Comments Add Comment

गोकुलका छिमेकी भन्छन्– भूकम्पले जसरी हल्लायो

२८ फागुन, काठमाडौं । भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा शक्तिशाली बम विष्फोट भएको छ । बम विष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएको छ ।

बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि बमले क्षति पुगेको छ । बमले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ । सिसा पनि बमले फुटेको छ । साथै घरको प्लास्टर गरेको पिल्लर चर्किएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान पनि क्षतिग्रस्त भएको छ ।

घिमिरेले भने, ‘म छोराछोरीहरुसहित घरमै थिएँ । खाना बनाइरहेको बेला ठूलो आवाजसहित भुइँचालो आएको जस्तो भयो । पछि हेर्दा जताततै चर्किएको, भत्किएको थियो ।’

बास्कोटाका छिमेकी कपिलदेव घिमिरे ।

बम विष्फोटका कारण बास्कोटाको घर वरिपरिका बासिन्दा त्रसित देखिन्छन् ।

प्रेसर कुकर बम विष्फोट गराइएको प्रहरीले अनुमान गरेको छ । थप अनुसन्धानका लागि घटनास्थलमा नेपाली सेनाको पीबीआई टोली पुगेको छ ।


जिल्ला प्रहरी कार्यालय भक्तपुरले बम विष्फोट बास्कोटाकै घरलाई लक्षित गरेर गराइएको जनाएको छ । यद्यपि बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । क्षतिको पूर्णविवरण पनि प्राप्त भएको छैन ।

बम विष्फोटको समयमा पूर्वसञ्चारमन्त्री बास्कोटा सो घरमा थिएनन् । उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् । उनी मन्त्री बनेदेखि नै ओली निवासमा बस्दै आएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा दिएका छन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment