एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण भारतीय अभिनेता सञ्जय दत्त विवादमा परेका छन् । शेखर सुमनको शो शेखर टुनाइटको गान्धी जयन्ती विशेष भागमा बोल्दै दत्तले भारतमा पहिले जस्तो शान्ति महसुस हुन छाडेको बताएका थिए ।
कार्यक्रमका क्रममा उनले आफूलाई पाँच मिनेटका लागि भारतको प्रधानमन्त्री मानेर मुन्नाभाइ शैलीमा व्यङ्ग्यात्मक सम्बोधन समेत गरेका थिए । आफ्नो भाषणमा उनले प्रधानमन्त्री बनेमा विदेश भ्रमण नगरी देशमै बस्ने, भाइचारा बढाउने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गान्धीगिरी सिकाउने बताएका थिए ।
साथै, उनले महात्मा गान्धीको चौथो बाँदरको आवश्यकता औँल्याउँदै गलत कुरा देख्दा सुधार्नुपर्ने धारणा राखेका थिए । उनको यही कुरालाई लिएर सामाजिक सञ्जालमा मान्छेहरूले टिकाटिप्पणी गर्न थालेका छन् ।
कतिपयले उनको उक्त कदमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित व्यङ्ग्य भन्दै आलोचना समेत गरेका छन् । यता कार्यक्रममा बोलेको कुरा विवादित भएपछि दत्तले भने फेसबुकमार्फत स्पष्टीकरण दिइसकेका छन् ।
आफ्नो भनाइलाई अर्कै सन्दर्भमा बुझिएको बताउँदै उनले कसैको भावनामा ठेस पुर्याउने उद्देश्य नरहेको स्पष्ट पारेका छन् । यो सम्बोधन एउटा स्क्रिप्टेड संवाद भएको र यसको मूल मर्म गान्धीगिरीमार्फत प्रेम र सद्भावको सन्देश दिनु रहेको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4