Comments Add Comment

यो भुइँचालोले नेकपालाई भत्काउन सक्दैन : मन्त्री भट्टराई

१५ फागुन, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो भूकम्प जाँदैमा आत्तिन नहुने टिप्पणी गरेका छन् । बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उनले नेकपा सानोतिनो भूकम्पले चर्किने घर नभएको बताए ।

‘अहिले काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो, भूकम्प गइरहेको छ । हिजोआजका सञ्चारमाध्यममा त्यस्तै देखिन्छन् । तर, यो भूकम्पले चर्किनेवाला छैन । यो चर्किंदैन । त्यो घर सकुशल ठडिन्छ’ उनले भने ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले पार्टीरुपी घर कतै सामान्य चर्किएको भए पनि नेकपाभित्र धेरै इन्जिनियर रहेकाले सकुशल घर ठड्याउने बतााए । ‘हाम्रो नेपाल कम्युनिस्ट पार्टीको घरभित्र अनेक इन्जिनियर छन्, केही इन्जिनियरले घरको फिटिङ गर्छन् र त्यो घरलाई सकुशल ठड्याउँछन् । यो घर सकुशल ठडिन्छ’ उनले भने ।

बुधबार पार्टी सचिवालय बैठकमा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने भनी भएको निर्णय र त्यसमाथि प्रधानमन्त्रीले व्यक्ति गरेको प्रतिक्रियाबाट उत्पन्न परिस्थितिबाट विचलित नहुन नेता भट्टराईले आग्रह गरे । ‘म सोच्दैछु हाम्रा साथीहरु पोका पन्तुरा लिएर कतै निस्किहालेको जस्तो देखिन्छ । यी सबै थन्क्याए हुन्छ । किनभने हाम्रा नेताहरु जिन्दगी दाउमा राखेर हिँडेका नेताहरु हुन्’

समारोहमा भट्टराईले राखेको मन्तव्यको सम्पादित अंश :

कमरेड केपी ओली, कमरेड प्रचण्डलगायत हाम्रा शीर्ष नेतृत्वको सुझबुझपूर्ण निर्णयबाट यो पार्टीले जनसमर्थन पायो । मैले धेरै ठाउँमा भन्ने गरेको छु, दुनियाँका धेरै पार्टीहरु टुहुराजस्ता छन्, नेताविहीन छन् । आज हामै्रै देशमा पनि नेपाली कांग्रेस नेताविहीन भएर छट्पटाइराख्या छ । कांग्रेसले नेता खोजिराख्या छ ।

तर, एउटा संयोग भनौं आज नेपाल कम्युनिस्ट पार्टीसँग ४ जना प्रधानमन्त्री भएको, एउटा समाजिक हिसाबले पनि, एउटा ठूलो प्रतिष्ठा बनाएको पार्टीका रुपमा अघि आएको छ ।

प्रधानमन्त्री हुनुहुन्छ केपी ओली । पूर्वप्रधानमन्त्री हुनुहुन्छ कमरेड प्रचण्ड । पूर्वप्रधानमन्त्री हुनुहुन्छ माधव नेपाल । पूर्वप्रधानमन्त्री हुनुहुन्छ झलनाथ खनाललगायतका अरु पनि हुनुहुन्छ ।

हाम्रो नेतृृत्व, हामी सबैले संयमता र धैर्यताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ । सानोतिनो आवेग र सानोतिनो उत्तेजनाले फरक पार्नु हुँदैन । यो पार्टी आवेग र उत्तेजनाले सानोतिनो पार्टी, संसदमा २÷४ वटा सिटमात्रै भएको पार्टीलाई त्यति ठूलो फरक पार्दैन ।

तर, यो पार्टीसँग ३ करोड नेपालीको भाग्य र भविष्य देखिरहेका छन् । दशौं लाख पार्टी सदस्य जिन्दगी कोरिएको छ । नेपाल राष्ट्रको एउटा समृद्धि सपना पनि जोडिएको छ । त्यसकारण यो पार्टीले पक्कै पनि ज्यादा संयमता, धैर्यता अपनाउनुपर्नेछ ।

पार्टीमा मेलमात्रै होइन, बेमेल पनि हुन्छ । हामी एउटा राजनीतिक पार्टी, जीवित पार्टी हुनुका नाताले त्यो बेमेलको अवस्थालाई पनि सही ढंगले समाधान गरिदिए पुग्छ । पार्टी अझै अलिकति एकताबद्ध भए पुग्छ । मलाई लाग्छ हामी यो काम गर्न सक्छौं ।

मलाई विश्वास छ यो पार्टी ५ वर्षपछि सडकमा आउँदैन । यो पार्टी ५ वर्षपछि पनि सिंहदरबारमै हुन्छ, मुख्यमन्त्री कार्यालयमै हुन्छ । यो पार्टी जनताको. मतबाट ५० वर्ष नेपालको शाषण गर्न सक्छ । त्यसकारण म हाम्रो सम्पूर्ण नेतृत्व गणलाई यो पार्टी जीवित हुन्छ, यो पार्टी अगाडि बढ्छ भन्न चाहन्छु ।

जब यो पार्टी यो जीवित हुन्छ, आजभन्दा भोलि राम्रो गर्ने प्रत्येक नेताहरुको पालो क्रमैसँग आउँछ । नेताहरुको पनि नेतृत्व गर्ने पालो आउँछ । तपाईं हाम्रो पनि पालो आउँछ । तर, पार्टी नै भएन भने कहाँ जाने ? त्यसकारण ऐतिहासिक जिम्मेवारीका साथ हामी अघि बढ्नुपर्ने छ ।

काठमाडौंका घरहरु कमजोर छन् । किनकी भूकम्प सबैभन्दा बढी त्यहीं जान्छ । धेरै पहिले जमानामा भूकम्प गयो । अहिले काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो, भूकम्प गइरहेको छ । हिजोआजका सञ्चारमाध्यममा त्यस्तै देखिन्छन् । तर, यो भूकम्पले चर्किनेवाला छैन । यो चर्किंदैन । त्यो घर सकुशल ठडिन्छ ।

कहीं सामान्य चर्किएको भएपनि आजभोलि इन्जिनियरले अनेक उपाय निकाल्छन् । सुसज्जित बनाउँछन् । भत्केला भनेर डराउनुपर्दैन । हाम्रो नेपाल कम्युनिस्ट पार्टीको घरभित्र अनेक इन्जिनियर छन्, केही इन्जिनियरले घरको फिटिङ गर्छन् र त्यो घरलाई सकुशल ठड्याउँछन् । शानका साथ नेपाल कम्युनिस्ट पार्टीको घर काठमाडौंमा ठडिन्छ । यो भूकम्पले भत्काउने छैन । तर, त्यसमा हामी सबैको योगदान आवश्यक छ ।

हामी अहिले यो प्रक्रियाबाट बाहिर निस्कनुपर्ने आवश्यक छैन । म सोच्दैछु हाम्रा साथीहरु पोका पन्तुरा लिएर कतै निस्किहालेको जस्तो देखिन्छ । यी सबै थन्क्याए हुन्छ । किनभने हाम्रा नेताहरु जिन्दगी दाउमा राखेर हिँडेका नेताहरु हुन् ।

१४ वर्ष जेल जीवन बिताएका पार्टी अध्यक्ष हुनुहुन्छ, कमरेड केपी शर्मा ओली ।

त्यो जेल जीवनमात्रै होइन, ४० सालमा मैले उहाँलाई जेलमै भेटेको थिएँ । त्यो भन्दाअगाडि जम्मा ३ फिट लम्बाइ, ३ फिट चौडाइ भएको कोठामा वर्षाैं दिनसम्म उहाँलाई लडाइएको थियो ।

त्यो यातना खप्न सक्ने, त्यो यातना भागेर आएको प्रधानमन्त्री हुनुहुन्छ । त्यो प्रधानमन्त्रीले आजको पार्टीभित्रको यो समस्या हल गर्न सक्नुहुन्न भन्ने मलाई लाग्दैन ।

प्रत्येक सेकेन्ड मृत्युसँग जुध्दै आउनुभएका अध्यक्ष हुनुहुन्छ, कमरेड प्रचण्ड ।

सायद कतिपय ठाउँमा १ सेकेन्डले उहाँको ज्यान बचेको होला ! ती घटना आज पनि मनस्पटलमा ताजा भएर आउँछ । त्यस्ता हरेक जोखिमसँग जुधेर, लडेर आएको अध्यक्ष हो, कमरेड पुष्पकमल दाहाल प्रचण्ड । पार्टीको आजको यो अवस्थालाई सही दिशातर्फ लैजान उहाँले पक्कै पनि सक्नुहुनेछ । उहाँसँग त्यो ल्याकत छ ।

एक किसिमले भन्ने हो भने उहाँको परिवारको जस्तो अवस्था हामी कसैलाई पर्ने हो भने हामी विक्षिप्तै हुन्छौं होला ! उहाँको श्रीमतीको अवस्था त्यस्तो छ । छोराछोरीको अकालमा मृत्यु भयो । यस्ता अनेक पारिवारिक झन्झटलाई दिनदिनै सामाना गरेर आएको व्यक्तिले पार्टी भित्रका सामान्य घटनालाई सम्हाल्न नसक्नुहोला भन्ने मलाई लाग्दैन ।

कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल लगायत नेताहरु इतिहासमा धेरै पटक यस्ता उतरचढावबाट पार्टीलाई जोगाउँदै, रक्षा गर्दै, विभिन्न परीक्षामा पास हुँदै, समन्वय गर्दै, मिलाउँदै यहाँसम्म ल्याइपुर्‍याउनु भएको छ ।

यस्ता धेरै पंक्ति नेकपाभित्र छ । त्यसैले यो पंक्तिले एकताबद्ध रुपले नयाँ जोश, नयाँ जाँगर र उत्साहका साथ अगाडि जान सक्छौं । यसैले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्छ ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment