Comments Add Comment

दृष्टिले विद्यार्थीको आँखा निःशुल्क परीक्षण गर्ने

चश्मा समेत निःशुल्क उपलब्ध गराउने

१४ फागुन, काठमाडौं । दृष्टि आइ केयर सिस्टमले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क आँखा परीक्षण एवं चश्मा सहयोग कार्यक्रमको घोषणा गरेको छ ।

जायसको सहयोगमा दृष्टि आइ केयर सिस्टम र आलोका भिजन कार्यक्रमसँगको साझेदारीमा विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिने सिस्टमका कार्यकारी प्रमुख डा.भाइराजा श्रेष्ठले बताए ।

कार्यक्रमको सुरुवात धादिङ जिल्लाको गल्छी गाउँपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १६ वर्ष मुनिका विद्यार्थीबाट गरिने उनले जानकारी दिए । निःशुल्क आँखा परीक्षण गरी चश्मा प्रयोग गर्नुपर्ने विद्यार्थीहरुका निम्ति निःशुल्क रुपमा चश्मा उपलब्ध गराइने श्रेष्ठले बताए ।

आँखा परीक्षणको पहुँचबाट वञ्चित सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिनुका साथै आर्थिक अभावले चश्मा प्रयोग गर्ने बाध्यात्मक अवस्थाबाट वञ्चित विद्यार्थीहरुलाई निःशुल्क चश्मा उपलब्ध गराइने उनले बताए ।

आलोका भिजन कार्यक्रमका प्रमुख डा. प्रेम जीतले दृष्टि आइ केयरसँगको साझेदारीमा निःशुल्क आँखा परीक्षण र चश्मा सहयोग कार्यक्रममार्फत विद्यार्थीहरुको आँखा सम्बन्धी समस्याको समाधान गरिने बताए ।

गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले मोबाइल, कम्प्युटर एवं टेलिभिजनलगायतका डिभाइसको अत्यधिक प्रयोगले बालबालिकाको आँखामा प्रतिकुल असर परिरहेको अवस्थामा निःशुल्क आँखा परीक्षण एवं चश्मा वितरण कार्यक्रमले सहयोग पुग्ने बताए ।

दृष्टि आइ केयरले पाँच वर्ष मुनिका बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्दै आएको छ । निजी क्षेत्रबाट सञ्चालित दृष्टिले झापा, वीरगञ्ज,धादिङको गल्छी,नुवाकोट र काठमाडौंको कलंकी, बानेश्वर, चाबहिलका साथै जमलबाट समेत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment