Comments Add Comment

कोरोनाले भत्काएको चिनियाँ बजारमा के के भयो ?

सामान खरिद बिक्रीमा ड्रोन र रोबोटको सहारा

२० फागुन, काठमाडौं । कोरोना भाइरसको उद्गम मुलुक चीनले संक्रमण थप फैलन नदिन आफ्नो मुलुक लकडाउन गरेपछि अघोषितरुपमा चीनका धेरै शहरहरुमा नाकाबन्दीको अवस्था आइलाग्यो ।

भाइरस संक्रमण भएका मानिसलाई अस्पतालमा उपचार गर्न लैजाने बाहेक अरु मानिसहरु घरमै नजरबन्दको अवस्थामा पुगे ।

चीनमा कोरोनाका कारण ज्यान गुमाउने र संक्रमितको संख्याबारे चौतर्फी लेखाजोखा भइरहँदा घरभित्र थुनिएका उपभोक्तालाई आवश्यक वस्तु उपलव्धता र अर्थतन्त्रको अवस्थाबारे चर्चा कमै भयो ।

कोराना संक्रमणको उच्च जोखिममा रहेको मुलुकका रुपमा नेपाललाई विश्व स्वास्थ्य संगठनले ठहर्‍याइसकेको छ । यदि हाम्रो मुलुकमा पनि कोरोना संक्रमण फैलन थाल्यो भने हामी पनि लकडाउनमा जानुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

कोरोना संक्रमण रोक्न चीनमा जस्तै लकडाउनको अवस्था आइलाग्यो भने काठमाडौं, पोखरा, बुटवल, बिराटनगर, भैरहवा जस्ता मुलुकका ठूला शहरमा अर्थतन्त्रको आपूर्ति प्रणाली बन्द गर्नुपर्ने अवस्था आइलाग्यो भने कल्पना गर्नुस्, हामी कसरी दैनिकी गुजारा गर्छौं ?

चीनमा कोरोनाबाट जनता बचाउन गरिएको लकडाउनले त्यहाँको अर्थतन्त्र र उपभोक्ताको दैनिकीमा परको असर, दुःखद अवस्थामा उपभोक्ताको दैनिकीमा आएको परिवर्तन र उत्पति भएका केही प्रविधिको प्रयोगका सुखद घटनाक्रमबारे यहाँ चर्चा गर्न गइरहेका छौं ।

विश्व पर्यटन बजार ध्वस्त

विश्व पर्यटनको करिब १० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगट्छन् । आफ्नो नयाँ वर्षमा संसार घुम्ने र खर्च गर्ने स्वभावका चिनियाँहरु कोरोना कहरका कारण विदेश त परकै कुरा आफ्नै घरबाट समेत निस्कन पाएनन् । जसले गर्दा पर्यटकका कारण आम्दानी गर्ने नेपालसहितका धेरै देशको पर्यटन अर्थतन्त्रमा यसले असर पुर्‍यायो ।

नयाँ वर्षको समयमा चीनमा हुने पर्यटक अकुपेन्सी २० वर्ष यताकै सबैभन्दा न्यून भएको चिनियाँ सरकारी एजेन्सीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय हवाई यातायात एशोसिएसन आइएटीएका अनुसार एशिया प्यासिफिक क्षेत्रका हवाई कम्पनीले २७.८० बिलियन अमेरिकी डलर आम्दानी कोरोना असरका कारण गुमाएका छन् ।

फ्लाईट राडार २४ का अनुसार जनवरी २३ देखि फेब्रुअरी १३ सम्म चीनका बाह्य र आन्तरिक उडानमा ठूलो संख्याले कटौती देखियो । औषत दैनिक १५ हजार ७१ वटा उडान हुने चीनमा यो समयमा मुस्किलले २ हजार जति उडानहरु भएको फ्लाईट राडार २४ ले जनाएको छ ।

स्मार्ट फोनको व्यापारमा ह्रास

कोरोनाले आपूर्ति प्रणाली ठप्प भएपछि स्मार्ट फोनको व्यापार संसारभर नै घटेको छ । काउन्टर पोइन्ट रिसर्चका अनुसार आर्थिक वर्ष २०२० को पहिलो चौमासिकमा चीनमा स्मार्ट फोनको व्यापारमा २० प्रतिशतले ह्रास आएको छ भने संसारभर ५ प्रतिशतको गिरावट देखिएको छ ।

बहुराष्ट्रिय कम्पनी एप्पलले आफ्नो पहिलो चौमासिकको आम्दानी लक्ष्य पूरा नहुने घोषणा गरिसकेको छ ।

परम्परागत व्यापार र इकमर्शमा चुनौती आए

चीनमा लक डाउन घोषणापछि इट्टा उद्योग, रेष्टुरेण्ट व्यवसाय र विद्युतीय प्रणालीमा आधारित बजारहरुमा ठूला असरहरु देखिए । सरकारले घोषणा गरेको क्वारेन्टाइन प्रणाली अवलम्वन गर्दा मानिसहरु घरबाट बाहिर निस्कन पाएनन् । जसका कारण स्टारबक्स, युनिकोल, नाइक, एप्पल जस्ता नाम चलेका व्यवसायमा अस्थायी रुपमा सटर लागे ।

अलिबाबा जस्ता अनलाइन सेवा प्रदायकहरु पनि ठूला शहरमै सेवा प्रवाह गर्न नसक्ने गरी थन्किन पुगे । अलिबाबाका सिईओ डेनियल झाङलाई उधृत गर्दै इ–मार्केटरले जनाएअनुसार उपभोक्ताले अझै थप ४ महिना यो समस्या झेल्नुपर्ने अवस्था आउने छ । चीनको ई–कमर्श व्यापार यस वर्ष (२०२०) २.३२८ ट्रिलियन अमेरिकी डलर हुने प्रक्षेपण थियो । तर, नपुग्ने प्रशस्त आधारहरु देखिएका छन् ।

इन्टरनेट र टीभीमा बिताउने समय बढ्यो

मानिसहरु घरमा बन्दी भए । सिनेमा हल, फन पार्कजस्ता मानिसका धेरै जमघट हुने सबै स्थानहरु बन्द भए । जसका कारण मानिसहरु घरभित्र बसेर इन्टरनेट चलाउने र टीभी हेरेर समय बिताउन बाध्य बने ।

जागिर जाने, कफीसप र रेष्टुराँमा समय बिताउने उपभोक्ताको दैनिकीमा ठूलो परिवर्तन चीनका सहरहरुमा देखिए । क्वेष्ट मोबाइलले गरेको एक सर्वेक्षण अनुसार नयाँ वर्षको विदाका समयमा दैनिक ६.१ घण्टा मोबाइल इन्टरनेटमा बिताउने चिनियाँहरुको समय अहिले बढेर ७.३ घण्टा पुगेको छ ।

यो समय जनावरी सुरुवातदेखि अहिलेसम्म नै कायम छ । यस्तै परम्परागत टेलीभिजन कार्यक्रम र अन्र्तवार्ताहरु हेर्ने समय पनि बढेको निल्सन सीसीडाटाले जनाएको छ । विवरणहरुका अनुसार कुनै बेला उपेक्षामा पर्ने टेलिभिजन कार्यक्रमहरु अहिले हिट भएका छन् ।

अनलाइन व्यापार बढ्यो

लकडाउनका कारण मानिसहरु सहरमा हिँड्न नपाएपछि इन्टरनेटमार्फत आवश्यक वस्तुको माग चिनियाँ सहरमा ह्वात्तै बढेको छ । फ्रेन्च रिटेलर केयरफोरका अनुसार हरियो तरकारी डेलिभरी सामान्य अवस्थामा भन्दा ६ सय प्रतिशतले बढेको छ ।

चाइनिज अनलाइन व्यापार कम्पनी जेडी डटकमको अनलाइन ग्रोसरी व्यापार दर अघिल्लो वर्षको तुलनामा २ सय १५ प्रतिशतले बढेको छ । जनवरी पहिलो सातादेखि फेब्रुअरी पहिलो सातासम्म उक्त व्यापार भएको थियो । दश दिनमा १५ हजार टन वस्तु बिक्री भएको केयरफोरले जनाएको छ ।

आवश्यकताले नयाँ प्रविधि जन्मायो

कोरोना त्रासले संसार पिरोल्लिइएको छ । मानिसहरु संक्रमण रोक्न घरमा आफैं बन्धक भएका छन् । तर, घर चलाउनका लागि आवश्यकताका चाङ छन् । दुःखको घडीमा चीनमा केही नयाँ आविश्कार भएका छन्, जसले मानिसलाई ठूलो खुसी छरिरहेको छ ।

घरभित्र भएका मानिसलाई मानिसले नछोइकन खाद्यान्न र वस्तुहरु होम डेलिभरी गर्न नयाँ एपहरु निर्माण भए । सम्पर्करहित पिकअप डेलिभरी सर्भिस तथा मानिसले नछोइकन खाद्यान्न वस्तुहरु डेलिभरी गर्ने काम म्याक डोनाल्ड र स्टारबक्सले गरेको समाचारहरुमा जनाइएको छ ।

मान्छेबाट मान्छेका लागि गरिने काममा रोबर्ट खटियोे

मानिसले मानिसलाई छुँदा संक्रमणको दर बढ्ने भएकाले मानवरहित सेवामा जेडी डटकम र मैटुआनले रोबर्टको प्रयोग गरे । वस्तुहरु डेलिभरीका लागि ती कम्पनीले ड्रोन र मानवरहित गाडीको प्रयोग गरेको ई–मार्केटरले जनाएको छ ।

यस्तै केही अस्पतालहरुले मेडिकल सामाग्री सप्लाई गर्न रोबटले गाईड गर्ने प्रणाली प्रयोगमा ल्याइएको जनाइएको छ ।

चीनका थुप्रै शहरहरुमा मानवीय गतिविधिबाट हुने आपूर्ति प्रणाली भत्किएपछि प्रविधिको प्रयोगबाट मानवीय आवश्यकता आपूर्तिमा काम गरिएको ई–मार्केटरले जनाएको छ ।

(कोरोना पछिको आपूर्ति प्रणाली र उपभोक्ताबारे इमार्केटर डटकमका लागि  Man Chung Cheung ले लेखेको लेख र एजेन्सीहरुको रिपोर्टमा आधारित रहेर यो सामाग्री नवीन ढुंगानाले तयार पारेका हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment