Comments Add Comment

कोरोना भाइरसको तनाव : मन्त्रीहरु नसोची बोल्न थाले

२१ फागुन, काठमाडौं । नेपालका मन्त्रीहरु विभिन्न समयमा अभिव्यक्तिकै कारण विवादमा परिरहन्छन् ।

बिना तयारी र छलफल विना नेपाललाई ‘कोरोनामुक्त मुलुक’ भनेर विदेशमा प्रचार गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको योजना फासफुस भएको केही दिनपछि श्रममन्त्री रामेश्वर यादव पनि अपरिपक्व अभिव्यक्तिकै कारण विवादमा तानिएका छन् ।

कोरोना प्रभावित मुलुकमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगित गर्ने निर्णय भएको जानकारी मंगलबार विहान सञ्चारमाध्यमहरुलाई दिएका उनी अहिले त्यस्तो निर्णय नै नभएको बताइरहेका छन् । सरकारको आधिकारिक समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले नै श्रममन्त्री यादवलाई उद्धृत गर्दै लेखेको थियो– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको जानकारी दिएको राससको समाचारमा उल्लेख छ ।

संचारका अन्य माध्यमसंग पनि कुरा गरेका श्रममन्त्री यादबले सरकारले आम नागरिकलाई पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको र सर्वोच्च अदालतले पनि कोरोना प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको बताएका थिए । उनले भनेका थिए, ‘त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।’

मन्त्री यादवले यसबारे जिज्ञासा राख्ने सबै सञ्चारकर्मीलाई यही जानकारी दिएका थिए । त्यही आधारमा आएका समाचारहरुले विदेश जान ठीक्क परेका नेपाली र म्यानपावर व्यवसायीहरुलाई अन्योल र तनावमा पार्‍यो । श्रम मन्त्रालयका एक अधिकारीका अनुसार आइतबार मोरिससको भ्रमणबाट फर्किएका मन्त्री यादवले छलफल नै नगरि श्रम स्वीकृति रोकिएको कुरा सार्बजनिक गरेका थिए ।

उनका अनुसार, सह–सचिव जाँदा हुने मोरिससको कार्यक्रममा जम्बो टोली लिएर आफैं गएका मन्त्री यादवलाई खासमा नेपाल सरकारले कोरोनाबाट अतिप्रभावित देशका पर्यटकको अनएराइभल भिसा रोकेको सामान्य जानकारी मात्र थियो । त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले विदेश भ्रमण र वैदेशिक रोजगारीमा नजान दिएको सुझावलाई उनले सरकारी निर्णयकै रुपमा बुझेका थिए ।

मन्त्री यादवले त्यत्तिकै आधारमा श्रम स्वीकृति नै स्थगन भएको बताएपछि अन्योलमा परेका म्यानपावर व्यवसायीहरुले त्यसको विरोध गरेका थिए । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे सञ्चार माध्यमहरुबाट श्रम स्वीकृति रोकिएको जानकारी पाएपछि मन्त्री यादवलाई फोन गरेको बताउँछन् ।

‘त्यसलगत्तै पत्रकार सम्मेलन गरेर श्रम स्वीकृति स्थगित भएको छैन, गर्न पनि हुँदैन भन्यौं’, उनी भन्छन्, ‘विज्ञप्ति जारी गरेर भ्रममा नपर्न अनुरोध पनि गर्‍यौं ।’

त्यसपछि भने श्रम मन्त्री यादवको बोली फरियो । उनले फेरि केही सञ्चार माध्यमलाई श्रम स्वीकृति नरोकेको र त्यसबारे अध्ययन थालेको बताए । श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका उप–सचिव दीपक ढकाल परारष्ट्र मन्त्रालयसहित सरोकारवाला निकायहरुसँग छलफल भएपछि मात्र यसबारे निर्णय हुुन सक्ने बताउँछन् । उनले भने, ‘अहिलेसम्म कुनै पनि देशको श्रम स्वीकृति रोकिएको छैन ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरे श्रम स्वीकृति रोक्नुपर्ने अवस्था नै नरहेको बताउँछन् । उनका अनुसार, कुवेत र कोरियाबाहेक अरु गन्तव्य देशले नेपाली कामदार रोकेको पनि छैन ।

‘धेरै नै जोखिम भयो भने नेपाल आफैंले श्रम स्वीकृति रोक्नुपर्ने हुन सक्छ,’ उनी भन्छन्, ‘तर, अहिल्यै हतारिएर निर्णय नगर्न मैले मन्त्री ज्युलाई फोनमा सुझाव पनि दिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment