Comments Add Comment

कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी

२८ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको पर्यटन क्षेत्रमा सन् २०२० मा तीन प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ) गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वभर १ देखि ३ प्रतिशतसम्मको गिरावट आउने छ ।

सन् २०१९ मा विश्वभर १ अर्ब ४६ करोड मानिस एक मुलुकबाट अर्को मुलुकमा भ्रमणको उद्देश्यले निस्किएको संगठनको तथ्यांक रहेको छ । यसअनुसार विश्वभर करिव ४ करोड ३८ लाख पर्यटक कम हुने संगठनको अनुमान छ ।

सन् २०२० प्रारम्भ भएदेखि नै चीनमा फैलिएको कोरोना संक्रमणले चिनियाँ पर्यटक घुमघाममा निस्कन पाएका छैनन् । चीन जाने लाखौं पर्यटकसमेत रोकिएका छन् । त्यसले समग्र पर्यटनमा नकारात्मक प्रभाव पर्ने अनुमान संगठनले गरेको छ ।

यसअघि संगठनले जनवरीको पहिलो साता गरेको प्रक्षेपणमा विश्वभर पर्यटक आगमनमा ३ देखि ४ प्रतिशतसम्मको वृद्धि हुने अनुमान गरेको थियो । पर्यटक आगमनमा हुने गिरावटले पर्यटनमा अुने आयसमेत घट्ने छ ।

सन् २०२० मा ३० देखि ५० अर्ब डलर (५० खर्ब रुपैयाँभन्दा माथि)को क्षति हुने प्रक्षेपण संगठनले गरेको छ । संगठनका अनुसार कोरोनाले सबैभन्दा प्रभावित एशिया तथा एसिया प्रशान्त क्षेत्र हुनेछ । नेपालसमेत यही भेगमा पर्छ ।

संगठनका अनुसार एशिया र एसिया प्रशान्त क्षेत्रमा ९ देखि १२ प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । यसअघि जनवरीमा गरेको प्रक्षेपणमा यो भेगमा ५ देखि ६ प्रतिशतसम्मको वृद्धि हुने अनुमान थियो ।

अहिले संसारमा बढी घुमघाममा निस्कने पर्यटकमध्ये एशियाली धेरै छन् । जसमा ठूलो जनसंख्या बोकेका चीन र भारतीय बढी हुन्छन् । कोरोना भाइरसको संक्रमण कम गर्न र यसले पर्यटनमा पारेको प्रभाव न्यूनिकरण गर्न संगठनले विश्व स्वास्थ्य संगठन तथा अन्य एजेन्सीसँग नजिकमा रहेर काम गरिरहेको समेत बताएको छ ।

कोरोनाका कारण हवाइ, जल तथा रेल यातायात प्रभावित हुन, अन्तरराष्ट्रिय व्यापारमा गिरावट आउँदासमेत त्यसले पर्यटन क्षेत्र प्रभावित हुन पुगेको हो ।

नेपालमा के हुन्छ ?

नेपालमा कोरोना प्रभावबारे सरकारले कुनै अध्ययन गरेको छैन । तर, सन् २०२० को पहिलो दुई महिनाको पर्यटकीय तथ्यांक अनुसार करीव २ प्रतिशतको गिरावट देखिएको छ । तर, मार्च महिनामा भने यो संख्या अझै घट्ने निश्चित छ । मार्चमा अन्तर्राष्ट्रिय उडानमा अनेक समस्या शुरु भएका छन् । चीनबाट आउने यात्रु ८० प्रतिशतको गिरावट आइसकेको छ । खाडी मुलुकतर्फको उडानसमेत प्रभावित भएको छ । नेपालमा पर्यटकीय मौसम शुरु भएको छ ।

पर्वतारोहणको सिलसिलामा धेरै पर्यटक चैत–जेठसम्म नेपाल आउने गर्छन् । तर, कोरोना भाइरसका कारण यो सिजन प्रभावित हुने देखिएको छ । सरकारले ८ देशमा अनअराइभल भिसा बन्द गरिसकेको छ । यी मुलुक नेपालमा बढी पर्यटक आउनेमध्ये हुन् ।

युरोप र अमेरिकी मुलुकमा पछिल्ला दिनमा फैलिरहेको कोरोनाका कारण आगामी दिनमा पर्यटन क्षेत्र अझ प्रभावित हुने चिन्ता व्यवसायीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment