Comments Add Comment

सेयर बजारमा ‘नेगेटिभ सर्किट’

२७ फागुन, काठमाडौं । सेयर बजारमा दोस्रो पटक नेगेटिभ सर्किट लागेको छ । कारोबार शुरु भएको एक घण्टा वित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ११ बजेर ५९ मिनेटमा ब्रेक लागेको थियो ।

पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक १२ः३१ मा पुनः ब्रेक लागेको थियो । ५.०२ प्रतिशतले बजार घटेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

ब्रेक लाग्दासम्म नेप्से परिसूचक ७२ दशमलव ०३ अंकले घटेर १३६३ दशमलव ६६ अंकमा झरेको छ । कारोबार रकम अर्ब नपुग्दै रोकिएको छ ।

यस अवधिसम्म भएका ८ हजार १ कारोबारबाट २३ लाख ११ हजार ५९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ९१ करोड ८० लाख ९७ हजार १ सय ४६ रुपैयाँमा रोकिएको छ ।

शेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार-चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बिचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

ब्रेक लागेको अवस्थामा पहिलो घण्टा २० मिनेट, दोस्रो घण्टा ४० मिनेट र त्यसपछि ब्रेक लागे दिनभरकै कारोबार स्थगन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment