Comments Add Comment

हुम्लामा पुनः हिमपात, कृषकलाई राहत

Photo Credit : फाइल तस्वीर

२४ फागुन, हुम्ला । हुम्लामा पुनः भारी हिमपात भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।

जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात सुरु भएको हो । हिमपातपछि जिल्लाको तापक्रम माइनस ५ मा झरेको छ ।

मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात सुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

स्याउ, ओखर, आरूलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यसपटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए । योपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment