Comments Add Comment

डेनमार्कमा कोरोना : जमघटमा प्रतिबन्ध, शैक्षिक संस्था बन्द

२९ फागुन, काठमाडौं । युरोपमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको बेला डेनमार्कले मानिसहरुको जमघट र शैक्षिक संस्था सञ्चालनमा रोक लगाएको छ ।

यस्तो प्रतिबन्ध लगाउने डेनमार्क दोस्रो युरोपेली मुलुक हो । यसअघि इटलीले यस्तै प्रतिबन्ध लगाइसकेको छ ।

डेनमार्कको प्रधानमन्त्री मेट्टे फेडेरिक्सनले सबै विश्वविद्यालय, कलेज, स्कुल र शिशु स्याहार केन्द्रहरु दुई साताका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिएकी छन् ।

मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन भनिएको छ । सार्वजनिक सभा, सम्मेलन गर्न रोक लगाइएको छ । घरभित्रै एक सय जनाभन्दा बढी मानिसहरु सहभागी हुने कार्यक्रम गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

कम संवेदनशील सार्वजनिक सेवाका कर्मचारीहरुलाई घर फिर्ता गर्ने र निजी क्षेत्रका कर्मचारीहरुलाई घरमै बसेर काम गर्न प्रोत्साहित गरिने प्रधानमन्त्री फेडेरिक्सनको भनाइ छ ।

डेनमार्कमा बुधबारमात्रै चार सय ४२ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका थिए ।

युरोपमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजारभन्दा बढी पुगिसकेको छ । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक इटली हो । इटलीमा मात्रै ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार १ सय ४९ जना संक्रमित छन् ।

एक तथ्यांकअनुसार युरोपभर कोरोना भाइरसको संक्रमणबाट ९५१ जनाको मृत्यु भइसकेको छ भने २३ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उपायस्वरुप अमेरिकाले बेलायतबाहेकका सबै युरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यस्तो प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागु हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment