Comments Add Comment

यस्तो छ होलिका दहनको नियम र पौराणिक कथाहरु

फागु पूणिर्माको महत्व

वर्षभरीको प्रतिक्षापछि रंगहरुको पर्व होली आउँछ । यो हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्येको एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूणिर्माको दिन समाप्त हुन्छ । यसपटक काठमाडौं उपत्यकासहित पहाडी भूभागमा फागुन २६ गते सोमबार तथा तराईमा फागुन २७ गते मंगलबार होली मनाइँदैछ ।

धार्मिक मान्यता अनुसार होलाष्टकको क्रममा कुनै पनि मांगलिक कार्य (विवाह, वहान खरिद गर्ने अथवा नयाँ घर किन्ने जस्ता मंगल कार्य) गर्नु हुँदैन । होलीको दिन पूजा-पाठ गर्नाले र भगवानको स्मरण र भजन गर्नाले शुभ फल प्राप्ति हुन्छ ।

के हो होलाष्टक ?

होलीको दिन भन्दा ८ दिन अगाडिका दिनहरुलाई होलाष्टक भनिन्छ । यो वर्ष होलाष्टक फागुन २१ बाट शुरु भएर फागुन २६ सम्म रहन्छ । हिन्दु क्यालेन्डर अनुसार फागुन मास शुक्ल पक्षको अष्टमीदेखि पूणिर्मा तिथिसम्म होलाष्टक मनाइन्छ । ज्यातिष शास्त्रका अनुसार होलाष्टकको ८ दिनमा मांगलिक कार्य गर्न निषेध हुन्छ । यो समयमा कुनै पनि मांगलिक कार्य गर्नुलाई अशुभ मानिन्छ ।

होलीका दिन गर्न नहुने कुराहरु

विवाह

होलीको पूर्व ८ दिनमा बिर्सेर पनि विवाह गर्नु हुँदैन । यो समय यदि  कुनै विशेष योग अथवा अन्य केही छैन भने विवाहका लागि शुभ मानिँदैन ।

नामकरण एवं मुण्डन संस्कार

होलीको दिन आफ्नो बच्चाको नामकरण अथवा बर्तवन्ध जस्ता संस्कार गर्नु हुँदैन ।

भवन निर्माण

होलीको समयमा कुनै पनि भवन निर्माण कार्यको प्रारम्भ गर्नु हुँदैन । होलीपछि मात्र नयाँ भवन निर्माणको कार्य शुभारम्भ गर्नु पर्छ ।

हवन-यज्ञ

होलीको दिन कुनै पनि यज्ञ अथवा हवन अनुष्ठान गर्ने सोच्नु भएको छ भने त्यसलाई होली पछाडि गर्नु पर्छ । यो समयमा त्यस्ता अनुष्ठान गराउनाले त्यसको तपाईंले अपूरो फल प्राप्त गर्नु हुन्छ ।

जागिर

होलीको समयमा नयाँ जागिरको थालनी गर्नु हुँदैन । यदि होलीपछिको समय जागिरको थालनी भयो भने राम्रो हुन्छ । अन्यथा यसका लागि कुनै ज्यातिषाचार्यसंग शुभसाइत देखाउनु पर्छ ।

भवन र वाहन आदिको खरीदारी

सम्भव छ भने होलीको दिन भवन, वाहन आदिको खरीदारी गर्नबाट बच्नु पर्छ । शगुनको रुपमा पनि पैसा अथवा अन्य कुरा दिनु हुँदैन ।

होलीको दिन पुजा अर्चना गर्नु पर्छ

होलीको समयमा अशुभ हुने भएकाले मांगलिक कार्यहरु गर्नु हुँदैन । तर होलीको दिन भगवानको पुजा-अर्चना गरिन्छ । यो समयमा तपाईंले आफ्नो ईष्टदेवताको पूजा-अर्चना इत्यादि गर्न सक्नु हुन्छ ।

होलिका दहन

होलि पर्वलाई पहाडमा भन्दा पनि तराईमा विशेष उल्लासका साथ मनाइन्छ ।  तराईमा होलीको भिन्दै किसिमको महत्व पनि रहेको छ । होलिका दहन, होली पर्वको पहिलो दिन फागुन महिनाको पूणिर्माका दिन मनाइन्छ । होलीको अघिल्लो दिन तर्राइमा रंगहरु खेल्ने परम्परा छ, जसलाई धुलेडी, धुलंडी र धुलि आदि नामहरुले पनि चिनिन्छ । होली पर्वलाई असत्यमा सत्यको विजयको उपलक्ष्यमा पनि मनाइन्छ । पूणिर्माको दिन होलिका दहन गरिन्छ ।

होलिका दहन, जसलाई सानो होली पनि भनिन्छ, यसको अघिल्लो दिन पूर्ण हर्षोल्लासका साथ रंग खेल्ने विधान रहेको छ र अबीर-गुलाल आदि एक-अर्कालाई लगाएर र अकंमाल गरेर यो पर्वलाई मनाइन्छ ।

होलिका दहनको इतिहास

होलिको महत्व
बारेमा  प्राचिनकालदेखि नै रहिआएको छ । यसको बारेमा ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । त्यस्तै होली पर्वलाई शताब्दीका विभिन्न चित्रहरुमा पनि चित्रण गरेको पाइन्छ । यो दिन भगवान श्रीकृष्णले पूतना नामक राक्षसीको वध गरेको र यही खुशीमा गोपिनीहरुले भगवान श्रीकृष्णसंग होली खेलेका थिए भन्ने पनि विभिन्न मानिसहरुको मान्यता रहेको छ ।

होलिका दहनका पौराणिक कथाहरु

पुराणहरुका अनुसार दानवराज हिरण्यकश्यपले आफ्नो छोरा प्रह्लादले केवल विष्णु भगवान मात्र पूजा-आरधना र ध्यानमा मग्न भएको देखेर उनी क्रोद्धित हुन्छन् । जसका कारण उनले आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर आगोमा बस्न आदेश दिन्छन्, किनभने होलिकालाई आगोले हानी गर्न नसक्ने वरदान प्राप्त भएको थियो ।

तर अवस्था त्यसको ठिक विपरित भयो । होलिका जलेर भष्स भइन् भने भक्त प्रह्लादलाई केही पनि भएन । त्यहि घटनालाई सम्झेर यो दिन होलिका दहन गर्ने विधान रहेको छ । यसरी ईश्वरले आफ्ना अनन्य भक्तहरुको रक्षाका लागि सधैं उपस्थित हुन्छन भन्ने कुरा होली पर्वले सन्देश दिन्छ ।

होलीमा प्रचलित अन्य कथाहरु

कामदेवको कथा

होलीसंग सम्बन्धित कामदेवको पनि एउटा कथा छ । माता पार्वती शिवसंग विवाह गर्न चाहन्थिन्, तर तपस्यामा लीन भएका शिवले माता पार्वतीलाई वास्तै गरेनन् । त्यस्तो अवस्थामा प्रेमको देवता कामदेव अगाडि आएर उनले शिवलाई पुष्प बाण प्रहार गरे । जसकाकारण शिवको तपस्या भंग भयो । शिवलाई आफ्नो तपस्या भंग भएको देखेर अति नै रिस उठ्यो । जसका कारण उनले आफ्नो तेस्रो आँखा खोले । उनको तेस्रो आँखाबाट क्रोधयुक्त अग्नि निस्केर कामदेवलाई भस्म गरिदियो ।

कामदेव भस्म भएपछि उनकी श्रीमती रतिले अनेक विलौना गर्न थालिन् र शिवलाई आफ्नो श्रीमान् कामदेवलाई जीवित गर्नका लागि अनुरोध गरिन् । केही समयपछि शिवको रिस शान्त भैसकेको थियो र उनले कामदेवलाई पुनर्जीवित गरिदिए । कामदेव भस्म भएको दिन होलिका जलाइन्छ भने उनी पुनर्जीवीत भएको खुशीयालीमा रंगहरुले होली पर्व मनाइन्छ ।

महाभारतको यस्तो कथा

महाभारतको एउटा कथाका अनुसार युधिष्ठिरलाई श्रीकृष्णले सुनाए-‘एक पटक श्रीरामका पूर्वज रघुको शासनमा एउटा असुर महिला थिइन् । उनलाई कसैले पनि मार्न सक्दैन थियो, किनभने उनी एउटा वरदानद्वारा संरक्षित थिइन् । उनलाई मैदानमा खेलिरहेका बच्चाहरुबाहेक कसैबाट पनि डर थिएन् । त्यसैले एक दिन गुरु वशिष्ठले उसलाई मार्न सकिन्छ, त्यसका लागि एउटा उपाय छ भनेर सुनाए ।

यदि बालबालिकाले आफ्नो हातमा काठका साना टुक्राहरु लिएर शहर बाहिर जाने र त्यहाँ अरु सुकेका घाँसहरु जम्मा गरेर उक्त काठको टुक्रा पनि संगै जलाउने । उक्त अग्निको चारैतिर परिक्रमा गर्ने, नृत्य गर्ने, ताली बजाउने, गीत गाउने र ढोल बजाउने गर्नु पर्छ । गुरु बशिष्ठले भनेको जस्तो नै गरियो र ती असुर महिलाको मृत्यु भयो । यो दिनलाई एउटा उत्सवको रुपमा मनाइयो जुन असत्यमाथी सत्यको विजयको प्रतिक हो ।’

श्रीकृष्ण र पूतनाको कथा

होलीसंग श्रीकृष्णको गहिरो सम्बन्ध रहेको छ । यो पर्वलाई जसरी राधा-कृष्णको प्रेमको प्रतिकको रुपमा हेरिने गरिन्छ, त्यसरी नै पँैराणिक कथाका अनुसार जब कंशलाई श्रीकृष्ण गोकुलमा भएको कुरा थाहा हुन्छ, उसले पूतना नामक राक्षसीलाई गोकुलमा जन्मेका समस्त बच्चाहरुलाई मार्नका लागि पठाउँछन् ।

पूतना स्तनपानको वहानामा सबै बच्चाहरुलाई विषपान गराउनु पर्ने थियो, तर उनको वास्तविकता श्रीकृष्णले बुझिसकेका थिए । उनले स्तनपान गर्दा-गर्दै उनको वध गरिदिए । भनिन्छ-त्यो समयदेखि नै होली पर्व मनाउने मान्यता शुरु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment