Comments Add Comment
सुदुरपश्चिममा कोरोनाबारे फितलो तयारी :

‘कोरोनाभन्दा दिल्ली दंगा ठूलो’ भन्दै नेपाल छिर्दै !

सुदूरपश्चिममा सुरक्षा गोष्ठीदेखि नारी दिवससम्म रोकिए

२२ फागुन कैलाली । भारतको राजधानी नयाँ दिल्लीबाट हरिकृष्ण गुप्ता पुरै परिवारसहित बिहीबार धनगढी आइपुगे । नोबेल कोरोना भाइरस (कोभिड–१९) को त्रास भइरहेका बेला भारतबाट नेपाल आएका गुप्ताको नेपाल र भारत दुबै देशमा स्थापना गरिएको हेल्थ डेस्कमा कुनै परीक्षण भएन ।

उनले कोरोना भारइसको त्रास नभएका कारण आफू यस विषयमा गम्भीर नभएको प्रतिक्रिया दिए । उनले भारतमा कोही पनि संक्रमित नभएको दाबी गरे । ‘दिल्लीमा दंगा भएको छ, त्यही दंगा कम गराउने उद्देश्यले कोरोनाको त्रास देखाइएको हो’ उनले भने, म त्यहाँको राजनीतिज्ञ पनि हुँ, भारतमा कोरोनाको कुनै त्रास छैन, मिडियाले त्रास फैलाएको मात्र हो ।’

बिहीबार नै भारतको अखिमपुरबाट नेपाल आएका चारुद्दिन अग्रवालले पनि दुबै देशको सीमाक्षेत्रमा स्थापना गरिएको हेल्थडेस्कमा कुनै चेकजाँच नभएको प्रतिक्रिया दिए ।

संसारभर कोरोना भाइरसको त्रास बढिरहेका बेला सीमाक्षेत्रमा स्थापना भएका हेल्थडेस्कमा लापरबाही भइरहको भन्दै अग्रवालले गुनासो गरे । ‘दुवै देशबाट आउने र जाने नागरिकको राम्रोसँग चेक हुनुपर्छ’ उनले भने ‘यस्तो महत्वपूर्ण विषयमा गम्भीर लापरवाही भइरहेको छ ।’

शक्तिशाली छिमेकी राष्ट्र चीनमा व्यापकरूपमा रहेको कोरोना भाइरस अर्को छिमेकी राष्ट्र भारतमा पनि देखिएपछि कैलालीमा थप त्रास बढेको छ । भारतका विभिन्न राज्यमा कोरोना प्रभावित व्यक्ति फेला परेका छन् ।

सुरुमा चीनमा देखिएको कोरोना भाइरस हालसम्म विश्वका ७७ वटा मुलुकमा फैलिएको छ । तर, अझैसम्म पनि नेपालको पश्चिम क्षेत्रमा सरकारले उदासीनता देखाउँदा जोखिम बढेको छ ।

नेपाली सीमामा फितलो व्यवस्थापन

कोराना भाइरस नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलालीको त्रिनगर भन्सार कार्यालय र डोकेबजारका साथै बैतडी, दार्चुला र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्क निर्माण गरेको छ ।

सीमा नाकाबाट वारपार गर्ने नेपाली नागरिकलाई सचेतना गराउन पर्चा, पम्प्लेट वितरण पनि गरिएको छ । प्रत्येक हेल्थ डेस्कमा अहेब स्तरीय स्वास्थ्यकर्मीलाई परिचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तर, मन्त्रालयले दाबी गरेअनुसारको व्यवस्थित छैन हेल्थ डेस्क ।

त्रिनगर भन्सारस्थित हेल्थ डेस्कमा खटिएका दिनेश ठकुल्लालाई एक्लै जेकजाँच गर्न भ्याई नभ्याई छ । उनी करिब एक महिनादेखि यहाँ एक्लै खटिएका छन् । जनशक्ति अभावमा चेकजाँचको काम प्रभावकारी हुन सकेको छैन ।

प्रत्येक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ पनि त्यही समयमा भारतका विभिन्न क्षेत्रहरूबाट सयौँ नेपालीहरू घर फर्किरहेका छन् । हेल्थ डेस्कमा रहेका ठकुल्ला बिहान १० देखि साँझ ५ बजेसम्म मात्रै बस्छन् । ‘म एक्लै छु, त्यसैले समस्या भइरहेको छ’ उनले भने, ‘कम्तिमा बिहान दुई जना र साँझ दुईजना गरी चार जना यहाँ रहनुपर्छ ।’

बिहान र साँझ सबैभन्दा धेरै नेपालीहरू घर फर्किने गरेको बताउँदै उनले भने, ‘यो समयमा ध्यान दिइएन भने भारतबाट संक्रमण नेपाल आउन कठिन छैन ।’

फागुन १ गतेदेखि नै कोरोनाबारे चेकजाँच गर्ने जिम्मेवारी पाएका ठकुल्लाका हातमा करिब तीन सातापछि एउटा उपकरण परेको छ । बुधबार मात्रै सामाजिक विकास मन्त्रालयले उनलाई थर्मामिटर गन उपलब्ध गराएको छ ।

त्यसअघि पहिलो एकसाता उनले हेल्थ डेस्क कुर्ने काम गरे भने अर्कै दुई साता पर्चा, पम्प्लेट वितरण गर्ने काम गरे ।

चेकजाँचका लागि आधुनिक प्रविधिसहितको व्यवस्था नहुँदा पनि समस्या भइरहेको उनले बताए । उनले बिहीबार बिहानसम्म ४० जनाको ज्वरो परीक्षण गरेको बताए ।

भारतको तयारी पनि उस्तै

भारतीय पक्षले पनि नाका नजिकै हेल्थ डेस्क निर्माण गरेको छ । भारतीय हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शिवम मिश्राले लखिमपुर खीरीबाट डाक्टरको टोली आएर स्वास्थ्य चेक जाँच गर्ने गरेको सुनाए ।

भारतीय नाकाबाट आवत–जावत गर्ने नागरिकलाई चेकजाँच गर्ने क्रममा कोरोना भाइरससम्बन्धी जानकारी गराएर पठाउने गरिएको उनले बताए ।

‘हामीले चेकजाँच क्रममा मास्क लगाउन र हात नमिलाउन सुझाव दिन्छौँ’ उनले भने ।

स्थल नाकाबाट तेस्रो मुलुकका नागरिकहरू आएमा बढी गम्भीर हुने गरेको उनी बताउँछन् । ‘जापान, चीन, अस्ट्रेलिया लगायतका देशहरूबाट आएका नागरिकलाई बढी निगरानी गरिन्छ’ उनले भने, ‘चीनबाट आएकाहरूलाई अझै बढी निगरानी गर्न निर्देशन छ ।’

एक साता पहिले सञ्चालन गरिएको हेल्थ डेस्कमा बिहीबार बिहानसम्म २५० जनाको स्वास्थ्य परीक्षण गरिएको मिश्राले जानकारी दिए । भारतीय स्वास्थ्यकर्मी मिश्राले भने, ‘हामी बिहानदेखि रातिसम्म चेकजाँचमा हुन्छौँ’ ।

दुबै देशले सीमा क्षेत्रमा हेल्थ डेस्क राखे पनि सीमा क्षेत्र वारपार गर्ने अधिकांश नागरिकले भने आफूलाई कुनै जानकारी नभएको बताए । उनीहरूले आफ्नो परीक्षणका लागि पनि कसैले आग्रह नगरेको बताए ।

यस्तो छ सरकारको तयारी

नोबेल कोरोना अर्थात् (कोभिड–१९) बाट जोगिन तीनै तहको सरकारले पूर्ण तयारी गरेको दाबी गरेको छ । संघीय सरकारअन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइसबाट सबैलाई जोगिन आग्रह गरेको छ ।

प्रशासनले ठूला सभा समारोह, महोत्सव, मेलालगायतका कार्यक्रम नगर्न सरोकारवाला अनुरोध गरेको छ ।

जिल्लामा बिरामी नभेटिए पनि सतर्कता अपनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए । ‘अहिलेसम्म बिरामी भेटिएका छैनन् । हामीले रोकथाममा जोडिएका छौँ’ उनले भने, ‘सेती प्रादेशिक अस्पतालमा शंकास्पद व्यक्तिहरूलाई भर्ना गर्नका लागि आइसोलेसनसहितका बेडहरू राख्ने कुरा भएको छ ।’

प्रदेश सरकारले पनि सतर्कताका लागि तीव्र तयारी गरेको जनाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको मन्त्री र सचिवहरूको बैठकले पूर्वतयारीका कार्ययोजना बनाउन र सचेतनामूलक कार्यक्रमहरू गर्न आह्वान गरेको छ ।

मास्क, थर्मामिटर, किट, पञ्जा, औषधी, उपकरण लगायत सामाग्रीहरूको आपूर्ति व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयलाई नियमित बजार अनुगमन गर्न भनिएको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कोरोना भाइरस भित्रिन नदिन मन्त्रालयले गर्नुपर्ने कामहरू गरिरहेको दाबी गरे ।

नेपाल भित्रिने विभिन्न देशको नागरिकहरुको डेस्कमै स्वास्थ्य चेक जाँच र उनीहरूमाथि निगरानी गर्ने कार्य भइरहेको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

‘कोरोना प्रभावित र तेस्रो मुलुकका नागरिकहरूलाई निगरानी र चेक जाँच गर्ने उद्देश्यले दुई हप्ता अगाडि नै सबै नाकामा डेस्क स्थापना गरिएको हो’, उनले भने, ‘शंका लागेका व्यक्तिहरूको ज्वरो र रुघाखोकी चेकजाँच गर्ने कार्य डेस्कमा खटिएका स्वास्थ्यकर्मीले गरिरहेका छन् ।’

चेकजाँचका क्रममा १०० डिग्रीभन्दा बढी ज्वरो भएका र रुघाखोकी लागेका व्यक्ति फेला परेमा परीक्षणका लागि अस्पताल पठाउने गरेको कार्कीले बताए ।

यसैबीच, धनगढी उपमहानगरपालिकाले धनगढीमा भेला, मेला, महोत्सव, उत्सव लगायत मानिसको भिडभाड हुने गरी कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ ।

साथीभाइसँग हात नमिलाउन, दुई मिटर टाढै बस्न, मास्क लगाउन र साबुन पानीले कुहिनासम्म हात सफा गर्न उपमहानगरपालिकाले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

उपप्रमुख सुशीला मिश्र भट्टले ठूलो भिडभाड गर्ने कार्यक्रम जोखिम पूर्ण रहेको भन्दै त्यस्ता कार्यक्रमहरू नगर्न निर्देशन जारी गरिएको बताइन् । आवश्यकता अनुसार विद्यालय पनि बन्द गरिने उनले बताइन् ।

‘अनुगमन गरेका छौँ । सोधपुछ गरेका छौँ । सबैलाई सुरक्षित राख्न यदि विद्यालय तत्काल बिदा दिनुपर्ने देखिन्छ भने त्यो पन गर्छौ’ उनले भनिन्, ‘तर, परीक्षा आउँदैछ । त्यसपछि त बिदा नै हुन्छ ।’

सुरक्षा गोष्ठीदेखि नारी दिवससम्म रोकिए

प्रशासनले ठूला सभा समारोह, महोत्सव, मेलालगायतका कार्यक्रम नगर्न आग्रह गरेपछि धनगढीमा हुने साना तथा ठूला धेरै कार्यक्रम स्थगित भएका छन् ।

कोरोनाकै प्रभावका कारण यही फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन लागेको सुरक्षा गोष्ठीसमेत तत्कालका लागि स्थगित गरिएको छ ।

यो पनि पढ्नुहोस कैलालीका विद्यालयमा परीक्षाको कार्यतालिका परिवर्तन

सामाजिक विकास मन्त्रालयले फागुन २५ गते मनाउने तयारीमा रहेको नारी दिवसको पनि सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । हामी ¥याली गोष्ठी केही गर्दैनौँ स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोनाको त्रासका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको हो ।

धनगढी उपमहानगरपालिकाले पनि कोरोनाकै प्रभावका कारण कयौँ कार्यक्रमहरू स्थगित गरेको उपप्रमुख सुशीला मिश्र भट्टले बताइन् ।

‘कोरोनाको जोखिमलाई मध्यनजर गरेर नगरपालिकाले गर्ने ठुला कार्यक्रमहरू नगर्ने सूचना जारी भइसकेको छ’ उनले भनिन्, ‘८ मार्चमा हुने अन्तर्रा्ष्ट्रिय महिला दिवसमा पनि धेरै कार्यक्रमहरू तय गरेका थिए । ती सबै स्थगित हुन्छ ।’

धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको भलिबल प्रतियोगिता पनि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment