष्ट्रपति भवनलाई किन भनिन्छ ह्वाइट हाउस ? यस्तो छ इतिहास

जुनसुकै देशमा पनि राष्ट्रपतिको कार्यालय तथा आवास विशेष नहुने कुरै भएन । हामीकहाँ राष्ट्रपति भवनलाई शितल निवास भनिन्छ । त्यस्तै अमेरिकामा ह्वाइट हाउसको नामले चिनिन्छ ।

के अमेरिकी राष्ट्रपति भवनको रङ सेतो भएका कारण यसलाई ह्वाइट हाउस अर्थात् सेतो घर भनिएको हो त ? यो जिज्ञासा सबैलाई हुन सक्दछ । तर यथार्थ के हो भने अमेरिकी राष्ट्रपति भवनको पहिलेको नाम ह्वाइट हाउस नै थिएन ।

यो भवन बनिसकेपछि यसको सुरुको नाम प्रेसिडेन्ट्स प्यालेस अर्थात् प्रेसिडेन्ट मेन्सन राखिएको थियो ।

पछि यसको नाम ह्वाइट हाउस राखियो । यसरी नामाकरण गरिनुको पनि ११८ वर्षको इतिहास रहेको छ ।

ह्वाइट हाउस केवल अमेरिकी राष्ट्रपतिको निवास मात्र होइन, अमेरिकाको इतिहासको विरासतको उत्कृष्ट नमूना पनि हो ।

ह्वाइट हाउसभित्र ती सबै सेवा सुविधाहरु उपलब्ध छन् जो कुनै पनि शक्तिशाली देशसँग रहने अपेक्षा गरिन्छ । ह्वाइट हाउसभित्र एउटा बंकर पनि रहेको छ । कुनै बाह्य खतरा वा समस्या पैदा हुँदा अमेरिकी राष्ट्रपतिले आफ्नो परिवारसहित उक्त बंकरमा आश्रय लिन सक्दछन् ।

आयरल्याण्डमा जन्मिएका जेम्स होबनले ह्वाइटहाउसको डिजाइन गरेका थिए । यसको निर्माण सन् १७९२ मा सुरु भइ १८०० मा सम्पन्न भएको थियो । आज ह्वाइट हाउस भएको ठाउँमा त्यसअघि घना जंगल तथा पहाड थियो ।

ह्वाइट हाउसको भवनमा १३२ कोठा छन् । त्यसका अलावा ३५ बाथरुम, ४१२ ढोका, १४७ झ्याल, ८ सिँढी र ३ वटा लिफ्ट उक्त भवनमा रहेका छन् ।

६ तले यो भवनमा दुई तला भूमिगत छन् भने दुईवटा तला सार्वजनिक प्रयोजनका लागि र बाँकी तला अमेरिकी राष्ट्रपतिको निजी प्रयोजनका लागि रहेका छन् ।

ह्वाइट हाउसमा पाँचजना फूलटाइम शेफहरुले काम गर्दछन् जसले भवनभित्र दैनिक रुपमा १ सय ४० जनालाई डिनरको बन्दोबस्त गर्दछन् ।

ह्वाइट हाउसको बाहिरी भित्ता पेन्ट गर्नका लागि ५ सय ७० ग्यालन रङको आवश्यकता पर्दछ ।

अमेरिकी राष्ट्रपति भवनको नाम ह्वाइट हाउस राखिनुका पछाडि एउटा यथार्थ घटना कारक तत्वको रुपमा रहेको छ । सन् १८१४ मा बेलायती सेनाले वाशिंटन डिसीका धेरै ठाउँमा आगजनी गर्‍यो । त्यसक्रममा अहिलेको ह्वाइट हाउसमा पनि आगो लगाइएको थियो ।

आगलागीबाट उक्त भवनमा ठूलो क्षति पुग्यो र बाहिरी भित्ताहरु निकै कुरुप भए । त्यसपछि भवनको जिर्णोद्दार गरी भवनको भित्तालाई आकर्षक बनाउनका लगि सेतो रङ पोतियो । त्यसपछि नै उक्त भवनको नाम ह्वाइट हाउस राखियो ।

आधिकारिक रुपमा सन् १९०१ मा तत्कालीन अमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्टले आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति भवनको नाम ह्वाइट हाउस राखेका हुन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment