News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योगी र व्यापारीले बजारमा चामलको मूल्य प्रतिबोरा ७५ देखि १ सय २५ रुपैयाँसम्म घटाएको बताएका छन् ।
- ढुवानी सहज भएपछि जिरा मसिनो, सोना मन्सुली र रन्जित मन्सुली चामलको नयाँ मूल्य सूची सार्वजनिक गरिएको छ ।
- वाणिज्य विभागले चिनी, खाने तेल र दालमा पनि मूल्य घटाउने प्रतिबद्धता आएको बताएको छ ।
४ असोज, काठमाडौं । उद्योगी तथा व्यापारीले चामलको मूल्य घटाएको बताएका छन् ।
तीन महिनादेखि लगातार उकालो लागिरहेको र भान्साको बजेट असहज बनाइरहेको चामलको मूल्य घटाएको उनीहरूले बताएका हुन् ।
शुक्रबार उद्योगी, व्यापारी र सरकारी नियमनकारी निकायबीच भएको सघन छलफलपछि बजारमा चामलको मूल्य प्रतिबोरा ७५ देखि १ सय २५ रुपैयाँसम्म घटाइएको उद्योगीले बताएका छन् ।
बजारमा मुख्य उपभोग्य वस्तु चामलसँगै खाने तेल, दाल र चिनीको मूल्यले उपभोक्तालाई निकै पिरोलेको थियो । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको आग्रहपछि यी दैनिक उपभोग्य वस्तुको मूल्य घटाउने प्रतिबद्धता जनाइएको नेपाल चामल, तेल, दाल उद्योग संघले बताएको छ ।
असार महिनादेखि नै नेपाली बजारमा चामलको मूल्य बिस्तारै महँगिन सुरु गरेको थियो । सुरुवातमा उद्योगी तथा व्यापारीले भारतमै धानको मूल्य बढेकाले नेपालमा पनि चामलको मूल्य बढाउनुपर्ने बाध्यता आइलागेको बताएका थिए ।
भारतीय बजारमा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सयदेखि ३ हजार ५ सय भारुसम्म पुगेको र भारत सरकारले चामल निर्यातमा विभिन्न नीतिगत कडाइ गरेका कारण नेपालमा त्यसको प्रत्यक्ष असर परेको थियो ।
तर, मूल्यवृद्धिको यो ग्राफलाई प्राकृतिक विपत्तिले झनै दबाब सिर्जना गरिदियो । १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले यातायात र ढुवानी प्रणाली नराम्ररी प्रभावित बनायो । १४ भदौमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिरमा सडक नै भासिएपछि राजधानी काठमाडौं भित्रिने मुख्य ढुवानी मार्ग अवरुद्ध हुन पुग्यो ।
यही बाटोको अवरोध र ढुवानी भाडा महँगो परेको कारण देखाउँदै उद्योगी तथा व्यापारीले फेरि एक पटक चामलको मूल्यमा भारी वृद्धि गरेका थिए । असारदेखि भदौ अन्तिमसम्म ३ महिना अवधिमा मात्रै उद्योगदेखि खुद्रा बजारसम्म आइपुग्दा २५ किलो बोराको चामलमा ४ सयदेखि ५ सय रुपैयाँसम्मको अस्वाभाविक मूल्यवृद्धि भयो ।

यसअघि बजारमा २ हजारदेखि २ हजार ३ सय रुपैयाँसम्म पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य बढेर करिब २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुग्यो । सोना मन्सुली (मोटा) चामलको मूल्य प्रतिबोरा १ हजार ३ सय ५० बाट बढेर १ हजार ७ सय ५० रुपैयाँसम्म पुग्यो ।
छोटो अवधिमै भएको यस्तो अचाक्ली मूल्यवृद्धिले सर्वसाधारण उपभोक्ताको चुल्हो बल्नै मुस्किल पर्ने अवस्था सिर्जना भएको छ ।
ढुवानी सहज भएसँगै मूल्य घटाउन उद्योगी तयार
१८ दिन अवरुद्ध कृष्णभिरको बाटो मर्मत र वैकल्पिक मार्ग सञ्चालनमा आएसँगै ढुवानीमा लाग्ने खर्चमा भारी कटौती भएको उद्योगी तथा व्यापारीको भनाइ छ । यातायात सहज भएसँगै उद्योगीले अब बजारमा चामलको मूल्य घटाउने बताएका हुन् ।
‘कृष्णभिरको बाटो बन्द हुँदा ढुवानी भाडा प्रतिकिलो चामलमै साढे ७ रुपैयाँसम्म पुगेको थियो,’ संघका कार्यालय सचिव अजय पराजुलीले भने, ‘अहिले बाटो खुलेपछि त्यो घटेर ४ रुपैयाँमा झरेको छ, यसको अर्थ २५ किलोको बोरामा ढुवानी भाडा मात्रै करिब ७५ रुपैयाँले घटेको छ, ढुवानी भाडा घटेपछि हामीले सोही अनुपातमा चामलको मूल्य घटाउने निर्णय गरेका छौं ।’
उनका अनुसार अब बजारमा अधिकांश ब्रान्डका चामलको मूल्य प्रतिबोरा ७५ देखि १ सय २५ रुपैयाँसम्मले घटिसकेको छ । उनले उपलब्ध गराएको नयाँ समायोजित मूल्यसूची अनुसार २ हजार ५ सय ७५ रुपैयाँ पर्ने जिरा मसिनो चामल अब २ हजार४ सय ७५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।
यस्तै १ हजार ७ सय २५ पर्ने सोना मन्सुली (मोटा चामल) अब १ हजार ६ सय २५ रुपैयाँमा उपलब्ध हुने उनले बताए । प्रतिबोरा २ हजार २५ रुपैयाँ पर्ने रन्जित मन्सुली चामल १ हजार ९ सय २५ रुपैयाँ र २ हजार ३ सय पर्ने सस्तो जिरा मसिनो चामल २ हजार २ सय रुपैयाँमा उपभोक्ताले किन्न पाउने उनको भनाइ छ ।
‘अबको एकदेखि डेढ महिनाभित्र नयाँ धानको सिजन पनि सुरु हुँदैछ, नयाँ सिजनको धान बजार आएपछि चामलको मूल्य प्रतिबोरा थप २० देखि २५ रुपैयाँसम्म घट्ने छ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘यसले उपभोक्तालाई ठूलो राहत मिल्ने छ, हामी पनि उपभोक्तालाई सस्तो मूल्यमा चामल खुवाउन चाहन्छौं, तर यसका लागि सरकारले भारतबाट धान ल्याउँदा लाग्ने ५ प्रतिशत कृषि सुधार शुल्क हटाउनुपर्छ र बिजुली तथा ढुवानीमा लाग्ने भ्याट खारेज गर्नुपर्छ ।’
बजारमा चामल लगायत वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार हस्तक्षेप र अनुगमनलाई तीव्रता दिएको बताउँदै आइरहेको छ ।
विभागका महानिर्देशक र निर्देशकहरूको टोलीले नेपाल चामल, तेल, दाल उद्योग संघ र खुद्रा व्यापार संघका पदाधिकारीहरूलाई बोलाएर निरन्तर छलफल गरिरहेको र उपभोक्तालाई राहत दिन सकेसम्म मूल्य नबढाउन भनिएको बताएको छ ।

विभागका निर्देशक तारानाथ लुइँटेलले पछिल्लो समय गरिएको विश्लेषणले अन्य वस्तुको तुलनामा चामलको मूल्य बढेको पाइएको बताए ।
लुइँटेलका अनुसार मन्त्रालय र विभागको निरन्तरको प्रयासपछि उद्योगी र व्यापारीहरू मूल्य घटाउन सहमत भएका छन् ।
‘बाटोको समस्या र ढुवानी भाडालाई कारण देखाएर जुन मूल्य बढाइएको थियो, अब त्यो समस्या समाधान भइसकेको छ,’ उनले भने, ‘हामीले सबै उद्योगी र व्यापारीलाई राखेर अब मूल्य घटाउनुहोस् भनेर भन्यौं, उहाँहरूले घोषित रूपमै १० देखि १५ प्रतिशतसम्म मूल्य घटाउने प्रतिबद्धता जनाउनुभएको छ ।’
चामलसँगै उपभोक्तालाई सबैभन्दा बढी तनाव दिएको अर्को वस्तु हो– चिनी । चाडपर्वमा अत्यधिक खपत हुने चिनीको मूल्य बजारमा अस्वाभाविक बढेर प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पुगेको थियो । यो समस्या समाधान गर्न सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) र खाद्य व्यवस्था तथा व्यापार कम्पनी (एफएमटीसी) मार्फत सहुलियतको चिनी बजार पठाएको बताएको छ ।
वाणिज्य विभागका निर्देशक लुइँटेलका अनुसार सरकारले यी दुई निकायलाई ८५ रुपैयाँ प्रतिकिलोका दरले चिनी उपलब्ध गराएको छ ।
‘साल्ट ट्रेडिङ र खाद्य कम्पनीको सीमित आउटलेटबाट मात्रै उपभोक्ताको भिड व्यवस्थापन गर्न नसकिने भएपछि हामीले नयाँ मोडेल अपनाएका छौं,’ लुइँटेलले भने, ‘अहिले काठमाडौं उपत्यकाका करिब १ हजार वटा साना तथा खुद्रा किराना पसल पहिचान गरेर उनीहरू मार्फत चिनी बेच्ने व्यवस्था मिलाइएको छ ।’
त्यसैगरी बिग मार्ट, सेल्सबेरी जस्ता ठूला सुपरमार्केटहरूसँग पनि सम्झौता भएको उनको भनाइ छ । उनीहरूले सरकारी निकायबाट चिनी लगेर उपभोक्तालाई अधिकतम १ सय १० रुपैयाँ प्रतिकिलोभन्दा बढी नलिने गरी बेच्ने प्रतिबद्धता जनाएको उनले बताए ।
खाने तेल र दालमा पनि मूल्य घट्ने अपेक्षा
चामल, चिनीमात्र नभई खाने तेल र दालको मूल्यले पनि उपभोक्तालाई मारमा पारेको छ । यद्यपि, चामलको जस्तो अस्वाभाविक र उच्च दरमा दाल र तेलको मूल्य भने नबढेको विभागको दाबी छ । तर, खाने तेल र दाल उद्योगीहरूले पनि ढुवानीको समस्या समाधान भएको र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य केही स्थिर रहेकाले चाडपर्व लक्षित छुटसहित मूल्य घटाउने प्रतिबद्धता सरकासमक्ष जनाएको विभागले बताएको छ ।
खुद्रा व्यापारीसम्म सस्तो चामल आइपुग्न एक साता लाग्ने
उद्योगीले चामलको मूल्य घटाएको बताए पनि खुद्रा बजारमा भने त्यसको प्रभाव अहिले नै देखिएको छैन । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्यले उद्योग मन्त्रालयमा मन्त्रीसहित उपस्थितिमा भएको छलफलमा उद्योगीले मूल्य घटाउने भने पनि उपभोक्ताले तत्कालै सस्तोमा चामल पाउन नसक्ने बताए ।
बजारमा पुरानै स्टक (महँगो मूल्यको) चामल रहेकाले नयाँ मूल्य लागु हुन केही समय लाग्ने उनले बताए ।
‘सबैतिर पुरानै स्टक हुन्छ, उद्योगबाट होलसेल (थोक) मा आउँछ र होलसेलले मात्रै हामीलाई दिने हो,’ अध्यक्ष बज्राचार्यले भने, ‘त्यसैले घटेरै आए पनि त्यसको प्रभाव बजारमा देखिन कम्तीमा एक हप्ता लाग्छ, अहिले तत्कालै मूल्य घटेको जानकारी हामीलाई आइसकेको छैन ।’
उद्योगीहरूले चामलको मूल्य प्रतिबोरा १ सय २५ रुपैयाँसम्म घटाएको बताइरहँदा अध्यक्ष बज्राचार्यले भने उद्योगीहरूले स्पष्ट रूपमा ‘यति नै घटाउँछौं’ भनेर ठोस प्रतिबद्धता नजनाएको दाबी गरे ।
यद्यपि, चाडपर्व (दसैं, तिहार र छठ) अवधिसम्म अब चामलको भाउ थप नबढ्ने कुरामा भने उद्योगीहरू सहमत भएको उनले जानकारी दिए ।
सोही छलफलमा खुद्रा व्यापार संघले चिनीमा नाफा नराखी सस्तोमा बेच्ने निर्णय गरेको जानकारी गराउँदै उद्योगीलाई पनि चामलमा उपभोक्तालाई राहत दिन आग्रह गरिएको उनले बताए ।
‘हाम्रो खुद्रा व्यापार संघले मार्जिन (नाफा) नराखी चिनी सस्तोमा बेच्ने भनेर निर्णय गरेका छौं, त्यसअनुसार तपाईंहरू (उद्योगी) ले पनि नाफा नखाइ वा कमसेकम अलिकति राहत दिनुस् भनेर मैले भनेको थिएँ,’ बज्राचार्यले भने, ‘मन्त्रीज्यूले पनि त्यही कुरा भन्नुभयो, त्यसपछि उहाँहरूले चामलमा सय रुपैयाँ जति घटाउने कुरा गर्नुभएको हो ।’
प्रतिक्रिया 4