Comments Add Comment

आवश्यक परे सरकारले जुनसुकै देशबाट उद्धार गर्नसक्छ : श्रेष्ठ

२८ फागुन, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले आवश्यक परे सरकारले कोरोना (कोभिड १९) भाइरस प्रभावित जुनसुकै देशबाट नेपालीलाई उद्धार गर्न सक्ने बताएका छन् ।

कोरोनाबारे जानकारी दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘उद्धार गर्नैपर्ने छ भने दुबई, युएई वा अन्य देशबाट उद्धार गरेर क्वारेन्टाइनमा राख्छौं ।’

चीनबाहेकका देशबाट समेत संभावित संक्रमित आउन सक्छ भन्ने कुरालाई मध्यनजर गरेर क्वारेन्टाइनको व्यवस्था गरेको श्रेष्ठले बताए । संघमा मात्रै होइन प्रदेश सरकारहरूले आवश्यक व्यवस्था गरिसकेको उनले जानकारी दिए । कार्यक्रममा उनले भने, ‘खराब भन्दा खराब अवस्थासँग जुध्ने तयारी पनि गरिसकेका छौं ।’

चीनको वुहानबाट नेपालीलाई उद्धार गरेको उदारण दिँदै उनले भने, ‘नगरी नहुने अवस्था छ भने अन्य देशबाट पनि लिफ्ट गर्न सरकारले तयारी गरेको छ ।’

सबैभन्दा बढी थ्रेट कोरियाबाट

पछिल्लो आंकडा अनुसार १२१ देशमा कोरोना पुगेको छ । कोरोनाबाट निक्कै प्रभावित देशहरूमा पनि नेपाली कार्यरत छन् ।

ती देशहरू मध्ये दक्षिण कोरियाबाट बढी थ्रेट आएको स्वास्थ्य विभागका महानिर्देशक श्रेष्ठले बताए । उनी भन्छन्, ‘अहिले बढी थ्रेट चाहिँ कोरियाले गरेको छ ।’

दक्षिण कोरिया बढी कोरोना प्रभावित देशको सूचीमा चौथो नम्बरमा छ । अहिलेसम्म त्यहाँ ६१ जनाको ज्यान गएको छ ।

त्यहाँ ७ हजार ७५५ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये २८८ जना निको भइसकेका छन् भने ५४ जना मात्रै गम्भिर विरामी छन् ।

ट्राभल रेकर्ड राख्नुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको विषयमा आएका नचाहिने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले प्रमाणित र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न सुझाव दिए ।

डा. हेमन्त ओझाले सबैलाई आफूले भेटेको व्यक्तिहरूको विवरण संकलन गर्न आग्रह गरे । ‘आफ्नो ट्राभल रेकर्ड स्वास्थ्यकर्मीलाई दिई राख्नु होला’ उनले कार्यक्रममा भने ।

डा. ओझाले कोरोना लागे नलागेको परीक्षण नेपालमै भइरहेको जानकारी दिए । उनले अहिलेसम्म ४४५ जनाको परीक्षण भएको बताए । लसुन, वेसार, अल्कोहल आदिले कोरोना ठीक हुन्छ भनेर निराधार हल्लाको विश्वास नगर्न डा. ओझाको आग्रह छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment