Comments Add Comment
कोरोनाविरुद्ध लड्ने पूर्वतयारी :

टेकु अस्पतालमा यस्तो छ आइसोलेसन वार्ड (भिडियोसहित)

‘कोरोनाबाट त्रसित भएर आउँछन्, तर क्वारेन्टाइनमा बस्न मान्दैनन्’

२० फागुन, काठमाडौं । चार दिनअघि कोरियाबाट नेपाल आएका एक युवक सोमबार बिहान हड्बडाउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगे । उनले विशिष्ट प्रकारको मास्क लगाएका थिए । अत्तालिँदै अस्पतालका प्रवक्तासँग भन्दै थिए, ‘के भएको हो, आजै सम्पूर्ण जाँच गरेर भनिदिनुपर्‍याे ।’

सामान्य परीक्षणमा उनमा कुनै समस्या देखिएन । र, पनि उनले चिटचिट पसिना काडेका थिए । डा. अनुप बास्तोला सम्झाउँदै थिए, ‘क्वारेन्टाइनमा बस्ने भए बस्नुस् । खानाको व्यवस्था छ, बेड उपलब्ध छन् । नियमित जाँच हुन्छ । नत्र घरमै क्वारेन्टाइन गर्नु ।’

उनी अस्पतालमा बस्न चाहेनन्, घर गए ।

ती युवा कोरियाबाट चार दिनअघि नेपाल फर्किएका थिए । र, मनको डरले घरमै बसीरहेका थिए । तर, अकस्मात कोरोनाको विश्वव्यापी हल्ला मच्चिएपछि उनी फेरि हतारिँदै अस्पताल आइपुगे ।

यसरी अत्तालिँदै अस्पताल आउनेको संख्या दैनिक पाँच/सातजनाको दरले बढिरहेको डा. बास्तोला बताउँछन् । यसरी आउनेहरु प्रायः कोही पनि अस्पतालको क्वारेन्टाइनमा बस्न भने चाहँदैनन् । टेकु अस्पतालमा कोरोना क्वारेन्टाइनका लागि ४० वटा शय्या छुट्याइएका छन् । जहाँ, स्वास्थ्यकर्मीहरुको टोली पनि छ । तर, प्रायः शय्याहरु खाली छन् ।

टेकु अस्पतालमा क्वारेन्टाइन

डा. बास्तोला भन्छन्, ‘दक्षिण कोरियाबाट नेपाल आएका र सामान्य रुघाखोकी लागेका तीनजना मात्र अहिले क्वारेन्टाइनमा छन् ।

‘चीन, कोरिया वा अन्य रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरुलाई श्वासप्रश्वास, ज्वरो, रुघाखोकी वा केही समस्या देखिएको अवस्थामा हामीले १४ दिनसम्म यहाँ राखेर जाँच गछौँ’, क्वारेन्टाइनको वार्ड देखाउँदै डा. बास्तोलाले अनलाइनखबरसँग भने, ‘यदि संक्रमणको सम्भावना भएमा आइसोलेसन वार्डमा राखेर उपचार गर्छौँ ।’

मानिसहरुमा १४ दिनसम्म कोरोनाको संक्रमण देखिने सम्भावना हुन्छ । खास गरी क्वारेन्टाइनमा नियमित परीक्षण हुँदैन । तर, विदेशबाट फर्किएका जो कोहीलाई पनि चाहेको अवस्थामा १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ । नत्र, घरमै क्वारेन्टाइन गर्ने विधि सिकाएर ती व्यक्तिलाई घर पठाइन्छ ।

टेकु अस्पतालमा क्वारेन्टाइन अर्कोपट्टि आइसोलेसन वार्ड छ । दुईवटा चेन गेट पार गरेर मात्र आइसोलेसन वार्डमा प्रवेश गर्न सकिन्छ ।  यहाँ त्यत्तिकै भने जान मिल्दैन । सुरक्षाको सम्पूर्ण तयारीपछि मात्र आइसोलेसनमा प्रवेश गर्न मिल्छ । जहाँ अहिले नोभेल कोरोना भाइरस (२०१९–एन–कोभ) को आशंकामा चार जनालाई राखिएको छ । यी चारमध्ये एकजना चीनबाट र तीनजना दक्षिण कोरियाबाट फर्केका हुन् ।

चेन गेटबाट पारिको सिसा देखाउँदै डा. बास्तोलाले ब्रिफिङ गरे, ‘उ त्यो सिसा पछाडि साइसोलेसनका वार्ड छन् आइसोलेसन वार्डमा छुट्टाछुट्टै पाँचवटा बेड र ट्वाइलेट बाथरुम छन् ।’

उक्त आइसोलेसन वार्डबाट चारैजनालाई बाहिर निस्कन दिइएको छैन । चिकित्सक टोलीबाहेक अन्यलाई वार्डमा छिर्न बर्जित छ । ‘उहाँहरुलाई विशेष सावधानीको साथ जाँच र सुरक्षा भइरहेको छ । पोजटिभ देखियो भने आइसीयुमा राखेर सम्पूर्ण उपचार गरिन्छ’, डा. बास्तोलाले जानकारी दिए, ‘रिपोर्टले नेगेटिभ देखायो भने आवश्यक परेको अवस्थामा क्वारेन्टाइनमा राखिन्छ या घरमै क्वारेन्टाइन गर्न घर फर्काइन्छ ।’

डा. अनुप बास्तोला

आइसोलेसनकै ठीक अगाडिपट्टि आइसीयु कक्ष तयारी अवस्थामा राखिएको छ, जहाँ अहिले तीनवटा बेडहरु रहेको डा. बास्तोला बताउँछन् । तर, अहिलेसम्मै कसैलाई पनि आइसीयुमा राखेर उपचार गर्नु परेको छैन ।

त्यस्तै अस्पतालले सामान्य बिरामीका लागि ओपीडी वार्डको पनि व्यवस्था गरेको छ । एयरपोर्ट वा विदेशबाट आएको व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिएमा सुरूमा त्यही ओपीडी वार्डमा परीक्षण गरिन्छ । तर, अहिलेसम्म ओपीडीमा आएका बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने अवस्था भने देखिएको छैन ।

अहिलेसम्म १९ जनाको परीक्षण पश्चात एकजनालाई मात्र कोरोना पोजेटिभ देखिएको छ । तर, आइसोलेसनमा रहेका चारजनाको रिपोर्ट आज आउँदैछ ।

उनले अन्य देशमा जस्तै एकै दिनमा हजारौँ बिरामीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था आउँछ कि भनेर आफूहरुले सुक्ष्म निगरानी बढाएको पनि उनले जानकारी दिए ।

तर, पछिल्लो समय कतै पनि त्यसरी बिरामीको संख्या बढेको कतै पनि नभेटिएको उनले बताए । ‘८२ प्रतिशत व्यक्तिलाई सामान्य रुघाखोकी मात्र देखिन्छ । अन्य व्यक्तिलाई आइसीयु चाहिन सक्ने अवस्था आउन सक्छ’, उनले भने, ‘तर, पछिल्लो समय यसरी संख्या बढेको कतै पनि देखिँदैन ।’

यो पनि पढ्नुहोस पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार, क्वारेन्टाइन खोजिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment