Comments Add Comment

लिभरपुलको ४४ खेलको अपराजित यात्रामा ब्रेक

वाटफोर्डसँग ३–० ले पराजित

काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा यस सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति वाटफोर्ड्सँग ३–० ले पराजित भएपछि यस सिजन अपराजित रहेर लिग उपाधि उचाल्ने लिभरपुलको सपना तुहिएको छ ।

प्रिमियर लिगमा ४४ खेलपछि लिभरपुल पराजित भएको हो । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । प्रिमियर लिगमा लिभरपुल जनवरी २०१९ पछि पहिलोपटक पराजित भएको हो ।

घरेलु मैदानमा इस्माइला सरा चम्किएपछि वाटफोर्डले लिभरपुलमाथि शानदार जित हात पारेको हो । सारले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे ।

घरेलु मैदान भिकारेज रोडमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा वाटफोर्डले ३ गोल गर्‍यो । ५४ औं मिनेटमा सारले डोकोरोको पासमा गोल गर्दै अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै सारले व्यक्तिगत दोस्रो गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर पारे । लिभरपुल खेलमा फर्कन संघर्षरत रहँदा वाटफोर्टले तेस्रो गोल गर्‍यो । ७२ औं मिनेटमा सारकै पासमा ट्रो डिनेले गोल गर्दै वाटफोर्डलाई ३–० को अग्रता दिलाए ।

लिभरपुलले प्रिमियर लिगमा गोल गर्न नसकेको ३६ खेलपछि यो पहिलो पटक हो । २०१९ मार्चपछि लिभरपुलले गोल गर्न नसकेको यो पहिलो पटक हो ।

हारपछि पनि लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २२ अंकको अग्रता कायमै राखेको छ । लिगमा लिभरपुलले अझै १० खेल खेल्न बाँकी छ र ४ खेल मात्र जितेपनि उपाधि भने जित्नेछ ।

लिभरपुलसँग खेल्नुअघि पुछारबाट दोस्रोमा रहेको वाटफोर्डले जितपछि रेलिगेसन जोन छाडेको छ ।

२८ खेलबाट २७ अंक जोडेको वाटफोर्डले बर्नमाउथलाई गोलअन्तरमा पछि पारेको छ । वर्नमाउथले चेल्सीसँग २२ को बराबरी खेल्दै अंक बाँडेको थियो । पुछारको टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेको दिन अन्तिम स्थानमा रहेको नर्विचले लेस्टरलाई १–० ले हरायो । यस्तै वेष्टह्यामले साउथह्याम्पटनलाई ३–१ ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment