Comments Add Comment

फर्कियो जुलियाको टोली, मिस वर्ल्ड होला त नेपालमा ?

२६ फागुन, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा आएको मिस वर्ल्ड को टोली शनिबार फर्कियो । आगामी मिस वर्ल्ड नेपालमा गर्न इच्छा व्यक्त गरे पनि सरकारसित कुनै ठोस समझदारी नगरी टोली फिर्ता भएको हो ।

मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस वर्ल्ड टोनी एन सिंहसहितको टोलीलाई मिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरले नेपाल ल्याएको थियो । उनीहरु मकवानपुर र हेलम्बुसम्म पुगेर पूर्व मिस नेपाल श्रृंखला खतिवडा र हालकी मिस नेपाल अनुष्का श्रेष्ठको प्रोजेक्ट अवलोकन गरेका थिए ।

त्यसअघि उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग शिष्टाचार भेटघाट गर्दै नेपालमा मिस वर्ल्ड आयोजना गर्न सकिने विषयमा छलफल गरेका थिए ।

पर्यटन सचिव केदारबहादुर अधिकारीले फर्किनुअघि मिस वर्ल्डको टोलीसँग संवाद नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हिडेन ट्रेजरसँग उहाँहरुको थप कुरा भयो कि ? सरकारसँग चाहिँ छलफल अघि बढेको छैन ।’

पर्यटनमन्त्रीसँग मिस वर्ल्डको टोलीले गरेको भेटघाट ‘शिष्टाचार’ का लागि मात्रै भएको अधिकारीले बताएका छन् ।

‘नेपाल आएको बेलामा भेट गर्ने इच्छा उहाँहरुले राखेपछि मन्त्रीज्यू पनि तयार हुनुभयो । त्यसमा उहाँहरुको तर्फबाट मिस वर्ल्ड नेपालमा गर्न सकिने आशय प्रस्तुत हूँदा मन्त्रीज्यूले पनि सरकारबाट सकेको सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । यो एकदमै प्रारम्भिक कुराकानी भएकाले दुवैतर्फबाट कुनै प्रस्ताव पेश भएको छैन,’ अधिकारीले भने ।

हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपतिले भने मिस वर्ल्डको टोलीले काठमाडौंको ‘लोकेसन’ मन पराएको बताए । आगामी दिनमा सरकार र मिस वर्ल्ड आयोजकबीचको कुरानकानीमा हिडन ट्रेजरले मध्यस्थता गर्ने उनको भनाइ छ ।

‘काठमाडौंमा मिस वर्ल्ड गर्ने विषयमा उहाँहरु एक्साइटेड देखिनुभएको छ, अब यो हिडन ट्रेजरले सरकार र आयोजक संस्थाबीच संवाद अघि बढाउने छ,’ कक्षपतिले भने, ‘नेपालमा मिस वर्ल्ड आयोजना गर्न सम्भव छ र गर्नुपर्छ भन्ने पक्षमा हामी छौं ।’

७० औं मिस वर्ल्डको मिति र स्थान अहिलेसम्म तय भएको छैन । तर, डिसेम्बरभित्रमा यसको आयोजना गर्नुपर्छ । त्यसैले यसका लागि बढीमा ९ महिना समय बाँकी छ । पर्यटन सचिव अधिकारी मार्चभित्रै टुंगो लागेमा मात्रै मिस वर्ल्ड नेपालमा गर्न सकिने सम्भावना रहेको बताउँछन् ।

‘मुख्य कुरा उहाँहरुको इच्छा हो । हाम्रो तर्फबाट आवश्यक सहयोग हुन्छ भनेका नै छौं । उहाँहरुले मार्चभरिमा निर्णय दिएमा मात्रै यसको आयोजना नेपालमा गर्न सकिने सम्भावना रहन्छ,’ उनले भने ।

मिस वर्ल्ड आयोजना गर्न सबैभन्दा पहिलो चुनौती आयोजनास्थलकै हुने बताउँछन्, हिडन ट्रेजरका कक्षपति । विश्वका सयौं पाहुना सहभागी हुने कार्यक्रमका लागि ठूलो क्षेत्रफलमा फैलिएको आयोजनास्थल नेपालमा छैन । तर, पनि अस्थायी संरचना बनाएर कार्यक्रम गर्न सकिने उनको राय छ ।

‘हालै काठमाडौंमा हामीले विभिन्न देशका हजारौं खेलाडी भेला गराएर साग प्रतियोगिता सफल रुपमा सम्पन्न गर्‍यौं । मिस वर्ल्ड पनि गर्न नसक्ने भन्ने नै छैन । यसमा म कुनै ठूलो चुनौती देख्दिनँ,’ उनले भने ।

मिस वर्ल्ड नेपालमा आयोजना हुँदा नेपालको पर्यटन प्रवद्र्धन हुने मात्र नभएर विश्वस्तरमा नेपालको छवि बदलिन सक्ने उनको दावी छ ।

‘टेलिभिजनमा विश्वका पचासौं करोड मानिसहरुले मिस वर्ल्ड प्रत्यक्ष हेर्छन् । उनीहरुले नेपाललाई चिन्ने छन् । हामीले मिस वर्ल्डका सहभागीलाई विभिन्न पर्यटकीय गन्तव्यहरुमा पुर्‍याएर हामीले आफ्नो पर्यटन क्षेत्रको कायापलट गर्न सक्छौं,’ उनले भने ।

यता सरकार भने यसअघि आईफा अवार्डको तीतो अनुभवले गर्दा मिस वर्ल्ड आयोजनामा तत्परता देखाउन हच्किएको छ । भारतीय फिल्म अवार्ड आईफालाई नेपाल सरकार आयोजक बनेर काठमाडौंमा आयोजना गर्ने तयारी हुँदा तीव्र विवाद उत्पन्न भएको थियो । अन्ततः सरकार यसबाट पछि हटेको थियो ।

तर, आईफा र मिस वर्ल्ड निकै फरक इभेन्ट भएको बताउँछन् कक्षपति ।

‘यो विश्वभरिका देशले भाग लिने इभेन्ट भएकाले विवाद हुने वा गर्नुपर्ने प्रश्नै आउँदैन,’ उनले भने । साथै आयोजनाको सम्पूर्ण खर्च नेपालले बहन गर्नु पनि नपर्ने कक्षपतिको भनाइ छ ।

‘मिस वर्ल्डमा आउने सहभागीहरुको हवाई टिकट सम्बन्धित देशका संस्थाले नै बहन गर्छन् । उनीहरु हाम्रो एयरपोर्टमा उत्रिएपछि मात्रै नेपाल सरकारको जिम्मेवारी हुन्छ । समारोहमा लाग्ने खर्च आयोजककै हुन्छ,’ उनले भने । सहभागीहरुलाई नेपालका पर्यटकीय गन्तव्यहरुमा पुर्‍याउन सरकारले खर्च गर्नुपर्ने उनी बताउँछन् ।

‘यो नेपालका लागि दीर्घकालीन फाइदाको कुरा हो । अहिले थोरै खर्च गर्दा लामो समय यसबाट फाइदा लिन सकिन्छ,’ उनले भने, ‘भिजिट नेपाल मनाइरहँदा यसलाई सफल पार्न पनि यस्ता इभेन्ट जरुरी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment