Comments Add Comment

‘बेचबिखनविरुद्धको अभियानले पनि पित्तृसत्तालाई बल पुर्‍याउँछ’

सशक्तीकरणमुखी मानव बेचबिखनविरुद्धको सचेतनामूलक कार्यक्रम प्रभावकारी

२६ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार २०७५/०७६ सालमा १७५ वटा मानव बेचबिखनसम्बन्धी उजुरीहरु प्रहरीमा दर्ता भएका थिए । तर, सोही समयावधिमा नेपालका समस्याग्रसित ४२ जिल्लामा ५ हजार १७३ जना हराए ।

यस अवधिमा देशभरिबाट १ हजार २५७ जना बालबालिकाहरु हराएको आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा जनाएको छ । र, प्रतिवेदनले हराएका व्यक्तिहरुमध्ये अधिकांश बेचबिखनमा परेको हुन सक्ने आँकलन गरेको छ ।

मानव बेचबिखनलाई जनमानसले सामान्य तवरमा अन्तरदेशीय र यौन व्यापारसँग जोडेर हेर्ने हुनाले बेचबिखनको मुद्दाको संख्या थोरै देखिएको कुरा उक्त प्रतिवेदनमा लेखिएको छ ।

तर, विदेशी अनुसन्धानकर्ताहरुले नेपालमा गरेको अनुसन्धानमा भने यस्तो मानव बेचबिखन अन्तरदेशीय मात्र नभएर देशभित्रै पनि भइरहेको देखिएको छ । र, मानव बेचबिखन महिला हिंसासँग मात्र जोडिएको नभई पुरुषसमेत बेचबिखनमा परेको अनुसन्धानबाट देखिएको छ ।

यसै सन्दर्भलाई लिएर हामीले यसक्षेत्रमा १५ वर्षको अनुभव सँगालेकी क्यानडेली अनुसन्धानकर्ता डा. साराह रिच–जेन्डेलसँग कुराकानी गरेका छौं ।

साराह हाल बर्क्लीस्थित क्यालिफोर्निया विश्वविद्यालय र योर्क विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको ह्युमन ट्राफिकिङ भल्नरेबिलिटी सर्भे’ की वरिष्ठ अनुसन्धान प्रवन्धक हुन् । उनले योर्क युनिभर्सिटीमा एसएसएचआरसी पोस्ट डक्टोरल रिसर्च फेलोशिप ग्रहण गरेकी छिन् ।

उनी हाल मानव बेचबिखनविरुद्धका सचेतना अभियानको प्रभावका बारेमा अनुसन्धान गरिरहेकी छिन् । सुनौं डा.साराहको अनुभव–

नेपालभित्र मानव बेचबिखनको अवस्था के कस्तो छ ?

नेपालमा यौन प्रयोजनका लागि मात्र नभई धेरै कुराहरुमा मानव बेचबिखन हुने गरेको छ । उदाहरणका लागि इँटाभट्टाहरुमा बाल श्रमका लागि गरिने बेचबिखन अथवा काठमाडौंको मनोरञ्जन क्षेत्र हुन सक्छ ।

 

धेरैजसो महिला काठमाडौंमा काम खोज्दै आएका र जबर्जस्ती यी क्षेत्रमा काम गर्न लगाइएको हुन सक्छ । तर, मानिसहरु अन्तरदेशीय बेचबिखनबारे सचेत भए पनि यस्ता घटनाबारे सजग नभएको पाइएको छ ।

धेरै अभियानहरूमा प्रायः सरल वा सनसनीखेज उदाहरणहरू प्रस्तुत गरिएको हुन्छ । तर, मानव बेचबिखनमा देखाइए जस्तो एउटा दलालको
मात्र भूमिका हुने नभई वास्तविकतामा धेरै जटिल सञ्जाल हुने गरेको छ । उदाहरणका लागि मानिसहरुले रोजेको वैदेशिक रोजगारमा शोषण हुने गर्छ ।

धेरै ऋण लिएर विदेश गएकाहरुले त्यहाँ जाँदा अर्कै काम गर्नुपरेको वा पैसा थोरै पाएको उदाहरणहरु छन् । यी सबै प्रकारका गतिशीलताले बेचबिखनको कहानी एक एजेन्टको भन्दा जटिल भएको देखाउँछ । यस्तो सञ्जाल धेरै जटिल हुन सक्छ, जसबारे सजग हुन धेरै जरुरी छ ।

तपाईंको अनुसन्धानबाट चाहिँ के–के कुरा पत्ता लागेको छ ?

हामीले २०१३ देखि मानव बेचबिखनविरुद्धको सचेतना अभियान कत्तिको प्रभावकारी छ भनेर अध्ययन गरिरहेका छौँ ।

नेपालमा धेरै अन्तर्राष्ट्रिय र स्थानीय संगठनहरूले देशभरि प्रचार अभियानमा धेरै पैसा र संसाधन लगानी गरिरहेका छन् । तर, यी सचेतनामूलक कार्यक्रमले मानिसको मनोवृत्तिमा कस्तो असर परेको छ भन्ने कुराको अहिलेसम्म गहन अध्ययन भएको छैन ।

हामीले यो अध्ययनमार्फत नेपालको मौलिकतालाई ध्यानमा राख्दै कस्ताखाले अभियान चलाउँदा राम्रो हुन्छ भन्ने कुराको अध्ययन गरिरहेका छौँ । १० जिल्लामा लगभग पाँच हजार जनामा गरिएको अध्ययनमा हामीले सचेतना अभियान अघि र पछिको अवस्थाबारे अध्ययन गरेका छौँ ।

धेरैजसो अभियानहरुले सचेतनाका लागि डरको प्रयोग गरेका छन् । र अरुले सशक्तीकरणलाई केन्द्रमा राखेका छन् । सचेतना कार्यक्रम केही रेडियाेमा आउँछन् भने केहीले पोष्टरको प्रयोग गर्छन् । हामीले यी सबै कुराको अध्ययन गर्दा सशक्तिकरणको माध्यमबाट गरिने सचेतनामूलक अभियानहरु प्रभावकारी हुने गरेका छन् ।

प्रायजसो यस्ता अभियानहरु किन अन्तरदेशीय मानव बेचबिखनमा केन्द्रित हुन्छन् ?

नेपालमा मानव बेचबिखन अन्तरदेशीय मात्रै हुन्छ भन्नेखाले विश्वास हावी भएको छ । तर, नेपाल र अन्य देशहरुमा पनि आन्तरिक बेचबिखन एकदमै बढ्दै गएको अवस्था छ ।

धेरैजसो अभियानहरुले प्रायः अन्तरदेशीय बेचबिखनबारे मात्रै सचेतना गराउने हुँदा धेरै मानिसहरुले आन्तरिक बेचबिखनबारे थाहा पाउँदैनन् । यो कारणले गर्दा मानिसहरु आफुलाई असुरक्षित बनाउने कुराहरुमा ध्यान दिँदैनन् ।

हाम्रो अध्ययन मानव बेचबिखनको व्यापकता मापन गर्नु नभई सस्तोखाले सचेतनामूलक कार्यक्रमले मानिसहरुलाई आन्तरिक र वाह्य तस्करीबाट सजग बनाउँछ भनेर हेर्न खोजेको छ र मानव तस्करी अन्तरदेशीय मात्रै हुन्छ भन्ने भ्रमलाई हटाउन खोजेको छ । र यस्ता मिथ्या कुराहरुलाई सुल्झाउन खोजेका अभियानहरु प्रभावकारी भएका हामीले पाएका छौँ ।

असुरक्षित मानिएको समूहमा गरिबी धेरै भएको अवस्थामा के यस्ता अभियानहरु काम लाग्छन् ?

जागरूकता बढाउनु भनेको एउटा धेरै ठूलो उपकरणको बाकसमा केवल एउटा सानो उपकरण हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । धेरै मानिसहरू आर्थिक मुद्दाहरू र गरीबी वा रोजगारीको अभावका कारण बसाइँ सर्ने गर्छन् । सचेतना कार्यक्रमहरुले यस्ता समस्या समाधान गर्न सक्दैन ।

जोखिम कम गर्ने सन्दर्भमा यसले गर्न सक्ने कुरा सीमित छ र यो केवल ठूला सामाजिक परिवर्तनहरूको एक सानो हिस्सा हुन सक्छ ।

पितृसत्ता र मानव बेचबिखनलाई कसरी नेपालको मामलासँग जोड्न सकिन्छ ?

धेरै व्यक्तिले मानव बेचबिखनलाई यौन बेचबिखनका रुपमा लिन्छन् र उनीहरूले महिलामात्रै मानव तस्करीका सबै पीडित हुन् भनेर सोच्दछन् । त्यसै गरी, धेरै अभियानहरूले महिलालाई ‘एजेन्सीको कमी’ भएको अर्थमा प्रतिनिधित्व गराउँछ वा धेरै आश्रय लिनुपर्ने र उद्धार गर्न आवश्यक पर्ने रुपमा प्रस्तुत गराउँछन् ।

त्यसले महिला र उनीहरूको एजेन्सीका बारेमा पुरुषप्रधान विचारहरू धेरै सुदृढ पार्न सक्छ । चाहे त्यो महिलाको रोजगारीबारे होस् अथवा अरु कुरा । पुरुषहरू पनि धेरै बेचबिखनको शिकार हुन्छन् भन्ने कुरा महत्त्वपूर्ण छ।

नेपालमा महिला सशक्तीकरणको स्थिति कस्तो देख्नुभयो ?

नेपालमा मेरो १५ वर्षको बसाईमा मैले धेरैवटा अनुसन्धान गर्ने मौका पाएकी छु । मैले गरेका अध्ययनहरुमा कारागारमा महिलामाथि हुने विभेद, महिला सशक्तीकरणमा उचित व्यापारको प्रभाव आदि पर्छन् ।

लैंगिक असमानतालाई सम्बोधन गर्न र पितृसत्तालाई सम्बोधन गर्न यहाँ दुनियाँका अरु कुनाका अधिकारकर्मीहरुले पनि सिक्न सक्ने धेरै उत्साहजनक कार्यहरु भइरहेका छन् । तर, यहाँ लैंगिक विषयमा अन्तर्राष्ट्रिय विकासको धेरै प्रभाव छ जस्तो लाग्छ, जसले मूलभूत अधिकारकर्मीको आवाजलाई दबाएको छ र स्थानीय अधिकारकर्मीहरुको काम नदेखिने पनि अवस्था छ ।

जस्तै ?

उदाहरणका लागि, मैले उचित व्यापारको अध्ययन गर्दा पाल्पाको ढाका बुनाइबारे खोज गर्ने मौका पाएकी थिएँ । ढाका बुनाइ नेपालको मौलिक कुरा हो र यसलाई कलाका रुपमा प्रवर्द्धन गर्ने धेरै अवसरहरु छन् ।

तर उचित व्यापारको कुरा आउँदा बाहिरबाट प्रमाणीकरण र डिजाइनहरू ल्याउँदा त्यहाँ काम गर्ने धेरै महिलाहरु असन्टुष्ट भएको र उनीहरुले आफ्नो काममा गर्ने गर्वमा कमी आएको मैले पाएकी थिएँ ।

त्यसैले, हामीले महिला सशक्तीकरणका लागि उचित व्यापार आवश्यक भएको देखे पनि त्यो आउनु अगाडि नै महिलाहरु सशक्त थिए र आफ्नो काममा गर्व गर्दथे ।

उनीहरुको काममा आफ्नो नियन्त्रण र उत्साह थियो । हामीले तर्जुमा नै नगरी नौलो कार्यक्रम ल्याउँदा त्यस्ता कार्यक्रमहरु सार्थक र प्रभावकारी हुने एउटा ‘टेकन फर ग्रान्टेड’ रुपमा लिन्छौँ ।

(यस सामग्रीको पूर्वप्रकाशित शीर्षकले गलत सन्देश दिएकाले क्षमायाचना सहित सच्याइएको छ । -सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment