Comments Add Comment

छापामा आज : यसरी सुल्झियो नेकपाको आन्तरिक विवाद

१७ फागुन, काठमाडौं । आजका पत्रिकाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा केन्द्रित छन् । कतिपयले विवाद समाधान भइसकेको र कतिपयले समाधान उन्मुख रहेको समाचार छापेका छन् ।

राजधानी दैनिकले नेकपाको विवाद सुल्झिइसकेको भनेर मुख्य समाचार छापेको छ । ‘राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष बामदेव गौतम नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेकपाभित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ,’ राजधानीको समाचारमा लेखिएको छ, ‘पार्टीको सिफारिसअनुसार उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य हुने र अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिनेदेगरी सहमति खोजिएको हो ।’

नयाँ पत्रिका दैनिकले भने नेकपा शीर्ष नेताहरु बामदेवलाई राष्ट्रियसभा लैजाने र अर्थमन्त्री खतिवडालाई मन्त्रीमा निरन्तरता दिने समझदारी नजिक पुगेको लेखेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलले यो मध्यमार्गी उपाय सुझाएको र प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक देखिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकले मुम्बईमा चार वर्षअघि भएको गोदाम आगलागीमा ज्यान गुमाएका कपिलवस्तुका ७ जनाको परिवारको दुःखलाई समेटेर मुख्य समाचार बनाएको छ । मृतकका परिवारले नेपाल र भारत दुवैतिरका सरकारबाट राहत त पाउन नसकेको र मुद्दालाई बलियो कतैबाट सहयोग नमिल्दा आरोपितले कारबाहीबाट उन्मुक्तिसमेत पाएको समाचारमा उल्लेख छ । त्यसैले निराश हुँदै मृतकका परिवारले भनेका छन्, ‘भगवानले त हेरेनन्, सरकारबाट के आस ।’ आगलागीमा कपिलवस्तु सत्भराका लौटु मोराइन, भइँधर अहिर यादव, गौरी चौहान, राजु चौहान, विक्रम रइदास र कपिलवस्तु बराइपुर गाउँका रामदयाल भर र निरज चौधरीले ज्यान गुमाएका थिए ।

नागरिक दैनिकले वैदेशिक घरेलु श्रममा नेपाली महिलालाई प्रतिवन्ध लगाउने सरकारको निर्णय प्रत्युत्पादक भएको मुख्य समाचार छापेको छ ।

गोरखापत्र दैनिकले सुदूरपश्चिमको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय गौरवका योजनामा ध्यान दिन आग्रह गरेको र भूमि व्यवस्था मन्त्रालयले झण्डै तीन सय बिघा जग्गा सरकारको नाममा फिर्ता गराएको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोष्टले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले आफ्नो मानहानी गरिएको भन्दै अदालतमा मुद्दा दायर गरेको र कोरोना भाइरसको विश्वव्यापी प्रभाव परेकोबारे समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment