+
+
Shares

इरानलाई सहयोग गर्ने देशले गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक दबाब अभियान चलाउने संकेत

ट्रम्पको पछिल्लो चेतावनी इरानमा मात्र सीमित नभई उससँग आर्थिक सम्बन्ध कायम राख्ने देश, कम्पनी र संस्थातर्फ समेत लक्षित देखिएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते ८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक सहयोग गर्ने देश, कम्पनी वा संस्थाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
  • उनले ट्रुथ सोसलमार्फत तेल तस्करी, वित्तीय कारोबार र नगद स्थानान्तरणलगायत इरानसम्बन्धी गतिविधिमा अमेरिकी निगरानी बढ्ने बताएका छन् ।
  • ट्रम्पले इरानलाई सम्झौताका धेरै अवसर दिएको दाबी गर्दै अब अन्तर्राष्ट्रिय आर्थिक अलगाव र थप दबाब बढाइने बताएका छन् ।

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

उनले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक दबाब अभियान अघि बढाउने संकेत गर्दै त्यसमा सहयोग गर्ने कुनै पनि देश, कम्पनी वा संस्थालाई नछाडिने बताएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशमाथि अमेरिकी कारबाही हुने चेतावनी दिएका हुन् ।

उनका अनुसार कुनै देशका वित्तीय संस्था, कम्पनी, विमानस्थल वा सरकारी निकायले इरानका लागि सहयोगको बाटो खुला गरेमा ती संस्थाले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।

यद्यपि ट्रम्पले आफ्नो चेतावनीमा कुनै देशको नाम भने उल्लेख गरेका छैनन् । इरानलाई सहयोग गर्ने देश, कम्पनी वा वित्तीय संस्थाविरुद्ध अमेरिकाले कस्तो कारबाही गर्ने भन्ने पनि उनले स्पष्ट पारेका छैनन् ।

तेल तस्करीदेखि वित्तीय कारोबारसम्म निगरानी

ट्रम्पले इरानलाई सहयोग पुग्ने विभिन्न आर्थिक गतिविधिमाथि अमेरिकी निगरानी केन्द्रित हुने बताएका छन् ।

यसमा तेल तस्करी, वित्तीय कारोबार, नगद रकमको स्थानान्तरण, एक्सचेन्ज हाउस, पानीजहाजको दर्ता तथा अन्य कम्पनीको नाममा हुने कारोबारलगायत विषय समेटिएका छन् ।

इरानसम्म पुग्ने यस्ता सबै प्रकारका आर्थिक सहयोग तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।

इरानका लागि आर्थिक गतिविधिको बाटो खुला राख्ने जुनसुकै देश वा संस्थामाथि अमेरिकाको निगरानी रहने उनले स्पष्ट पारेका छन् ।

इरानलाई सम्झौताको धेरै अवसर दिएको ट्रम्पको दाबी

ट्रम्पले आफ्नो प्रशासनले इरानलाई सम्झौतामा आउन पटक–पटक अवसर दिएको दाबी गरेका छन् । तर, ती अवसर इरानले स्वीकार नगरेकाले अब आर्थिक दबाब थप बढाउने निर्णयमा अमेरिका पुगेको उनको भनाइ छ ।

उनले अमेरिकाले अघि बढाउन लागेको अभियानलाई ‘अभूतपूर्व स्तरको आर्थिक लडाइँ’ तथा इरानको अन्तर्राष्ट्रिय आर्थिक अलगावको प्रयासका रूपमा प्रस्तुत गरेका छन् ।

साथै, अमेरिकी सहयोगी राष्ट्रहरूलाई पनि इरानलाई अन्तर्राष्ट्रिय आर्थिक प्रणालीबाट अलग गर्न सहयोग गर्न ट्रम्पले आग्रह गरेका छन् ।

ट्रम्पका अनुसार इरानको अर्थतन्त्र यसअघि नै ठूलो दबाबमा छ । थप आर्थिक प्रतिबन्ध र दबाबले इरानको अन्तर्राष्ट्रिय व्यापारलाई अझ कठिन बनाउने उनको दाबी छ ।

ट्रम्पले इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो अडानसमेत दोहोर्‍याएका छन् ।

यससँगै ट्रम्पको पछिल्लो चेतावनी इरानमा मात्र सीमित नभई उससँग आर्थिक सम्बन्ध कायम राख्ने देश, कम्पनी र संस्थातर्फ समेत लक्षित देखिएको छ । यद्यपि अमेरिकाले तत्काल कुन देश वा संस्थामाथि कस्तो कारबाही गर्ने भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?