Comments Add Comment

घोषणा नहुँदै ‘हाम्रो नेपाल…’ अभियानबाट पछि हटे रमेश खरेल

१५ फागनु, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान सुरुमै बिथोलिएको छ । ‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका छन् ।

खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो । तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् । खरेलले आफूसहित देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी नहुने भन्दै क्षमायाचना गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै खरेलले अभियानका साथीहरुसँग आधारभूत कुराहरुमा सहमति हुन नसकेको बताए । उनले भने, ‘केही साथीहरुबाट हामीले सुरुमा गरेको समझदारीभन्दा नयाँ र पृथक कुराहरु आए । त्यसमा हामी सहमत हुन सकेनौं । हाम्रो उहाँहरुलाई शुभकामना छ ।’

के कुरामा को-कोसित असमझदारी भएको भन्नेचाहिँ उनले ‘समय आएपछि’ बताउने उल्लेख गरे ।

‘अहिले यति मात्र भनौं कि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा हामी अब छैनौं । देश र समाजको हितका लागि अब के-कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल गर्नेछौं,’ उनले भने ।

यसअघि खरेलले यो अभियानलाई राजनीतिक नभएर सामाजिक अभियानका रुपमा सुरु गर्न लागिएको बताएका थिए । यो अभियानमा ‘भाइरल म्यान’ का रुपमा चिनिएका भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment