
२२ फागुन, कैलाली । कैलालीका स्थानीय तहले परीक्षाको कार्यतालिका परिवर्तन गरेका छन् । संसारभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा लिई सक्ने सूचना गरे अनुसार परीक्षा कार्यतालिका परिवर्तन गरेका हुन् ।
टीकापुर नगरपालिकाले फागुन २८ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको छ । यसअघि चैत १६ गते गर्ने भनिएकोमा नयाँ तालिका अनुसार कक्षा ८ र एसईई बाहेकका परीक्षा फागुन २८ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन हुनेछन् । कक्षा ८ को परीक्षा चैत ६ गते बिहान र एसइई दिउँसो हुने जनाएको छ ।
त्यसैगरी जानकी गाउँपालिकाले पनि परीक्षा फागुन २९ देखि सुरु गर्न थालेको छ भने कक्षा ८ को परीक्षा पनि फागुन २८ बाटै सुरु गर्न लागिएको शिक्षा अधिकृत कमल खड्काले बताए ।
जोशीपुर गाउँपालिकाले फागुन २२ गतेदेखि चैत ५ सम्मको कार्यतालिका सार्वजनिक गरेको छ । जोशीपुर गाउँपालिका स्तरीय परीक्षा समितिका सचिव राजेशकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा उक्त कुरा जनाइएको छ ।
घोडाघोडी नगरपालिकाले पनि २८ गतेदेखि परीक्षा सुरु गर्न निर्देशन दिएको छ । त्यस्तै, भजनी, लम्की चुहा नगरपालिकामा पनि परीक्षा तालिका परिवर्तनको तयारीका लागि छलफल भइरहेको जनाइएका छन् ।
प्रतिक्रिया 4