Comments Add Comment

‘गाउँमै पिच सडक देख्न पाउँछुजस्तो लागेको थिएन’

२६ फागुन, गोरखा । घर छेउको सडक कालोपत्रे हुन थालेपछि अजिरकोट गाउँपालिका–४ सिरानडाँडाकी रसमाया तामाङ हिजोआज दंग छिन् ।

‘यो बाटो पिच भएको देख्न पाउँछु जस्तो लागेको थिएन,’ उनले भनिन्, ‘तर अहिले धमाधम पिच भइरहेको छ, खुशी छु ।’

गाउँमा सामान्य व्यापार गरेर बस्ने उनी भच्चेकबाट हिँडेर सामान ल्याउनुपर्दाको दुःख सम्झन्छिन्, ‘सामान बोकेर तीन घण्टा उकालो बाटो हिँड्नुपथ्र्याे, सडक भए पनि गाडी आउन सक्दैनथ्यो ।’

गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले गोरखा सदरमुकामदेखि भच्चेकसम्म जीपको जोखिमपूर्ण यात्रा बिर्सन सकेकी छैनन् । ‘बजारबाट भच्चेक आउन थोरैमा चार घण्टा लाग्थ्यो, सडकको अवस्था बिजोग, यात्रा गर्न पनि डराइमर्नु थियो, फेरि ठाउँठाउँमा गाडी फस्ने, नओर्लेसम्म डर लागिरहन्थ्यो,’ उनले भनिन् ।

तर अहिले कालोपत्रे भएपछि यात्रा छोटो र सहज भएको उनी बताउँछिन् । उनका अनुसार अहिले करिव दुई घण्टामा गोरखा सदरमुकामबाट भच्चेक पुगिन्छ ।

सिरानचोक गाउँपालिकाको नयाँ गाउँदेखि अजिरकोट गाउँपालिकाको सिरानडाँडासम्मको १३.८६ किलोमिटर सडक अहिले कालोपत्रे भइरहेको छ ।

भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तर्गत काम भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ गोरखाले जनाएको छ ।

द्रव्यशाह सडकखण्ड अन्तरगत पर्ने उक्त सडक कालोपत्रे गर्ने जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले पाएको हो । करिव ३३ करोड रुपैयाँ लागतमा सडक कालोपत्रे हुन लागेको इकाइ प्रमुख रामशरण आचार्यले बताए ।

उनका अनुसार २०७५ असार २२ गते सम्झौता भएको उक्त काम २०७६ माघ ४ गते सक्नुपर्ने थियो । काम सम्पन्न नभएपछि अहिले साँढे चार महिना म्याद थप गरिएको छ । करिव ८० प्रतिशत काम सकिएको निर्माण कम्पनीको दावी छ ।

लुइँटेल भञ्ज्याङ भच्चेक सडकखण्ड अन्तरगतको लुइटेल भञ्ज्याङ देखि नयाँ गाउँसम्मको करिव ३० किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ । भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तरगत एशियाली विकास वैंकको करिव ७० करोड रुपैयाँ र स्वीस सरकारको प्राविधिक सहयोगमा उक्त सडक कालोपत्रे भएको इकाइ प्रमुख आचार्यले बताए ।

अनुगमनमा सीडीओ

गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलल शुक्रबार लुइँटेल भञ्ज्याङ भच्चेक सडक खण्डको अनुगमन गरेका छन् । समयमै काम सक्न उनले ठेकेदारलाई निर्देशन समेत दिए ।

सोही क्रममा उनले पालुङटार नगरपालिका लुइटेलमा रहेको अमरज्योति जनता माविको निर्माणाधीन भवन समेत अनुगमन गरे । त्यस क्रममा विद्यार्थीका लागि कक्षा पनि लिए । ‘धेरै विद्धान व्यक्तित्वहरु जन्माएको स्कुल हो यो, सधै यस्ता व्यक्तिहरु बिद्यालयले जन्माइरहोस्’ उनले शुभकामना दिए ।

आँपपिपल सामुदायिक अस्पताल पुगेर उनले प्रशासन अधिकृत बाबुराम गिरीसँग अस्पताल सञ्चालनको विधि र अवस्थाबारे जानकारीसमेत लिएका छन् । ‘म जिल्ला आएको एक महिना भयो, अब विकासे कामको अनुगमनलाई निरन्तरता दिन्छु,’ उनले अनलाइखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment