Comments Add Comment

मधेस आन्दोलनका शहीदको शालिक बनाउन ४० लाख

१६ फागुन, वीरगञ्ज । पछिल्लो मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुको शालिक निर्माणमा सांसद र वीरगञ्ज महानगरपालिकाले ४० लाख रुपैयाँ खर्च गर्ने भएका छन् ।

वीरगञ्जको घण्टाघरस्थित विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक बनाउन स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत पर्सा क्षेत्र नं. १ को २० लाख र वीरगञ्ज महानगरपालिकाकाले २० लाख गरी ४० लाख रुपैयाँ खर्च गर्न लागिएको हो ।

घण्टाघर छेउको सुलभ शौचामलय नजिकै चालु आर्थिक वर्ष ०७६/७७ भित्रै शालिक निर्माण सम्पन्न हुनेछ । समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादव र महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शुक्रबार शाालिक निर्माण कार्यको शिलान्यास गरेका छन् ।

सांसद यादवले सदियौंदेखि विभेदमा परेका मधेशी, दलित, मुस्लिमलगायत उत्पीडित समुदायको अधिकारका लागि शहीदले दिएको बलिदानी मधेशको धर्तीमा सधै अमर रहने बताए ।

‘राज्यका विभिन्न निकायमा मधेशीले जति अधिकार पाएका छन्, मधेसी वीर शहीदकै बलिदानीको प्रतिफल हो’ सांसद यादवले भने ‘वीर शहीदलाई मधेशको धर्तीमा सम्मान गर्न र सम्झनामा राख्न सहिद स्मारक निर्माण गर्न लागेका हौं ।’

पछिल्लो मधेस आन्दोलनमा पर्सामा ७ जनाले ज्यान गुमाएका थिए ।

एक वर्षअघि महानगरपालिकाको स्वामित्वमा सोही विपी उद्यानको जग्गामा मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका थिए । तर पार्क निर्माणको काम अघि बढ्न सकेको छैन ।

महानगरपालिकासँग समन्वय नगरी पार्क निर्माण कार्यको शिलान्यास गरिएको भन्दै नगर प्रमुख सरावगीले समेत त्यसको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment