+
+
Shares

गोरखाका दुई नाकाबाट चीन आवतजावतमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १९:१६

१९ फागुन, गोरखा । कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनसँग जोडिएका गोरखाका दुई नाकाबाट आवतजावत बन्द गरिएको छ ।

उत्तरी क्षेत्रको सामागाउँ र छेकम्पारमा चीनसँग जोडिएको नाकाबाट आउजाउ गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

‘चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण यता पनि आउन सक्छ,’ उनले भने, ‘त्यही संक्रमण नफैलिओस् भनेर केही दिनका लागि सामागाउँ र छेकम्पारको नाका बन्द गरेका हौ ।’

उनका अनुसार सीमा क्षेत्र तिब्बतका मानिस नेपाल र नेपालका मानिस तिब्बत आउजाउ गर्न निषेध गरिएको छ । ‘त्यो हाम्रो औपचारिक नाका नभएकाले समकक्षीसँग समन्वय गरेका छैनौं, स्थानीय तहसँग समन्वय गरेर हामी आफैंले नाकामा कडाइ गरेका हौ, तर चाइनाले पनि बोर्डरमा मानिसहरु आउजाउ गर्न टाइट गरिरहेको छ,’ उनले भने ।

कोही मानिस आउजाउ गरेको भेटिएमा स्वास्थ्य परीक्षण गरेर बाँकी निर्णय गरिने उनको भनाइ छ ।

नाकामा मानिसको आउजाउ बन्द गर्न सीमाका प्रहरी युनिटलाई पत्राचार गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए । छेकम्पार, सामागाउँ र लार्केस्थित प्रहरी चौकीलाई सोमबार पत्राचार गरिएको उनले जानकारी दिए । अन्य नाकाभन्दा छेकम्पार नाकामा मानिसको आउजाउ बढी हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?