+
+
Shares

सेयर कारोबारको समय थप्न नेप्सेले थाल्यो छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १०:११

२७ फागुन, काठमाडौं । केही समययता सेयर कारोबारका लागि समयावधि थप गर्ने विषयमा छलफल भइरहेको छ । नेपाल धितोपत्र बोर्डले अध्ययन गर्नका लागि नेपाल स्टक एक्सचेञ्जलाई भनेसँगै कारोबार समय थप गर्ने विषयमा छलफल शुरु भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कारोबार समयावधि थप्नका लागि गृहकार्य शुरु गरिएको जानकारी दिए । चाँडै सरोकारवालाहरुसँग छलफल गरिने र उनीहरुको सुझावसमेत समेटेर आवश्यक निर्णय हुने साउदले बताए ।

‘अध्ययन गर्नु भनेर बोर्ड पत्राचार गरिसकेको छ, हामीले छलफल पनि शुरु गरिसकेका छौं’ नेप्सेका सीईओ साउदले भने, ‘हामीले यस विषयमा चाँडै ब्रोकर, सीडीएससी लगायतसँग छलफल गर्छाैं, अनि निर्णय हुन्छ ।’

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद

उनका अनुसार अहिले एकघण्टा समयावधि थप्ने कि भन्ने विषयमा छलफल शुरु भएको हो । अहिले आइतबारदेखि बिहीबारसम्म (सार्वजनिक बिदाबाहेक) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुने गरेको छ ।

यसलाई संशोधन गरेर बिहान १०ः३० देखि कारोबार शुरु गरेर ३ः३० सम्म कारोबार गर्ने गरी छलफल अघि बढेको बताए । उनले कारोबारको समयावधि थप्नका लागि नेप्सेलाई कुनै समस्या नपर्नेसमेत बताए ।

‘हामीलाई समय थप्न केही गाह्रो छैन, प्राविधिक कर्मचारीहरुले अलि धेरैबेर खटिनुपर्ने मात्रै हो’ साउदले भने, ‘क्लियरिङ हाउस, डीपी, ब्रोकरहरुको समस्या कस्तो छ भनेर बुझ्ने क्रममै छौं, उनीहरुसँगको छलफलपछि आवश्यक निर्णय हुन्छ ।’

अन्य देशहरुमा साधारणतया ४ देखि ५ घण्टासम्म दैनिक कारोबार खुला हुने गरेको सीइओ साउदले बताए । छिमेकी मुलुक भारतमा भने ९ः ३० बाट शुरु भएर ३ः ३० सम्म सेयर कारोबार हुने गरेको छ ।

भारतमा ९ बजे नै कार्यालय समय शुरु हुने भएकाले ९ः ३० मा सेयर बजार खुला हुने नियम बनाइएको हो । नेपालमा कार्यालय समय १० बजेदेखि हो, यसकारण १०ः ३० मै कारोबार खुला भए पनि नराम्रो नहुने सीईओ साउदको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?