Comments Add Comment

महिला हिंसाबारे मुख्यमन्त्री : मेरै बिहेमा केटी हेर्न दिइएन

२१ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत महिला सशक्तिकरणमा जोड दिन्छन् । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुरु गरेका उनले छोरीको शिक्षाका लागि वीमा कार्यक्रम अघि सारेका छन् । महिलाका पक्षमा बोल्दा कतिपय समयमा विवादमा पनि उनी तानिएका छन् ।

केहि दिनअघि मात्रै ‘छोरीलाई यति सशक्त बनाउँछु कि अब पुरुषले महिलालाई होइन, महिलाले पुरुषलाई एसिड खन्याउनसक्छ’ भनेपछि उनी विवादमा परे । उनको उदाहरण गलत होला तर, चाह महिला सशक्त बनुन भन्ने नै हो ।

छोरीप्रतिको सामाजिक दृष्टिकोणमै परिवर्तनमा जोड् दिइरहने मुख्यमन्त्री राउतले बुधबार जनकपुरधाममा आयोजित समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण (सहज) प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै आफ्नै परिवारमा आमा र बहिनीले समेत हिंसा भोग्नुपरेको उल्लेख छन् ।

उनको भनाइ जस्ताको तस्तैः

म सानो छँदा आमालाई हेर्थे, बुवा खाना नखाएसम्म भोकै बस्नुहुन्थ्यो । राति अबेरसम्म पनि बुवाको प्रतीक्षा गर्दै आमा भोकै बस्नुहुन्थ्यो । बुवा आएर खाना खाँदा मात्रै आमाले खाना खानुहुन्थ्यो । यो महिला हिंसा भइरहेको थियो ।

सामान्य कुरामा पनि आमालाई गाली सुन्नुपथ्र्यो । तरकारीमा नून बढी पर्‍यो, त्यसमा पनि गाली । मुस्लिम समुदायको भए पनि हाम्रो परिवारमा माछा, मासु चल्दैन । नजिक बाहुनहरुको घर भएका कारण हाम्रोमा पनि घर लिपपोत गरेर मात्रै खाना पाक्छ । शुरुमा माटोको घर हुँदा लिपपोत गर्नैपर्थ्यो । समयमा यसो नगर्दा पनि आमालाई गाली सहनुपर्थ्यो ।

यो मेरो परिवारको प्रतिनिधिमूलक घटना मात्रै हो ।

म काठमाडौंसम्म गएर स्नातकोत्तर गरें अंग्रेजीमा । तर मेरी बहिनीहरुलाई घरबाट निस्किन दिइएन । घरको आर्थिक अवस्था कमजोर भएर बहिनीलाई नपढाएको होइन । पढाउने आवश्यकता देखिएन । अहिले पनि गाउँमा यस्ता हजारौं परिवार छन्, जसले छोरीलाई पढन दिँदैनन् ।

मसँग पनि लैंगिक विभेद गरिएको थियो । म काठमाडौंबाट पढेर आउँदा मेरो बिहेको कुरा शुरु भयो । तर मैले पाउन लागेको जीवन संगिनीलाई हेर्न दिइएन । हजुरबुवाले नै हेर्नुभयो, अनि ‘मैले हेरेपछि विश्वास लागेन’ भन्नुभयो ।

अहिले पनि हाम्रो समाजमा छोरी बोझ हो भन्ने मान्यता छ । छोरी भएपछि पेटमै मारिदिने चिन्तन छ । छोरी जन्मिने वित्तिकै हेर्ने दृष्टिकोण छ, त्यो धेरै खराब छ । कुनै महिलाले लगातार २/३ वटी छोरी जन्माएमा पुरुषको अर्काे विवाह गर्नेसम्मको काम भइरहेको छ । यो मानसिकता हट्न सकेको छैन । त्यसैले म भन्छु, ‘लाख दुःखको एउटै औषधि हो, छोरीलाई पढाऔं ।’

छोरा होस् या छोरी दुबैलाई पढाउनुपर्छ । छोरी बोझ हुँदै होइन ।

छोरीकी निम्ति हामीले ३ लाख शिक्षा बिमा ल्याएका छौं । तर २० बर्षपछि छोरीले २० लाख पाउन हामी त्यसका निम्ति लागिपरेका छौं । पर्साका धेरै स्थानीय तहले प्रदेश सरकारको अभियानमा साथ दिँदै ६ लाख पुर्‍याएको छ । सरकारी पैसा गरीवको झोपडीमा गएको इतिहास अहिलेसम्म छैन । तर हामीले शुरु गरिसकेका छौं ।

छोरीलाई पढाऊँ । उनीहरुका लागि संसार खुल्ला छ । विभिन्न अवसरमा पुग्ने मौका छ । पढेपछि आर्थिक गतिविधिमा पनि उनीहरुको संलग्नता हुन्छ ।

मुलुकमा संवैधानिक व्यवस्था नभएको भए महिलालाई कुनै अधिकार दिइन्थ्यो ? अवसर दिइन्थ्यो ? के अहिले महिलालाई उप–प्रमुख बनाउने काम भएको छ, त्यो हुन सक्थ्यो ?

म आफैं साइकल वितरण गर्न धेरै ठाउँमा गएँ । सामुदायिक विद्यालयका प्रअ र शिक्षकले आफ्ना विद्यालयमा छात्रभन्दा छात्रा बढी रहेको कुरा गर्वका साथ सुनाए । मैले भने, गर्व नगर्नुस् । किनभने यो गर्व गर्ने कुरा होइन, दुःख मनाउने कुरा हो । किनकी उनीहरुका दाजुभाइ निजी विद्यालयमा होलान् या ठूला शहरमा पढ्दै होलान् ।’

हामी छोरी शिक्षालाई पहिलो जोड दिएका छौं । हाम्रो अभियान नै महिलालाई सशक्त बनाउने हो । महिलालाई ५० प्रतिशत आरक्षण दिने यो प्रदेश नै पहिलो होला । धेरै संघर्ष गरेर यो आरक्षणको नीति ल्याएका छौं । र, मेरो सपना छ २० बर्षपछि जिल्लाका एसपी महिला होस्, दलित होस् । म त्यो सपना पूरा गर्नेतर्फ लागेको छु ।

एउटा पुरुष अफिसरभन्दा महिला अफिसर इमान्दार हुन्छन्, म दावीका साथ भन्छु । जब एउटा महिलामाथि हिंसा, अत्याचार हुन्छ, त्यसलाई महिलाले नै रोक्न सक्छन् । महिलाको हातमा डण्डा भएपछि यो सम्भव हुनेछ । छोरी अभिशाप नभई वरदान हो । छोरीले पनि आमाबुवाको मृत शरीरलाई कन्धा दिनसक्छ । यो कुरा नबुझेसम्म महिला हिंसासम्बन्धी गोष्ठी गरेर केहि फरक पर्नेबाला छैन ।

महिलालाई कहिलेसम्म जलाउने ? छोरीलाई कहिलेसम्म बोझ मानिरहने ? छोरीले जति आमाबुवालाई माया गर्छिन्, त्यो छोराले कहिल्यै गर्न सक्दैन । यो ग्यारेन्टी हो । आमाबुवा बिरामी परेको सुनेपछि टाढा रहेका छोरी पनि आइपुग्छन् । अनि छोराहरु नजिक भएपनि आउन नसकिरहेको हामीले हेरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment