Comments Add Comment

कांग्रेसको अनुशासन आयोगबाट उमाकान्तले किन दिए राजीनामा ?

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले डडेल्धुराका कार्यालय सचिवसहित चार नेतालाई कारबाही गर्ने तयारीसँगै उमाकान्त चौधरीले राजीनामा दिएका छन् ।

तर उनले पार्टी र पार्टी कार्यालयमा राजीनामा बुझाएका छैनन्, गुटका नेता कृष्णप्रसाद सिटौलालाई दिएका छन् ।

भीष्मराज आङदाम्बे नेतृत्वको अनुशासन समितिले नेपालगञ्जका महेन्द्र मल्ल, तनहुँका गोविन्दराज जोशी, कैलालीका पुस्कर ओझा र डडेल्धुराका रामबहादुर विष्टलाई तीन दिनभित्र जवाफ दिनू भन्दै पुनःस्पष्टिकरण सोधेको थियो । उनीहरुबारे निर्णय गर्न भोलि फागुन ३० गते बैठक बोलाइएको छ ।

यद्यपि बुधबार निधन भएका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा भोलि राखिनेछ ।

त्यसैले भोलि कार्यालय बन्द गर्ने र तीन दिनसम्म आधा झण्डा झुकाइने भएकाले शुक्रबार बोलाइएको अनुशासन समितिको बैठक केहीदिन सर्ने एक सदस्यले बताए ।

यी चार नेतालाई कारबाही गर्न भने पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबै सहमत छन् । यसमा दुबैको स्वार्थ मिलेको छ ।

देउवा र पौडेलको स्वार्थ मिल्यो

वरिष्ठ नेता पौडेल र पूर्वसहमहामन्त्रीसमेत रहेका गोविन्दराज जोशीबीच व्यक्तिगत टकराव छ । त्यही विवादका कारण २०७४ को आम चुनावमा जोशीले तनहुँ १ मा पौडेलविरुद्ध प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिए ।

यस क्षेत्रबाट पौडेललाई ५ हजार बढी मतान्तरले हराउँदै नेकपाका किसान श्रेष्ठ विजयी भए । जोशीकै कारण आफू पराजित भएको भन्दै पौडेल उनलाई कारबाही गराउने पक्षमा छन् ।

यस्तै पार्टी सभापति देउवा कैलालीका पुष्करनाथ ओझा र डडेलधुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गर्न चाहन्छन् । त्यसमा पनि बढी जोड देउवा पत्नी आरजुको हो ।

२०७४ को चुनावमा उनी कैलाली ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । तर नेकपाका नारदमुनी रानासँग पराजित भइन् । ओझा समूहले खुलेर असहयोग गरेका कारण आफूले हार व्यहोर्नु परेको उनको दाबी छ ।

यस्तै डडेलधुुरामा देउवा र कर्ण मल्ल समूहबीच लामो समयदेखि विवाद छ । देउवाले कुनै समय आफू निकट मानिएका मल्ललाई रोक्न निकै प्रयास गरे पनि मल्ल जिल्ला सभापति बनेका थिए । अहिले प्रदेशसभा सदस्य निर्वाचित भए । त्यसपछि देउवा पत्नी राणाले जिल्ला कार्यसमितिलाई वेवास्ता गर्दै कार्यक्रम गर्दै आएकी छिन् ।

महिला संघलाई लिएर पनि विवाद भयो, त्यसमा कृष्णप्रसाद सिटौला समूह पनि थपियो ।

देउवा र राणा त अनुशासन समितिमार्फत कर्ण मल्लमाथि नै कारबाही गर्न चाहन्थे । समितिले पहिलो पटक उनलाई पनि स्पष्टीकरण सोधेको थियो । तर कारबाही गर्न सक्ने अवस्था नभएपछि महिला नेताहरुमाथि हातपात गरेको आरोपमा कार्यालय सचिव विष्टलाई कारबाही गर्न खोजिएको छ ।

देउवा–राणाले आफ्नो समूहका नेताहरुको मनोबल बढाउने र विपक्षीलाई तर्साउने रणनीतिअनुसार मल्ल र विष्टलाई कारबाही गर्न लागेका मल्ल पक्षका नेताहरु बताउँछन् ।

अनि उमाकान्तले दिए राजीनामा

पार्टीमा देउवा र पौडेल दुई ध्रुवमा छन् । तर अनुशासन समितिमार्फत गर्न खोजिएको कारबाहीमा दुबैको स्वार्थ मिल्यो । त्यसैले पहिलो स्पष्टीकरणको जवाफ आउनासाथ कारबाही गर्न खोजिएको थियो ।

तर समितिमा सिटौला समूहबाट गएका उमाकान्त चौधरीले असहमति जनाए । उनले पहिलो पत्रका आधारमा कारबाही गर्न नहुने भन्दै पुनः जवाफ माग्नुपर्ने धारणा राखे ।

अनुशासन समितिले सहमतिका आधारमा मात्र निर्णय गर्न सक्ने भएकाले अरु सदस्यसामू उनको माग सुनुवाई गर्ने वा कारबाही नै नगर्ने विकल्प मात्र रह्यो । त्यसैले जम्मा तीन दिनको समय दिएर चार नेतासँग पुनः स्पष्टीकरण माग्ने निर्णय भयो ।

स्पष्टीकरण सोधिएका नेताहरुले जवाफ पनि पठाइसकेका छन् । अब निर्णय गर्ने बेला आएको छ ।

त्यही बेला पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलको दबावमा परेका उमाकान्तले राजीनामाको बाटो रोजेका छन् ।

‘सिटौला समूहबाट त उहाँलाई समितिमा गएर आफ्नो मत राख्नुस्, निर्णयमा नोट अफ डिसेन्ट लेख्नुस् भनिएको हो’ एक नेता भन्छन्, ‘तर उहाँले आँट गर्नु भएन । मलाई तपाईले नै पठाउनु भएको हो भन्दै सिटौलालाई राजीनामा पत्र बुझाउनु भयो भन्ने सुनेको छु ।’

यद्यपि अनुशासन समितिका सदस्यहरु भने चौधरीको राजीनामाबारे अनविज्ञता प्रकट गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment